भ्रष्टाचार र अनियमितताले विकास हुन सकेन : मुख्यमन्त्री गुरुङ «

भ्रष्टाचार र अनियमितताले विकास हुन सकेन : मुख्यमन्त्री गुरुङ

दमौली-गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार र अनियमितताले नेपालको विकास हुन नसकेको बताएका छन् । जिल्ला समन्वय समिति तनहुँले शुक्रबार बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भ्रष्टाचार र अनियमितता मौलाउँदा नेपालको सोचेजति विकास नभएको बताए ।
संक्रमणकालको समयमा सरकार निरीह भएका कारण नेपालमा भ्रष्टाचारका विरुद्ध सशक्त भएर लाग्न नसकेको बताउँदै दुई वर्षे योजनाहरु बाह्र-तेह्र वर्षसम्म पनि सम्पन्न हुन नसकेको उनको भनाइ छ । “विकासका लागि पर्याप्त बजेट छ तर भ्रष्टाचार धेरै मौलायो । अन्य कुरामा नेपाल पछाडि भएपनि भ्रष्टाचारमा नेपाल अगाडि छ,” उनले भने । मुख्यमन्त्री गुरुङले विकास नहुनुको कारणमध्ये विनियोजित बजेटको सही सदुपयोग नहुनु पनि रहेको बताए । “विकास निर्माणमा अनियमितता छ । अनि कहाँबाट हुन्छ विकास ?” उनले भने । उनले स्थानीय तहले उत्पादनमुखी र सेवामुखी बजेट बनाउनुपर्नेमा जोड दिँदै जनताको जीवनस्तर उकास्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । “खाली बजेट सडक खन्नका लागि मात्रै विनियोजन गर्ने होइन । पिछडिएका जनताको आर्थिक स्तर उकास्ने कार्यक्रममा समेत बजेट खर्च गर्नुपर्छ,” उनले भने । मुख्यमन्त्री गुरुङले विकास निर्माणमा छुट्टिएको बजेटको सही सदुपयोग भए÷नभएको अनुगमन गर्नका लागि जिल्ला समन्वय समितिलाई आग्रह समेत गरे ।
प्रदेश र स्थानीय तहलाई संघीय सरकारले अधिकार कम दिएको गुनासो गर्दै उनले आफूले प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनेर आवाज उठाइरहेको बताए । “बेला–बेलामा प्रधानमन्त्रीलाई यस विषयमा भन्ने गरेको छु, तर कतिपयलाई आफ्नै पार्टीका प्रधानमन्त्रीसँग किन झगडा गरेको भन्ने लागिरहेको छ । त्यो झगडा होइन, अधिकार मागेको हो,” उनले भने ।
स्थानीय तहका प्रमुखहरु डोजर मालिक भएको गुनासो आएको बताउँदै उनले त्यसले स्थानीय तहमा अनियमितता हुने सम्भावना रहेको बताए । जनप्रतिनिधिहरु लोभलालचमा फस्न नहुने जोड दिँदै उनले चुनौतीका बीचबाट स्वच्छ भएर जनप्रतिनिधि निस्कनुपर्ने धारणा राखे ।
मुख्यमन्त्री गुरुङले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधामा संविधानले विभेद गरेको आरोप लगाए । उनले स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा अझै पनि नमिलेको भन्दै सेवा सुविधा परिमार्जन गर्ने बताए ।
कार्यक्रममा प्रतिनिधि सभा तनहुँ निर्वाचन क्षेत्र नम्बर २ का सदस्य केदार सिग्देलले स्थानीय तहमा बजेट कम भएको गुनासो गर्नुभन्दा पनि बजेटको सही कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । प्रतिनिधि सभा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का सदस्य कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा राजनीतिक पूर्वाग्रह त्याग्नुपर्ने बताउँदै तनहुँलाई समृद्ध बनाउन सबै राजनीतिक पार्टीबीच सहकार्य र एकता आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले योजनाको सही कार्यान्वयन हुन नसक्दा विकास योजना अधुरा रहने गरेको बताए । प्रदेश सभा सदस्य आशा कोइरालाले विकास निर्माणका योजनाले नै विकासको गति लिन सक्ने बताउँदै स्थानीय, प्रदेश र संघीय सरकारबीच विकासमा समन्वय हुन आवश्यक रहेकोमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्