जनता आवास कार्यक्रमका दुई सय ५२ घर निर्माण «

जनता आवास कार्यक्रमका दुई सय ५२ घर निर्माण

दाङ-साविक राप्तीका चार जिल्लामा गरी दुई वर्षको अवधिमा प्रदेश सरकारबाट जनता आवास कार्यक्रमअन्र्तगत दुई सय ५२ वटा घर निर्माण भएका छन् ।
५ सय ३५ घर निर्माणधीन अवस्थामा रहेका छन् । आर्थिक वर्ष ०७५-७६ मा जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नं. ५ सरकारको भौतिक पूर्वाधार मन्त्रालयले राप्तीका दाङ, प्युठान, रोल्पा र पूर्वीरुकुम जिल्लामा विपन्न परिवारका लागि दुई सय ५२ वटा घर निर्माण गरेको सहरी विकास तथा भवन निर्माण कार्यालय दाङका प्रमुख आनन्दकुमार देवले जानकारी दिएका छन् ।
कार्यालय प्रमुख देवका अनुसार जसअन्तर्गत दाङमा १ सय ९२ वटा, प्यूठानमा ३५, रोल्पामा २१ वटा र पूर्वीरुकुममा ५ वटा घर निर्माणको काम सकिएको छ । “कार्यालय स्थापना भएपछि सुरुको वर्ष नयाँ २ सय ५३ घर र संघीय सरकारअन्तर्गत क्रमागत कार्यक्रमका १० घरमध्ये २ सय ५२ घर निर्माण भएका हुन्,” कार्यालय प्रमुख देवले भने, “जसमा सबै भन्दा धेरै घर दाङमा निर्माण भएका छन् ।” बाँकी घर निर्माणका क्रममा रहेको समेत उनले बताए ।
कार्यालय प्रमुख देवका अनुसार आर्थिक वर्ष ०७६-७७ मा छनोट भएका ५ सय ३५ घर निर्माणाधीन अवस्थामा रहेको समेत बताए । “गत वर्ष छनोट भएका घर यस वर्ष निर्माणको काम भइरहेका छन्, लकडाउन लगायतका कारण सयममा घर निर्माण गर्न सकिएको छैन,” उनले भने, “गत वर्ष छनोट भएका घर निर्माण भए भने दाङमा ७ सय ८७ वटा घर निर्माण हुनेछन् ।” यी घरहरू अधिकांस निर्माण सम्पन्न हुने अवस्थामा रहेको समेत बताए । जसअन्तर्गत दाङमा २ सय ६७ घर, रोल्पामा १ सय १२ घर, प्युठानमा १ सय १० घर र पूर्वीरुकुममा ४६ वटा घर निर्माण हुँदै गरेको समेत उनले बताए ।
“अधिकांस घर निर्माण सम्पन्न हुने अवस्थामा रहेका छन्,” कार्यालय प्रमुख देवले भने, “गएको वर्ष सकिने काम भए पनि लकडाउन लगायतका कारणले समयमै सम्पन्न हुनसकेका छैनन् ।” अब यी घरहरू छिट्टै सम्पन्न हुने समेत उनले बताए । उनका अनुसार आर्थिक वर्ष ०७७-७८ मा जनता आवास कार्यक्रमअन्तर्गत चार जिल्लामा गरिब परिवारका लागि घर निर्माणका लागि ६५ घर छनोट भएका छन् । उनका अनुसार आर्थिक अभावसँगै क्रमागत कार्यक्रमअन्तर्गत धेरै घर निर्माणकै चरणमा रहेकाले आगामी वर्ष जिल्लामा ६५ वटामात्र घर छनोट भएका हुन् ।
विपन्न परिवारलाई आवासीय सुविधा पु-याउने उद्देश्यले सरकारले गरिब परिवारको घर निर्माणको काम गर्दै आएको छ । जसअन्तर्गत आफ्नो जग्गा भएका तर आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका दलित, विपन्न मुस्लिम, सीमान्तकृत, अल्पसंख्यक लगायतका समुदायका लागि घर निर्माण गर्दै आएको सहरी विकास तथा भवन निर्माण कार्यालय दाङका प्रमुख देवले बताए । “जनता आवास कार्यक्रमअन्तर्गत दलित, विपन्न मुस्लिम, सीमान्तकृत, अल्पसंख्यक लगायतका जातिका घर बनाई दिने गरेका छौं,” उनले भने, “जसअन्तर्गत हामीले आफ्नो क्षेत्रमा दलितलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौ ।” घर निर्माणका लागि कार्यालयले प्रत्येक परिवारलाई चार किस्तामा तीन लाख ३६ हजार रुपैयाँ दिने गरेको छ । आर्थिक वर्ष ०७६-७७ सम्म प्रतिघर ३ लाख ३२ हजार ५ सय रुपैयाँ दिने गरे पनि आर्थिक वर्ष ०७७-७८ बाट प्रत्येक परिवारलाई तीन लाख ३६ हजार रुपैयाँ दिने गरेको उनले बताए । घर निर्माणमा सम्बन्धित परिवारलाई अपनत्व महसुस गराउने गरी घर निर्माणमा श्रमदान गर्न लगाउने गरेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्