नेपालमा कृषि बिमाको विस्तार

देशको ६५ प्रतिशत जनसंख्या निर्भर रहेको कृषिक्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा करिब ३२ प्रतिशत (आर्थिक सर्वेक्षण, ०७२-७३) रहेको छ । त्यसैगरी मुलुकको निर्यात व्यापारको करिब आधा हिस्सा कृषिमा आधारित वस्तुले ओगटेको छ । त्यसैले कृषिक्षेत्रको विकासबिना राष्ट्रको दिगो विकासको परिकल्पना मात्र पनि अपूर्ण र अव्यावहारिक छ । तथ्यांकको विश्लेषण गर्ने हो भने देशको करिब दुईतिहाइ जनसंख्या संलग्न रहेको क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान करिब एकतिहाइ हुनु भनेको कृषिक्षेत्रमा लगानी भएको श्रम र अन्य स्रोतको तुलनामा प्रतिफल (उत्पादकत्व) कम हुनु हो । यसरी लगानी र प्रतिफलको असन्तुलनले यस क्षेत्रको अपर्याप्त प्रभावकारितालाई संकेत गर्छ । कृषिक्षेत्रमा व्याप्त समस्या र चुनौतीका कारणले नै यस क्षेत्रको प्रभावकारिता सन्तोषजनक हुन नसकेको हो । सर्वविदितै छ, नेपाली कृषि मनसुनमा आधारित र निर्वाहमुखी छ । यसरी मनसुनमा आधारित हुनु तथा कृषि प्राविधिक दक्षताको अभावजस्ता कारणले नै यस क्षेत्रको जोखिम बढाएको छ । सोही जोखिम अर्थात् अनिश्चित प्रतिफलकै कारणले यो पेसाप्रति जनमानसको आकर्षण निरन्तर घट्दो क्रममा रहेको छ ।
कृषि बिमाको अपरिहार्यता
कृषि व्यवसाय जोखिमरहित छैन । मनसुनमा आधारित र निर्वाहमुखी नेपाली कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणको विकास गर्न यस क्षेत्रमा व्याप्त जोखिमलाई व्यवस्थापन गर्नु अपरिहार्य छ । बिमा जोखिम व्यवस्थापनको आधुनिक तथा वैज्ञानिक विधि हो । बिमा नभएको अवस्थामा कृषकलाई हानिनोक्सानी भएमा कृषकको आर्थिक स्तर खस्केर ऋणमा डुब्ने परिस्थितिसमेत हुन सक्छ । यसरी काबुबाहिरको विषम परिस्थितिमा सरकारले पनि सहयोग गर्नुपर्ने हुन्छ; तसर्थ बिमा नभएको अवस्थामा कृषकको आर्थिक स्थितिको ह्राससँगै राष्ट्रलाई व्ययभारसमेत थपिन्छ । बिमा भएको खण्डमा बिमाले दिने आर्थिक सुरक्षणले हानि–नोक्सानी भएमा आर्थिक स्थिति खस्कन नदिने गरी सुनिश्चितता गरेको हुन्छ । यसरी कृषिक्षेत्रमा भएको अनिश्चितता कम हुन गई लगानी गर्ने वातावरण सिर्जना हुन्छ । साथै, क्षति कम गराउने खालका प्रविधि र सीप बिमाको माध्यमबाट कृषकसम्म स्थानान्तरण गर्न मद्दत पुग्छ । यसले कृषिक्षेत्रकै उत्पादकत्व वृद्वि गर्छ र सँगसगै राष्ट्रको अर्थतन्त्र सबलीकरण हुँदै जान्छ; तसर्थ विभिन्न कारणबाट हुने आर्थिक क्षतिले कुनै कृषकको विचलन नहोस्, देशको अर्थतन्त्रमा व्ययभार नथपियोस् तथा कृषिक्षेत्रको समग्र विकास होस् भन्ने हो भने कृषि बिमा अपरिहार्य छ ।
कृषि बिमाको वर्तमान अवस्था
प्रतिकूल मौसम तथा रोगको कारणबाट हुने हानि–नोक्सानीबाट प्रतिकूल परिस्थितिबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गरी कृषकहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सहयोग गर्ने, कृषिको व्यवसायीकरणका लागि जोखिम न्यूनीकरण गरी कृषकले माछा, पशुपन्छी तथा अन्य कृषिउपजमा गरेको लगानीलाई सुरक्षित गर्न सहयोग गर्ने, कृषिक्षेत्रमा निजी तथा सहकारी क्षेत्रको लगानी सुरक्षित गर्न सहयोग गर्ने जस्ता उद्देश्य राखी बाली तथा पशुपन्छी निर्देशन, २०६९ जारी भएको हो । हाल यस निर्देशिकाअन्तर्गत बिमा समितिबाट बिमा समितिबाट तयार गरी पशु, पन्छी, तरकारी, फलफूल, मौरी, अलैंची, चैते धानजस्ता बिमालेखहरू जारी भएका छन् । सुरुको अवस्थामा बालीतर्फ लागत मूल्यमा आधारित बिमालेख जारी भएकोमा हाल उत्पादनमा आधारित केही बिमालेख जारी भएका छन् ।
कृषि बिमा अवधारणाको सुरुवात भएको पहिलो आव ०७०-७१ मा रु. ६२ करोड ५४ लाख बिमाङ्कबराबरको बिमा भएको थियो । आव ०७१-७२ मा पहिलो वर्षको तुलनामा बिमाङ्क ४ सय ९ प्रतिशत वृद्धि भई रु. ३ अर्ब १८ करोड ६ लाख बिमाङ्कबराबरको बिमा भएको देखिन्छ । त्यसैगरी आव ०७२-७३ मा अघिल्लो वर्षको तुलनामा बिमाङ्क ८९ प्रतिशत वृद्धि भई रु. ६ अर्ब ३ करोड ८४ लाख बिमाङ्कबराबरको बिमा भएको देखिन्छ । साथै, आव ०७३-७४ मा अघिल्लो वर्षको तुलनामा बिमाङ्क ५२ प्रतिशत वृद्धि भई रु. ९ अर्ब २० करोड ९२ लाख बिमाङ्कबराबरको बिमा भएको देखिन्छ ।
करिब ४४ वर्ष कृषि बिमाको अनुभव भएको छिमेकी राष्ट्र भारतमा हाल कृषियोग्य जमिनको २५ प्रतिशतभन्दा कम तथा संख्याका आधारमा करिब २८ प्रतिशत कृषकले बिमा गराएका छन् । यसै तथ्याङ्कको तुलनात्मक अध्ययन गर्ने हो भने नेपाली बिमा बजारमा कृषि बिमाको इतिहास धेरै लामो नभए पनि छोटो समयमै यस क्षेत्रमा निकै आशालाग्दो वृद्धि भएको देखिन्छ ।
संकलित बिमाशुल्क तथा दाबी
बिमा दाबीतर्फ कृषि बिमा अवधारणा सुरु भएको पहिलो वर्ष आव ०७०-७१ मा ३ करोड १ लाख बिमा शुल्क संकलित भएकोमा करिब ४३ प्रतिशत अर्थात् १ करोड २९ लाख दाबी भुक्तानी भएको देखिन्छ । आव ०७१-७२ मा १४ करोड २४ लाख बिमाशुल्क संकलित भएकोमा करिब ४३ प्रतिशत अर्थात् ६ करोड १६ लाख दाबी भुक्तानी भएको देखिन्छ । त्यसैगरी आव ०७२-७३ मा २७ करोड ८७ लाख बिमाशुल्क संकलित भएकोमा करिब ५७ प्रतिशत अर्थात् १५ करोड ९५ लाख दाबी भुक्तानी भएको देखिन्छ । साथै, आव ०७३-७४ मा ४२ करोड ३७ लाख बिमाशुल्क संकलित भएकोमा करिब ६० प्रतिशत अर्थात् २५ करोड ५८ लाख दाबी भुक्तानी भएको देखिन्छ ।
तथ्यांकबाट स्पष्ट छ, विश्वव्यापी रूपमै दाबी बढी हुने भएकाले बिमा बजारमा नोक्सानको व्यवसाय भनेर लिइने कृषि बिमालाई हालसम्म नेपाली बजारमा नोक्सानको व्यवसाय भन्नैपर्ने स्थिति आइसकेको छैन ।
विद्यमान चुनौती
चार वर्षको कृषि बिमाको अनुभवलाई केलाउने हो भने यस क्षेत्रको विस्तार बर्सेनि उल्लेखनीय भए पनि यही तथ्याङ्कमा सन्तोष मान्नुपर्ने अवस्था छैन, किनभने केही व्यावसायिक खेती गर्ने कृषकहरू बिमाको रक्षावरणको छातामुनि आए पनि उल्लेखनीय संख्यामा रहेका ससाना परम्परागत र निर्वाहमुखी खेती गर्ने कृषकहरू बिमाको सुरक्षणबाट वञ्चित छन् । अझ पनि यस क्षेत्रको पहिलो र प्रमुख समस्या भनेको कृषि बिमाको अपरिहार्यताबारे जनचेतनाको अभाव नै हो । जनचेतना जगाउने खालका कार्यक्रम नभएका पनि होइनन् । छोटो समयमा कृषि बिमाको क्षेत्रमा उत्प्रेरणा दिने वृद्धि आ–आफ्नो स्तरबाट भएको जनचेतनामूलक कार्यक्रमको उपज पनि हो । तर, हाल भइरहेको जनचेतनामूलक कार्यक्रम पर्याप्त छैन । यस्ता जनचेतनामूलक कार्यक्रमहरू छुट्टाछुट्टै नभई सरोकारवाला निकायहरूको अर्थपूर्ण सहकार्य र सहभागितामा अभियानकै रूपमा गरिनुपर्छ । सरोकारवालाहरूको पहलमा कृषि बिमा जनचेतना वर्ष घोषणा गरी वर्षभरि प्राथमिकताको तालिकामा राखी अभियानका रूपमा जनचेतना कार्यक्रम गर्न सके जनचेतना फैलाउने कार्यक्रम वास्तविक रूपमा नै प्रभावकारी हुने थियो । त्यसै गरी यस क्षेत्रको अर्को समस्या बिमा पहुचंको कमी नै हो । बिमकहरूको कृषकसम्म र कृषकहरूको बिमकसम्मको पहँुच सहज छैन । देशको भौगोलिक असहजता र अन्य विकासका पूर्वाधारको अभावबाट यो क्षेत्र पनि अछुतो छैन । कृषिको पहुचं विस्तारका लागि प्रयासस्वरूप समितिको संयोजकत्वमा बिमकहरूबीच ७३ जिल्लामा बाँडफाँड गरिएको छ । यति हुँदाहुँदै पनि भोगोलिक कठिनाइ र छरिएको बसोबासका कारण पहुँच असहज छ । बिमाको पहुचंलाई सर्वसुलभ पार्ने हो भने बिमाको वितरण प्रणाली परम्परागत नभई नवीनतम र प्रभावकारी हुनुपर्छ । तालिम दिएर बाहिरबाट अभिकर्ता पठाउनुभन्दा स्थानीय क्षेत्रमै बसोबास गर्ने प्रभावकारी व्यक्तित्वहरूको पहिचान गरी उनीहरूसँग सहकार्य गर्न सके वितरण प्रणाली अझ बढी प्रभावकारी हुने थियो । साथै हाल अन्य विकासका पूर्वाधार नपुगेको स्थानमा पनि सूचना प्रविधिको प्रगतिले हातहातमा मोबाइल पुगेको अवस्था छ । बिमा वितरणका लागि यस उपकरणको प्रयोग हुन सके यस क्षेत्रमा रहेको पहुँचको कमीजस्ता समस्या समाधान हुने थिए ।
कृषि बिमा अवधारणाको विकास भएको छोटो समयमै कृषि बिमाको क्षेत्रले उदाहरणीय विस्तार गरेको छ । यसो भन्दै गर्दा यस क्षेत्रमा चुनौती र समस्या नभएका होइनन् । सरोकारवालाहरूसँगको सहकार्यमा प्याकेजमा जनचेतनामूलक कार्यक्रम तथा परम्परागत वितरण प्रणालीको सट्टा नीवनतम प्रभावकारी सर्वसुलभ वितरण प्रणालीको प्रयोग हुन सके यस क्षेत्रमा भएको चुनौती अवसरमा परिणत भई कृषिक्षेत्रको समग्र विकासमा मात्र नभई राष्ट्रको अर्थतन्त्र नै सबलीकरण हुने थियो ।
(लेखक बिमा समितिका उपनिर्देशक हुन् ।)
कुन्दन सापकोटा