स्वच्छ हावामा सास फेर्न माग गर्दै सडकमा प्रदर्शन «

स्वच्छ हावामा सास फेर्न माग गर्दै सडकमा प्रदर्शन

धुलोधुवाँले आक्रान्त भएका नागरिकले राजधानीको कोटेश्वरमा शनिबार प्रतीकात्मक नाटक प्रदर्शन गरेका छन् । ह्यासट्याग स्वच्छ हावा, वायु प्रदूषण विरुद्धको नागरिक अभियानले कोटेश्वरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गर्दै स्वच्छ हावाको माग गरेका हुन् ।प्रदर्शनीमा चिकित्सक, विद्यार्थी, विभिन्न पेसाकर्मी सहभागी थिए । सरकार र सरोकारवाला निकायको लापरवाहीका कारण धुवाँ धुलो खेप्नुपरेको र प्रकृतिले दिएको स्वच्छ हावासमेत फेर्न नपाएको भन्दै उनीहरुले आक्रोस पोखेका थिए ।
विरोध प्रदर्शनमा सहभागी चिकित्सक अर्जुन कार्कीले धुवाँ, धुलोका कारण काठमाडौँलगायत सहरी क्षेत्र क्यान्सरको कारखाना बनेको भन्दै चिन्ता व्यक्त गरे । नागरिक यसैगरी मौन बस्ने हो भने सरोकारवाला निकाय झनै लाचार हुने उनको भनाइ थियो । “शरीरमा बल हुँदा त पचाइहाल्छु नि जस्तो लाग्छ, संक्रमण बढ्दै गएर गम्भीर रोग बनिदिन्छ, यसबारे बेलैमा सचेत हुनुपपर्छ,” उनले भने । नीतिगत र कार्यक्रमिक रूपमै धुवाँ, धुलो रोकथामका लागि पहल गर्न सरोकारवाला निकायको उनले ध्यानाकर्षण गराए ।
धुवाँ, धुलोका कारण उपत्यकामा दम, खोकी, फोक्सोमा समस्या देखिनेलगायतका बिरामी बढेको बताइएको छ । ग्रान्डीका फोक्सो रोग विशेषज्ञसमेत रहेका चिकित्सक कार्कीले आफूकहाँ ८० प्रतिशत फोक्सोका बिरामी आउने गरेको बताए ।
नागरिकहरूको तर्फबाट स्वतन्त्र रूपले आयोजना गरिएको कार्यक्रमको मूल ध्येय स्वच्छ हावा र सफा सहर रहेको अभियन्ता दीपकराज सापकोटाले जानकारी दिए । “काठमाडौँको वायु प्रदूषणको कारणले हाम्रो स्वास्थ्य र दुःखले कमाएको सम्पत्तिको समेत निरन्तर क्षय भइरहेको छ । वायु प्रदूषणबाट हामी कोही पनि सुरक्षित छैनौँ र हुन पनि सक्तैनौँ । किनभने महलमा बस्ने र सडकमा बस्ने सबै नागरिकले सास फेर्ने हावा त उही हो, उस्तै हो,” उनले अभियानका बारेमा प्रकाश पार्दै भने, “यो समस्याविरुद्ध आजै नउठ्ने हो भने काठमाडौं रोगीहरूको सहर बन्न पुग्नेछ ।”
घर, बाटो भत्काउने, ठेक्का दिने तर ठेकेदारलाई काम लगाउन पनि नसक्ने र कारबाही गर्न पनि नसक्ने र सोको जिम्मेवारी पनि नलिने अवस्था मौलाउँदै गएको भन्दै उनले जे पनि चुपचाप सहने हामी नागरिकको स्वभावका कारणले काठमाडौँको धुवाँ धुलोले दिनहुँ झन् झन् विकरालरूप लिँदै गएकोतर्फ चिन्ता व्यक्त गरे ।
कार्यक्रमा स्वच्छ हावा लेखिएको निलो हरियो संयुक्त रंगको स्टिकर वितरण गरिएको थियो । समुद्र, आकाश र वातावरण स्वच्छ रहनुपर्छ भन्ने स्टिकरको मर्म रहेको उनले जानकारी दिए । अभियान अर्को हप्ता शनिबार पनि आयोजना गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्