दसैंमा हिमालपारिको खाना पोखरामा «

दसैंमा हिमालपारिको खाना पोखरामा

पोखरा-नेपालीहरूको महान पर्व विजयादशमीको अवसरमा पोखरामा क्षेत्रको व्यापार व्यवसाय फष्टाउदो अवस्थामा छ । घटस्थापनाको दिनदेखि बजारमा चहल पहल सुरु भएसँगै पोखरा क्षेत्रको समेत व्यापार व्यवसाय फस्टाउने भएको व्वसायीहरू बताउँछन् ।
नेपालीहरूको महान पर्वको अवसरमा सरकारीदेखि निजी क्षेत्रबाट समेत धेरैले बिदामा आफ्नो जन्मघरमा जाने साथीभाइसँग भेटघाट गर्दै रमाउने गरेकोले दसैंमा अन्य सिजनमा भन्दा बजारमा खपत बढी हुनाले व्यापार हुने गरेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए । दसैंको अवसरमा आवाज जावात गर्ने गर्नाले परिवारको पुनःमिलन हुने हँुदा, नेपाली परम्परा दसैंमा नयाँ र मिठो खाने प्रचलनका कारण अटोदेखि विभिन्न कपडा पसलहरूसम्म छुट र विशेष अफर दिने गरेको अध्यक्ष अधिकारीले बताए । दसैं पर्वमा अटो क्षेत्रमा अत्याधिक व्यापार बढ्ने गरेको दाबी गर्दै अध्यक्ष अधिकारीले दसैंमा पोखरा क्षेत्रमा हिमालपारी जिल्लाबाट आएका भेडा, च्याङग्रा, आलु, स्याउ पनि उत्तिकै खपत हुने गरेको जनाए । केहीले दसैंमा मासुसंग विभिन्न विदेशी ब्राण्डकै रक्सिहरू पिउने गरेको उनले जनाए ।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवं रेवान पोखराका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले नेपालीहरूको महान पर्व दसैंको अवसरमा पर्यटकीय स्तरिय अधिकांश रेस्टुराँहरूमा थोरै जनशक्तिले धेरै खाजा तथा खाना बनाउर दिन सक्ने गरी आफूहरूले पहिलाको मेनुमा थोरै परिवर्तन गरी मेनु साइज घटाउने गरेकोे बताए । कर्मचारीहरू अधिकांश बिदामा बस्ने भएको हुनाले आफूहरूले मेनु साइज घटाउँदै थोरैजनाले धेरैलाई छिटो छरितो ढंगले सेवा दिन पनि मेनु साइज घटाउनु परेको पूर्वअध्यक्ष भट्टराईले जनाए । पछिल्लो समयदेखि नेपालीहरूले पश्चिमेलि खानासहित चाइनिज र कोरियन खाना खाने गरेको उनले जनाए । इटालियन, पिज्जा, स्पाकेटी, चिकेन सिजलस लगायतका खानामा विदेशीदेखि स्वदेशीको समेत बढी मन पराउने गरेको उनले जनाए । केही आन्तरिक पर्यटकहरूले दसैंमा विशेष गरी हिमालपारीका जिल्लामा उत्पादन हुने गरेका भेडा च्याङग्रा, स्याँउ, आलुलगायतका खाने कुराको पोखरामा खोजि गर्न थालेको रेवान पोखराका पूर्वअध्यक्ष भट्टराईले जनाए ।
पर्यटनको मुख्य सिजनको रुपमा मानिने यस अक्टुबर नोवेम्वरको सुरुवातमै पर्यटकहरूको सुरुवात खासै राम्रो नभएको उनले बताए । पोखरा काठमाडौं जोड्ने सडक मार्ग प्रभावकारी नहुनु, हवाई उडानमा विदेशीलाई सहज र सहुलियतमा दरमा टिकट उपलब्ध नहुनु, पदमार्गमा जाने पर्यटकहरूको बिमासम्बन्धी नीति सरकारबाट प्रष्ट नहुँदा युरोपियन मुलुकका पर्यटकहरूको संख्यामा गिरावट आएको भट्टराईले दाबी गरे । पोखरामा आन्तरिकसँगै एसियन मुलुकका पर्यटकहरू बढी आउन थालेको उनले जनाए । मित्र राष्ट्र चीन र भारतीय पर्यटकलाई मात्र लक्षित गरेर नेपालको पर्यटन क्षेत्र दिगो नहुने उनले दाबी गरे । प्रकृति र संस्कृतिको संरक्षणमा राज्य र निजी क्षेत्र सजग हुनु पर्ने पूर्वअध्यक्ष भट्टराईको भनाई छ । उनले भने, “अहिलेकै अवस्थाबाट हामीले तेस्रो मुलुका पर्यटक पोखरा भित्राउन धेरै मुस्किल पर्छ, यही अबस्थामा हमी अघि बढेमा पोखराको पर्यटन व्यवसाय ध्वस्त हुन सक्छ ।”
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले वडा दसैंमा प्रायः गरी पर्यटनकै सिजन हुने हुनाले आफूहरूले पर्यटकहरूका लागि विभिन्न प्याकेज खासै नल्याएको बताए । पर्यटनको सिजनमा हाल होटलहरूको अकुपेन्सी करिब ८० प्रतिशतसम्म पुग्नुपर्नेमा हाल करिब ४० प्रतिशतको हाराहारीमा रहेको उनले जनाए । पोखरामा पर्यटकीय स्तरका होटल प्रतिरुम करिब ८ सयदेखि अधिकतम १२ हजारसम्मका रहेका छन् । केही होटलहरूले पर्यटकहरूलाई आकषर्ण गर्न प्याकेज वा छुट दिने गरेको अध्यक्ष तुलाचनले बताए ।
दसैंको अवसरमा पोखरा क्षेत्रमा लक्षित हुने गरी कास्की खसी–बोका व्यवसाय संघले करिब ८ हजार खसी–बोका भिœयाउँदै छ । संघका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठका अनुसार यस वर्षको दसैं पर्वलाई लक्षित हुने गरी कास्की सहित तनहुँ, पाल्पा, सुर्खेत, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रबाट करिब ८ हजार खसी–बोका भित्रिने भएका छन् । सहारा फुट्र्स प्रालिका हरिशंकर अग्रवालका अनुसार तीज पर्वदेखि मुस्ताङ क्षेत्रबाट स्याँउ पोखरामा आउन थालेको छ । स्याउ दसैं पर्वमा बढी खपत हुने गरेको उनले जनाए । पोखरामा करिब १५ हजारभन्दा बढी भेडा च्याङग्रा बिक्री हुने भएको छ । मुस्ताङबाट यस वर्ष १६ हजार ७ सयवटा भेडा च्याङग्रा बाहिरिएको भेटेनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीअन्तर्गत मुस्ताङ सम्पर्क शाखाका पशु चिकित्सक शिवलाल भुषालले बताए । उनका अनुसार ९ सय २५ वटा नेपाल खाद्य संस्थानले काठमाडौंका लागि लगे पनि बाँकी अधिकांश पोखरा क्षेत्रमै खपत हुने गरेको छ । पोखरामा भेडा च्याङग्रा भित्रिएसँगै बिक्री सुरु भएको छ ।
दसैंको अवसरमा पोखरामा खानाका विभिन्न परिकारहरूसँगै विभिन्न ब्रान्डका पोसाकहरू समेत बिक्री हुने गरेको छ । दसैं पर्वको अवसरमा मात्र करिब ५० करोडभन्दा बढीको कपडाको कारोवार हुने गरेको कपडा व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर भुजेलले बताए । उनका अनुसार चाइनाबाट करिब ६५ प्रतिशत लक्ता कपडा पोखरा आउने गरेको छ । त्यसैगरी भारतबाट २५ प्रतिशत र बाँकी ५ प्रतिशत स्वदेशी उत्पादनका कपडा दसैंको अवसरमा पोखरामा खपत हुने गरेको भुजेलले जनाए । सिजन सकिएका, पुराना, कलर गएका केही कपडाहरू व्यवसायीहरूले ५० प्रतिशतसम्ममा बिक्री गर्ने गरेको उनले जनाए । केही वर्षअघि दसैैंको अवसरमा ६० प्रतिशतसम्म व्यापारको कारोबार हुने गरेकोमा हाल करिब ३० प्रतिशतमा झरेको उनले जनाए । पोखरा क्षेत्रमा एसोसिएसनमा आबद्ध करिब ६ सय जना व्यवसायी छन् ।

 

प्रतिक्रिया दिनुहोस्