लमजुङमा अलैंची टिप्न सुरु

लमजुङका लेकाली क्षेत्रहरुमा अलैंची टिप्न सुरु भएको छ । भदौ महिना लागेसँगै अलैंची कटनीको समय भएकोले व्यावसायिक किसानहरुले अलैंची टिप्न थालेका हुन् ।
सात सयदेखि १२ सय मिटर उचाईसम्मको जमिनमा लगाइएको अलैंची भदौको पहिलो साताबाट टिप्न सुरु गरिएको हो । उचाई अनुसार फरक फरक समयमा अलैंची पाक्ने हुँदा सो भन्दा माथिल्लो क्षेत्रमा लगाइएको अलैंची असोज लागेपछि मात्रै टिप्न सुरु गरीने अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।
अलैंची पाकेपछि किसानहरु टिप्न, छोडाउन र सुकाउन व्यस्त भएका छन् । दिनभरी टिप्ने, राती छोडाउने र फेरि भट्टीमा सुकाउनु पर्ने हुँदा अलैंची किसानहरु व्यस्त छन् । भदौबाट सुरु भएको अलैंची कटनी माथिल्लो भेगसम्म पुग्दा कात्तिक लाग्ने अध्यक्ष तामाङको भनाई छ ।
अलैंची टिप्ने सिजन भएकोले सहर झरेकाहरु पनि गाउँतर्फ लागेका छन् । विशेषगरी यो वर्ष कोभिड–१९ को प्रभावसँगै जारी लकडाउनका कारण पनि शहर बजारमा बस्नेहरु गाउँ फर्किएर कृषि कर्ममा व्यस्त भएका छन् । व्यावसायिकरुपमा अलैंची खेती गरेका जिल्लाका कृषकहरु चाडपर्व मनाउन छोडेर पनि अलैंची टिप्ने र सुकाउने कार्यमा खट्ने गर्दछन् ।
जिल्लाका अधिकांश अलैंची कृषकहरुले टिपेर र सुकाई राखेको अलैंची केही महिनापछि ग्रेडिङ गरी बिक्री गर्ने गरेका छन् । सुकाएर मात्रैपनि बिक्री गर्न सकिने अलैंची ग्रेडिङपछि बढी मूल्य पाइने भएकाले कृषकहरुले बढी मिहेनत गर्ने गरेका छन् । अलैंची कृषकहरुले सुकाइसकेको अलैंचीलाई पुच्छर काटी सफा र गुणस्तरको छुट्याउदै बिक्री गर्ने गरेको अध्यक्ष तामाङले बताए ।
लमजुङको १२ सय मिटर भन्दा माथिल्लो भागमा व्यावसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजार भन्दा बढी कृषकहरुले अलैंची खेतीबाट प्रत्यक्ष फाइदा लिइरहेको महासंघले जनाएको छ । जिल्लामा करिव १५ सय हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैंची खेती हुँदै आएको महासंघले जनाएको छ ।
जिल्लामा प्रत्येक वर्ष २० टन भन्दा बढि अलैंची उत्पादन हुँदै आएकोमा यसवर्ष अलैंची उत्पादन बढ्ने अनुमान छ । अलैंची खेती विस्तार भएसँगै उत्पादन पनि बढ्ने अनुमान गरिएको हो । गत वर्षको तुलनामा यसवर्ष पाँच टन अलैंची उत्पादन बढेर २५ टन अलैंची उत्पादन हुने महासंघको विश्वास छ ।
जिल्लामा अलैंची बिक्रीबाट किसानले १० करोड भन्दा बढी रुपैयाँ आम्दानी गर्दै आएका छन् । प्रत्येक वर्ष अलैंची उत्पादन बढ्दो तर, मूल्यमा भने गिरावट आएपछि वर्षौदेखि व्यावसायिक अलैंची खेती गर्दै आएका कृषकहरुले चिन्ता व्यक्त गरेका छन् । विदेश त्यागेर व्यवसायिक अलैंची खेती गर्दै आएका किसानहरु प्रत्येक वर्ष मूल्य घट्दै जाँदा मर्का पर्नुको साथै उत्साह पनि मर्दै गएको छ । अलैंचीको उचित मूल्य निर्धारणका लागि सरकार वा सरोकारवालाहरुले विशेष चासो दिनुपर्ने उनीहरुको माग छ ।
अलैंची खेतीको प्रवद्र्धनका लागि महासंघले जिल्लाका विभिन्न सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्दै आएको छ । कृषकहरुलाई उत्पे्ररणा दिन यस्ता कार्यक्रम गर्नुका साथै सरोकारवाला निकायको ध्यानाकर्षणका लागि पनि पहल भइरहेको अलैंची व्यवसायी महासंघ लमजुङले जनाएको छ । जिल्लाको भुलभुलेसहित बाँझाखेत, घनपोखरा, खुदी, गांैडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका गाउँ पाखाहरुमा किसानले व्यावसायिक अलैंची खेती लगाएका छन् ।