कोरोनाको कहर भए पनि नेपालीहरू गुजरा चलाउन पुनः कालापहाड «

कोरोनाको कहर भए पनि नेपालीहरू गुजरा चलाउन पुनः कालापहाड

जुम्ला-तातोपानी गाउँपालिका–२ का हर्केश दमाई नेपालमा कोरोना फैलिनु पहिला भारतबाट नेपाल आए । त्यस लगत्तै नेपालमा पनि कोरोना संक्रमणले भयाभव रूप लियो । भारत तथा तेस्रो मुलुकबाट फर्किएका सयांै युवालाई रोजगारी व्यवस्थापनका खुबै बहस चल्यो । तर, विगत ६ महिनायता नत कुनै काम पाए, यहाँसम्मकी कुनै योजना निर्माणको उपभोक्ता समितिमा समेत बस्न पाएनन् । अन्त्यमा कोरोना कहरकैबीच पनि बाध्य भएर परिवार पाल्नका लागि धन कमाउन कालापहाडको यात्रा तय गरेको हर्केशले बताए ।
उनले भने, “घरमा खाने र बस्ने बाहेक अरू केही काम भएन, करोडौंका विकास निर्माण हुँदा पनि कतै सामेल हुन पाइएन, बिना आम्दानी, बिना रोजगारी घरको मानो खाएर बस्दा मनले मानेन, त्यसैले पनि बरु मरे भारतमै मरौला भन्ने मनसायले कालापहाड हिँडेका हौं ।”
त्यस्तै तातोपानी गाउँपालिका–३ का युवा बमबहादुर परियार पनि गाउँमा सानातिना विकास निर्माणमा काम गर्थे । तर, लकडाउन भएसँगै रोजगारी गुम्यो, घरमा खाने बस्ने काम मात्रै भयो, दैनिकी गुजरा चलाउनै मुस्किल भएपछि बाध्य भएर कालापहाड हानिएको उनको भनाइ छ ।
गाउँमा रोजगारीमूलक कार्यक्रम नभएका हैनन्, तर बास्तविक बेरोजगार, गरिब, लक्षितवर्ग लाभान्वित नहुने प्रवृत्तिले गर्दा हामी जस्ता युवाले कोरोना महामारीमा पनि कमाउन भारतकै साहारा लिन बाध्य भएको बमबहादुरले दुखेसो गरे । उनले भने, “व्यावसायिक खेती गरौं, अनुदान पाउँदैनांै, आफ्नै लगानीमा केही गरौं ऋण पाउन मुस्किल, सानो अनुदान पाउन पार्टीको कार्यकर्ता हुनुपर्ने समस्या छ । परिवार पाल्नकै लागि भए पनि कालापहाडको यात्रा गर्नु हाम्रो बाध्यता हो ।”
हर्केश र बमबहादुर मात्र होइन, कोरोना कहरमा यस्ता समस्या भोकेका सयौ युवा छन् । लकडाउनकै बीचमा कर्णालीका, जुम्ला, मुगु, कालिकोट, दैलेख सल्यानलगायतका जिल्लाबाट हजारौंका दरले रोजगारी खोज्न भारत गएको तथ्यांक छ ।
यही भदौ १९ गते मात्र जुम्लाबाट हर्केश दमाईलगायत ११ जना युवा एकैदिन कालापहाड गएका छन् । प्रहरी चौकीहरूमा बिन्ती बिसाउँदै पास मागेर उनीहरू सुर्खेत हँुदै, सुदूरपश्चिम प्रदेशको धनगढी हँुदै गौरीफाँटा नाकाबाट भारत जाने तयारी गरेको हर्केश दमाईले बताए । नेपालगन्ज रुपैडिया नाका महिनौंदेखि बन्द छ, कोहलपुर हँुदै सुदूरपश्चिम प्रदेशको गौरीफाँटा नाकाबाट जाने तयारी भएको हो ।
५ वर्षे बालकसहित चन्दननाथ नगरपालिका–५ की मुगा परियार पनि ११ जनाको टोलीमा सहभागी छन् । विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै हामी कोहलपुर क्रस भएको उनले बताइन् । भारतको किनौरमा गएर स्याउ टिप्ने, अन्य काम गरी खर्च जुटाउने मुगाको मनसाय छ ।
जुम्लाका (हर्केश दमाई, बमबहादुर दमाई, मुगा दमाई, देउले सार्की, कुइरो सुनार, गज सुनार, सौगात दमाई, लालबहादुर दमाई) गरी ११ जनाको टोली भारतस्थित हिमाचल प्रदेशको किनौरतर्फ लागेका हुन् । अहिले हिमाचल प्रदेश सिमला, किनौरलगायतका ठाउँमा स्याउ टिप्ने सिजन सुरु भएको छ, त्यसैले पनि हतार गरेर गएको टोलीका देउले सार्कीले जानकारी दिए ।
कोरोना कहरका कारण भारत तथा तेस्रो मुलुकबाट कर्णालीमा करिब ८० हजार बढी युवा भित्रिएको सरकारी तथ्यांक छ । घर फर्केका कसैले पनि दिगो रोजगारी पाउन सकेका छैनन् । कर्णाली प्रदेशको बबई नाकाको तथ्यांकअनुसार भदौ १ गतेदेखि भदौ २० गतेसम्मको तथ्यांक हेर्दा ११ हजार २ सय नागरिक कर्णालीबाट बाहिरिएका छन् । सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगरका अनुसार ११ हजारमध्ये १५ सय महिला र ९ हजार ७ सय ९ जना पुरुष छन् । कर्णालीबाट बाहिरिने ११ हजारमध्ये ३५ प्रतिशतजति नागरिक भारततर्फ रोजगारीका लागि गएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्