झोलुंगे पुलका लागि ३ करोड बढी बजेट «

झोलुंगे पुलका लागि ३ करोड बढी बजेट

लमजुङमा चालू आर्थिक वर्षमा मात्रै ११ वटा झोलुंगे पुल निर्माण हुने भएका छन् । गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयले जिल्लाका विभिन्न स्थानीय तहमा झोलुंगे पुल निर्माणका लागि तीन करोड बढी बजेट विनियोजन गरेको हो ।
प्रदेश सरकारले रातो किताबमा उल्लेख गरेअनुसार जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा मात्रै तीनवटा झोलुंगे पुलका योजना छ्न् । यस्तै सुन्दरबजार नगरपालिका, दोर्दी र क्होलासोँथार गाउँपालिकामा दुई÷दुई वटा झोलुंगे पुलको योजना छ भने दूधपोखरी गाउँपालिका र बेसीसहर नगरपालिकामा एक÷एक वटा झोलुंगे पुलको योजना छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्माण हुने योजनामध्ये मध्यनेपाल र राईनासमा झोलुंगे पुलको योजना परेका छैनन् ।
मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत वडा नम्बर ५ को न्यूरीखोला झोलुंगे पुलका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै मस्र्याङ्दी–७ को छिनखोला झोलुंगे पुलका लागि पनि २० लाख रुपैयाँ र मस्र्याङ्दी गाउँपालिकाअन्तर्गतकै मस्र्याङ्दी नदिमा निर्माण हुने झोलुंगे पुलका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ ।
सुन्दरबजार नगरपालिकाअन्तर्गत नयाँबस्ती परिवन झोलुंगे पुलका लागि २९ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । सुन्दरबजार–४, किरिन्चे खोला झोलुंगे पुलका लागि पनि ११ लाख ७९ हजार रुपैयाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।
क्होलासोँथार गाउँपालिकाअन्तर्गत वडा नम्बर ५ र ८ मा छुट्टाछुट्टै दुई झोलुङे पुल निर्माण हुने भएको छ । वडा नम्बर ५ सिग्दीको कोग्यु खोला झोलुंगे पुलका लागि १२ लाख ७९ हजार रुपैयाँ विनियोजन भएको छ भने वडा नम्बर ८ आवुकेयु झोलुंगे पुलका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ ।
यसैगरी दोर्दी गाउँपालिकाअन्तर्गत स्याउत खोला झोलुंगे पुलका लागि १० लाख २५ हजार विनियोजन भएको छ । स्याउत खोला दोर्दी ८ र बेसीसहर ११ को सिमानामा बगेको खोला हो । दोर्दी गाउँपालिकाकै वडा नम्बर ४ अन्तर्गत माझखोलामा पनि झोलुंगे पुल निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार बेसीसहरको वडा नम्बर २ र ११ जोडेने गरी मस्र्याङ्दी नदिमा पनि झोलुंगे पुल निर्माण हुने भएको छ । सो पुल निर्माणका लागि प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सो पुलको अघिल्लो आर्थिक वर्षमै शिलान्यास भइसकेको छ ।
प्रदेश सरकारले जिल्लाको दूधपोखरी गाउँपालिकाअन्तर्गत गौडा काठेस्वारामा प्येखोलामा पनि झोलुंगे पुल निर्माणका निम्ति १९ लाख ४७ हजार रुपैयाँ विनियोजन गरेको छ । स्थानीयको माग र आवश्यकतालाई अध्ययन गरी झोलुंगे पुल निर्माणका निम्ति प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ११ वटा झोलुंगे पुल निर्माणका लागि मात्रै तीन करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको रेड बुकमा उल्लेख भएबमोजिम ११ वटा झोलुंगे पुलका लागि तीन करोड चार लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । सोमध्ये बेसीसहरको मस्र्याङ्दी नदीमा निर्माण हुने झोलुंगे पुलका लागि मात्रै एक करोड बढी बजेट विनियोजन भएको छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्