अर्थमन्त्रीले जाँदाजाँदै पनि ढाँटे «

अर्थमन्त्रीले जाँदाजाँदै पनि ढाँटे

आफ्नो अढाई वर्षे कार्यकाल पूरा गरेर अर्थमन्त्री डा. युवराज खतिवडा शुक्रबार सरकारबाट बाहिरिएका छन् । दोस्रो कार्यकालको अन्तिम मन्त्रिपरिषद् बैठकमा खतिवडाले व्यक्तिगत लाभ लिनेगरी कुनै काम नगरेको सुनाए । यद्यपि देशको ढुकुटी रित्तिएको, आयश्रोत खुम्चिएको र गरीबी बेरोजगारी दर बढिरहेका बेला सबै सूचक सकारात्मक रहेको भन्दै आफ्नोे कार्याकाल र असफलताको भने उनले खुलेरै बचाउ गरे । करिब डेढ घण्टा लामो ब्रिफिङमा आफूले मुलुकको अर्थतन्त्रको आधारशीला तयार पारेको र परिणाम आगामी दिनमा देखिने दाबी समेत गरे । यतिबेला समग्र सूचक सकारात्मक रहेको र बाहिर हल्ला गरिएजस्तो अर्थतन्त्रको धरातल कमजोर नभएको मन्त्री खतिवडाले स्पष्टोक्ति समेत दिए ।
खतिवडाले समष्टिगत आर्थिक क्षेत्र, वित्तीय क्षेत्र, राजस्व प्रणाली, बजेट प्रणाली, विकास सहायता परिचालन, कानुन निर्माण र कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणसहित सात शीर्षकका उपलब्धिबारे उनले चर्चा पनि गरे । मन्त्रिपरिषद्को बैठकमा खतिवडाले पछिल्लो समय आयातमा आधारित राजस्व, विप्रेषणमा आधारित उपभोग चक्र, अनौपचारिक अर्थतन्त्रले राजस्वको दायरा संकुचित, बजेट प्रणाली र वित्तीय अनुशासनमा कमजोरी, मुलुकले धान्नै नसक्ने व्यापार घाटा, विदेशी मुद्रा सञ्चितिमा चाप, शोधनान्तर स्थिति घाटा, निजी लगानीको वातावरण असहज, विकास सहायता र वैदेशिक परिचालनमा चुनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको जानकारी गराए । साथै, आफ्नो ध्यान अर्थतन्त्रको अधारशिला तयार गर्नमा केन्द्रित भएको अभिव्यक्ति समेत दिए । तर, अर्थतन्त्रमा देखिएका समस्याग्रस्त विषयमा भने उनले विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणलाई दोष दिएका छन् । उनले भोकमरी अन्त्यदेखि दैनिक ५ किलोमिटर कालोपत्रसम्म गरेका विवरण राखी उपलब्धिका रूपमा व्याख्या गर्दै कोभिड–१९ संक्रमण जोखिम सिर्जना हुनुअघिका दुई वर्षमा उत्पादन शक्तिको विकास, लगानीमैत्री वातावरण निर्माण र शासकीय सुधारको निरन्तर प्रयासले समष्टिगत आर्थिक परिसूचक उत्साहजनक हुँदै गएको दावी गरे ।
“यो सरकार गठन हुनुअघिको १० वर्षको अवधिमा औसत आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहेकोमा पछिल्ला वर्ष सुधार भएको छ,” उनको वक्तव्यमा उल्लेख छ । यद्यपि, २०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारी भएपछि उत्पन्न परिस्थिति र देशले खोजेको विकास, समृद्धि र राजानीतिक स्थायित्वको नारा अहिले नारामै सीमित छ । राजनीतिक स्थिरताले मात्रै देशको विकास नहुने रहेछ भन्ने लगभग पक्का भइसकको छ ।
२०७४ सालमा सम्पन्न आम निर्वाचनबाट पाँच वर्ष मुलुक हाँक्ने जनादेश पाएको ओली नेतृत्वकोे सरकारले करिब तीन वर्षको दौरानमा आफैँले लिएका लक्ष्य र नाराहरू कहिँ कतै पूरा गरेको पाइँदैनन् । बहुमतको नाममा गर्ने एकाधिकारवादी प्रवृत्ति हावी हुँदा देश झन ठूलो खाडलमा जाकिने संकेत भयावह देखिएको छ ।
बैठकमा मन्त्री खतिवडाले भने, “यो सरकार गठन भएयता ०७४-७५ मा ६.७ र ०७५-०७६ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुन सकेको थियो,” उनले भने, “कोभिड–१९ का कारण ०७६-०७७ मा आर्थिक वृद्धि २.३ प्रतिशतमा खुम्चिएको अनुमान छ ।”
विश्वव्यापी रूपमा आर्थिक वृद्धि नकारात्मक भएको अवस्थामा यो पनि सन्तोषकै विषय भएको उनको भनाई थियो । तथ्यांक विभागका अधिकारीहरूले ०७६-०७७ को आर्थिक वृद्धि २.३ को सट्टा शून्य वा माइनसमा जाने जोखिम रहेको बताइसकेका छन् । तर खतिवडाले भने उच्च आर्थिक वृद्धिको दाबी गर्दै वार्षिक करिब ४ लाख रोजगारी सिर्जना भएको अनुमानसमेत पेश गरे ।
“वर्तमान सरकार गठन भएयता र मैले अर्थमन्त्रीको बागडोर सम्हालिरहँदा उच्च आर्थिक वृद्धिका बाबजुत मुद्रास्फीति नियन्त्रित अवस्थामा छ,” उनले भने, “यो सरकार गठनअघिको एक दशकको औसत मुद्रास्फीति दर करिब ९ प्रतिशत रहेकामा पछिल्ला ३ वर्षमा औसत ५ प्रतिशतभन्दा तल नै सीमित छ ।”
कोभिड–१९ का कारण वैदेशिक व्यापारमा आएको संकुचनले व्यापार घाटा घटे पनि अर्थमन्त्री खतिवडाले आफ्नो कार्यकालको उपलब्धि मानेका छन् । “भूकम्प गएको वर्षबाहेक ०७३÷०७४सम्मको एक दशकमा आयातको वृद्धि वार्षिक औसत २० प्रतिशत रहेकामा पछिल्ला तीन वर्षमा सुधार आउँदै औसत ७.९ प्रतिशत मात्रै बढेको छ,”उनले मन्त्रिपरिषद्मा भने, “यसबाट आयात प्रतिस्थापन हुँदै गएको प्रस्ट हुन्छ ।” निर्यात वृद्धिको तथ्यांकसमेत प्रस्तुत गरे ।
आयातमा कमी र निर्यातको वृद्धिले व्यापार घाटा कम भएको उनको भनाइ छ । ०७४-०७५ मा व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ३८ प्रतिशत रहेकामा ०७५-०७६ मा पनि ३८ प्रतिशत हुँदै ०७६÷०७७ मा २९ प्रतिशतमा सीमित रहन सकेको छ,” उनले भने । व्यापार घाटा नियन्त्रणले चालू खाता घाटा, भुक्तानी सन्तुलन र विदेशी मुद्रा सञ्चितिमा सुधार भएका तथ्यांक उनले पेस गरे । कोरोना कहरले संसार मानव र आर्थिक संकटसँग जुधिरहेको अवस्थामा उनले त्यसका लागि नागरिकको जीवनस्तरमा गुणात्मक सुधार आएको समेत दावी गरे ।
“२०७४ माघमा कर्जाको औसत ब्याज ११.९० प्रतिशत रहेकामा ०७७ असारमा १० प्रतिशत कायम भएको छ,” उनले भने, “०७४ माघमा निक्षेपको औसत ब्याज ६.४ प्रतिशत रहेकामा ०७७ असारसमा ६ प्रतिशत कायम भएको छ ।” ब्याजदर थप पारदर्शी र प्रतिस्पर्धी हुँदै गएकाले बचत र लगानी दुवै प्रोत्साहित भएको उनको दाबी छ ।
आफ्नो कार्यकालमा निकै निराशाजनक रहेको सेयर बजारबारे भने उनले धेरै चर्चा गरेका छैनन् । “पुँजी बजारतर्फ हालसम्ममा बजार पुँजीकरण १९ खर्ब ६५ अर्ब पुगेको छ । सेयर बजार सुधारोन्मुख एवं गतिशील बनेको छ,” उनले भने । आफ्नो कार्यकालमा बजेट प्रणालीको विश्वसनीयता कायम गर्न सकेको भन्दै कुल वैदेशिक सहायताको ३० प्रतिशत रकम बजेटरी सहायताका रूपमा प्राप्त भएको पनि उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्