के गर्दै होलान् जीवन बिमा एजेन्टहरू कोरोनाको कहरमा ? «

के गर्दै होलान् जीवन बिमा एजेन्टहरू कोरोनाको कहरमा ?

लगभग डेढ वर्षअघिको तथ्यांकअनुसार नेपालमा ५ लाख ४७ हजार २ सय ७६ जना मानिसले ‘जीवन बिमा’ को एजेन्ट बन्ने तालिम लिएका छन् । यसरी हेर्दा नेपालमा चालू रहेका १९ वटा जीवन बिमा कम्पनीमा ५ लाख ४७ हजार २ सय ७६ जना मानिसले जीवन बिमाको एजेन्ट बनेर अर्धरोजगार भएर भएर काम गर्नका लागि तालिम लिएका छन् । हुन त ‘जीवन बिमा’ गरेर जीविका गर्छु वा अतिरिक्त आम्दानी गर्छु भनेर तालिम लिएर एजेन्ट बनेकाहरूमध्ये कतिले आफ्नो स्वयम् ‘जीवन बिमा’ गरेका छन्, कतिले आफ्नो परिवारभित्रकै मानिसहरूको ‘जीवन बिमा’ गराएका छन्, कतिले आफन्त र नातागोताहरूको ‘जीवन बिमा’ गराएका छन्, अहिले त्यतातिर नजाऊँ । अझ माथिको तथ्यांक डेढ वर्षअघिको भएकाले अहिले त बढेर साढे ६ देखि ७ लाखसम्म पुगिसके होलान्, मानिसहरूलाई ‘जीवन बिमा’ गराएर जीविकोपार्जन गर्छु भन्ने एजेन्टहरू । तर, त्यसरी तालिम लिएका ती एजेन्टमध्ये कतिले आफ्नो पेसा सुचारु रूपमा अपनाएका छन् त ? भरपर्दो तथ्यांक प्रस्तुत गर्ने कुनै आधार नभए पनि मुस्किलले १०÷१२ प्रतिशतले आफ्नो पेसा सुचारु गर्न सके होलान् भनी अनुमान गर्न सकिन्छ । अझ कोरोनालाई निहुँ बनाएर सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेका बेला ४–५ प्रतिशत ‘जीवन बिमा’ एजेन्टहरू मात्रै सक्रिय भएका होलान् भन्न सकिन्छ ।
नेपालमा हाल २० वटा निर्जीवन बिमा कम्पनी, १९ वटा जीवन बिमा कम्पनी र एउटा पुनर्जीवन बिमा कम्पनी गरी जम्मा ४० वटा बिमा कम्पनी चालू रहेका छन् । तीमध्ये पनि यहाँ खास चर्चा गर्न लागिएको चाहिँ कोरोनाको कहरबीच ‘जीवन बिमा’ एजेन्टहरू कसरी बाँचिरहेका छन् ? यसरी कोरोनाको कहर र यही कोरोनालाई निहुँ बनाएर सरकारले जबरजस्ती लागू गरेको लकडाउन र निषेधाज्ञाले उखरमाउलो गरिरहेका बेला कसरी आफ्नो व्यवसाय सुचारु गरेका होलान् ? अनि यस्तो आर्थिक संकटका बेला ‘जीवन बिमा कम्पनी’हरूले कम्पनीको मेरुदण्डका रूपमा रहेका आफ्ना एजेन्टहरूलाई केही न केही आर्थिक सहयोग हुने गरी प्याकेज ल्याए त ? ल्याएनन् भने किन ल्याएनन् ? प्रश्न गम्भीर छ । वास्तवमा अभैm पनि ‘जीवन बिमा कम्पनी’हरूले कम्पनीको मेरुदण्डका रूपमा रहेका आफ्ना एजेन्टहरूलाई भरथेग हुने गरी केही न केही आर्थिक सहयोग गरेको भए राम्रो हुन्थ्यो कि ?
यस विषयमा नेपाल लाइफ इन्स्युरेन्स कम्पनी (एनएलआईसी) मा कार्यरत खोटाङ जिल्लाकी कल्पना राई भन्छिन्, “खासमा कम्पनीले यस्तो बेलामा आफ्ना एजेन्टहरूका लागि कुनै पनि किसिमको आर्थिक प्याकेज ल्याए राम्रो हुन्थ्यो । उदाहरणका लागि भन्नुपर्दा कुनै एजेन्टले कम्पनीलाई दिएको व्यापार हेरेर, कुनै एजेन्टले कम्पनीलाई मनग्य व्यापार दिन नसके तापनि उसको आर्थिक अवस्था हेरेर, कुनै एजेन्टको शारीरिक–मानसिक जस्तै बिरामी रहेका तर लामो लकडाउन र निषेधाज्ञा लागू भएको अवधिमा कमाइ गरेर औषधि किनेर खान नसक्ने अवस्थामा रहेका एजेन्टहरूलाई ३ वा बढी समूहमा छुट्ट्याएर उनीहरूको व्यवसाय र आर्थिक अवस्था हेरेर धेरथोर आर्थिक सहयोग पुग्ने गरी आर्थिक प्याकेज ल्याउँदा राम्रो हुन्छ ।” कल्पनाका अनुसार बिमा कम्पनीहरूले यसो गरेदेखि अरू साथीभाइ र आफ्ना ग्राहक (बिमितहरू) माझमा एजेन्टहरूले आफ्नो कम्पनीबारे बताउँदा थप आधारस्तम्भ खडा हुने थियो र आफ्नो कम्पनीप्रति गर्व पनि महसुस हुन्छ ।
अभैm पनि जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले आफ्ना एजेन्टका लागि कोरोनाजस्तै अन्य आपत्–विपत् र महाविपत्ति आइपर्दा भरथेग÷आर्थिक रूपमा उद्धार गर्न मिल्ने गरी अलग्गै कोष खडा गर्नुपर्ने देखिन्छ । हुन त अहिले पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा कोषमा ८७ अर्ब रुपैयाँ छ । त्यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, एलआईसी (भारतीय कम्पनीको नेपाल शाखा) लगायत केही जीवन बिमा कम्पनीहरूसँग पनि सधैं थन्किएर बस्ने अर्बाैं पैसो (जीवन बिमा कोष) छ । तर, जीवन बिमा कोषको त्यस्तो रकम ती कम्पनीहरूले कतिखेर र कसरी प्रयोग गर्न÷खर्च गर्न मिल्ने हो ? यो पंक्तिकारलाई विषयगत रूपमा थाहा नभएकाले केही भन्न सक्ने अवस्था भने रहेन ।
–निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्