गुर्जा हिमालको आधार शिविरमा ८ को मृत्यु «

गुर्जा हिमालको आधार शिविरमा ८ को मृत्यु

बेनी-म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जनामध्ये ८ जनाको मृत्यु भएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको शव भेटिएको हो ।
हिमालको आधार शिविरमा पुगेर बास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
उनका अनुसार आधार शिविरमा उनीहरुको शव अप्ठ्यारो ठाउँमा रहेकाले शनिबार साँझसम्म निकाल्न सकिएको छैन । उद्धारको लागि पुगेको हेलिकोप्टरसमेत उद्धारमा कठिनाइ देखिएपछि फर्किएको थियो ।
असोज २१ गते ७ हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणका लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ४ कोरियन र ३ जना नेपाली टोली आधार शिविरमा पुगेका थिए ।
सो टोलीलाई भेट्न २४ गते एक नेपाली र एक कोरियन नागरिक पनि आधार शिविरमा पुगेका थिए । आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्कसमेत विच्छेद भएपछि गुर्जाबाट खोजीको लागि गएका स्थानीयको टोलीले उनीहरु मृत भेटिएको पुष्टि गरेको वडाध्यक्ष छन्त्यालले बताए ।
‘‘पछिल्लो टोली एक दिनमात्रै बसेर फर्कने तालिका थियो, तर उनीहरु नै दुर्घटनामा पर्नुले असोज २४ गते नै घटना घटेको देखिन्छ । त्यो टोली फर्कन ढिला गरेपछि आंशका बढ्यो, किन ढिलाई ग-यो भनेर खोजी गर्दा शव भेटिए,” वडाध्यक्ष छन्त्यालले भने ।
यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बूढामगरले आधार शिविरमा पर्यटकहरुको शव भेटिएको गुर्जाका स्थानीयबाट खबर आएपछि उद्धारको लागि पुगेको हेलिकोप्टर आधार शिविरमा बस्न नसकेर फर्किएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्