पोखरामा ४ अर्ब नयाँ नोट साटियो «

पोखरामा ४ अर्ब नयाँ नोट साटियो

पोखरा-नेपालीहरूको महान पर्व विजया दशमी र शुभदिपावलीका अवसरमा पोखरामा हालसम्म ४ अर्ब रूपैयाँभन्दा बढीका नयाँ नोट साटिएको छ । पोखराबाट हालसम्म ४ अर्बभन्दा बढी बैंक तथा वित्तीय संस्था एवं आम नागरिकलाई नयाँ नोट साटिएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक पोमनाथ गौतमले बताए ।
पोखराबाट आमनागरिकलाई २० करोड रूपैयाँभन्दा बढी नयाँ नोट साटेको निर्देशक गौतमले बताए । उनका अनुसार बैंक तथा वित्तीय संस्थालाई हालसम्म २ अर्ब १३ करोड र नोटकोषमा रहेका बाणिज्य बैंकका शाखालाई १ अर्ब ६५ करोड रूपैयाँ नयाँ नोट साटिएको छ । गण्डकी प्रदेशमा करिब एक हजार बढी बैंक तथा वित्तीय संस्था छन् ।
दैनिक नयाँ नोट लिन आउनेको संख्या बढ्दै आएको निर्देशक गौतमले बताए । अधिकांश उपभोक्ताले यस वर्ष भने २० र १०० रूपैयाँको नोट बढी साट्न खोजेको पाइन्छ । यद्यपी यस वर्ष नेपाल राष्ट्र बैंकले गत वर्षको भन्दा धेरै रकम दिने व्यवस्था गरेको छ । बैंकले यस वर्ष २७ हजारसम्म अर्थात एक सयको एक बन्डल बाहेक ५, १०, २०, ५० का दुइ-दुई बन्डल दिने गरेको छ । गत वर्ष ८ हजार ५ सय अर्थात ५, १०, २०, ५० र १ सयको एक-एक बन्डल दिने गरेको थियो ।
नयाँ नोट साट्न हाल दैनिकजसो ५-६ सय नागरिक राष्ट्र बैंकमा पुग्ने गरेका छन् । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ-सुकिलो नोट साट्ने भएपछि पोखरा र पोखरा आसपासका उपभोक्ता विहानैदेखि बैंक परिसरमा पुग्ने गरेका छन् । राष्ट्र बैंकले हाल दुई वटा काउण्टरबाट नयाँ नोट साट्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्