तरलताको समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाल उद्योग परिसंघले मुलुकको वर्तमान अर्थ व्यवस्थामा आएको तरलताका कारण उद्योग–व्यवसाय संकटमा परेको भन्दै त्यसलाई तत्काल सम्बोधनको पहल गरिदिन सरकारलाई आग्रह गरेको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी तरलताको समस्या तत्काल समाधान गर्न आग्रह गरेको हो ।
परिसंघले तरलताको संकटले बैंकिङ प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा उल्लेखनीय वृद्धि भई उत्पादन लागतसमेत बढेर उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिकूल असर पर्न गएकाले प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको जनाएको छ । यही अवस्था कायम रहेमा आगामी वर्षभित्रमा मुलुकको व्यवसाय गर्ने लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा हुने चेतावनी दिएको छ । अर्थतन्त्रको आकार बढे अनुरूपको आर्थिक व्यवस्थापन पक्ष कमजोर रहेको र वित्तीय अनुशासन कायम गरी व्याजदरलाई वान्छित सीमाभित्र ल्याउनु सम्बन्धित सरोकारवाला नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, नेपाल बैंकर्स एसोसिएसनलगायतले उपयुक्त मौद्रिक नीति तथा वित्तीय उपकरण प्रयोग गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।
गतवर्ष पनि तरलता समस्यापश्चात नेपाल राष्ट्र बैंकको पहलबाट ब्याजदर वान्छित सीमामा आई तरलता तत्कालको समस्यामा केही समाधान भई औद्योगिक व्यवसाय गर्ने वातावरण सहज भएको स्मरण गर्दै परिसंघले हाल पुनः यो समस्या छोटो अवधिमा देखिनु केन्द्रीकरण संरचनात्मक, नीतिगत र व्यवस्थापकीय तहमै परिवर्तन गर्नु आवश्यकता महसुस गरेको जनाएको छ ।
परिसंघले कठीन अवस्थामा समेत सफलतापूर्वक चुनाव सम्पन्न गराएकोमा प्रधानमन्त्रीलाई बधाईसमेत दिएको छ । त्यस क्रममा प्रधानमन्त्री देउवाले आर्थिक समृद्धि तथा समग्र अर्थतन्त्रको विकासका लागि आफू कटिबद्ध रहेको र हालको तरलताको समस्या पनि सम्बन्धित सरोकारवालासँग छलफल गरी समाधान गर्ने प्रतिबद्धता जनाए ।