मुख्यमन्त्री र विकास साझेदारबीच भेटवार्ता

रुपन्देही- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बिहीबार नेपालस्थित विभिन्न दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूले भेट गरेका छन् । विश्व वैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग (डिएफआइडी)का सुशासन हेर्ने टिम लिडर सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्यु, युएनडिपीका सहायक आवासीय प्रतिनिधि यमनाथ शर्मालगायतको टोलीले मुख्यमन्त्री कार्यालयमा भेट गरेको हो ।
भेटका क्रममा दातृ निकायको टोलीले प्रदेशको विकासको प्राथमिकता, संघीयतालाई कार्यान्वयन गर्ने क्रममा प्रदेशमा हालसम्म भएका काम, समस्या र अबको गन्तव्यबारे जानकारी लिएको थियो । संघ, प्रदेश र स्थानीय तहको संस्थागत संरचना, जनशक्ति, पूर्वाधार, क्षमता सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा विश्व बैंक, युएनडिपी, डिएफआइडी तथा अन्य दातृ निकायको सहयोगमा निकट भविष्यमा गर्न लागिएको क्षमता सम्बन्धी आवश्यकताको पहिचानसम्बन्धी सर्वेक्षण तथा अध्ययनको बारेमा जानकारी दिनुका साथै त्यसको प्रभावकारिता र प्रयोगको बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिसले विश्व बैंकले यस प्रदेशलगायत अन्य क्षेत्रमा पर्यटन विकासका लागि तयार हुँदै गरेको सहयोग सम्बन्धी आयोजनाका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । टोलीलाई मुख्यमन्त्री पोखरेलले हालसम्म कार्यान्वयनमा रहेका वैदेशिक सहयोगका आयोजनाहरु सम्भव भएसम्म प्रादेशिक प्राथमिकता र आवश्यकतालाई समावेश गरी अघि बढाउन आग्रह गरे । प्रदेशमा सञ्चालन हुने गरी नयाँ आयोजना अघि बढाउँदा प्रदेश सरकारसँग छलफल गरी प्रदेशको सोच र प्राथमिकतालाई योगदान पु-याउने गरी अघि बढाउन दातृ निकायका प्रतिनिधिसँग मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।