फास्ट ट्र्याकबाट पार्टी एकता गरौं : माओवादी «

फास्ट ट्र्याकबाट पार्टी एकता गरौं : माओवादी

नेकपा माओवादी केन्द्रले सरकार गठनअघि नै नेकपा एमालेसँग पार्टी एकता गरिसक्नुपर्ने जोड दिएको छ । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सरकार गठनअगावै पार्टी एकता गरिसक्नुपर्नेमा जोड दिएको हो ।
राष्ट्रियसभा गठन प्रक्रिया पूरा भएपछि मात्रै सरकार गठन गर्दा समय बाँकी रहेको भन्दै माओवादीले फास्ट ट्र्याकबाट पार्टी एकता गर्न सकिने बताएको हो । बैठकले पार्टी एकता प्रक्रियालाई तीव्र बनाउने निर्णयसमेत गरेको छ । “अहिले केपी ओलीजीको स्वास्थ्य अवस्थाका कारण छलफल हुन सकेको छैन । तर, अब एकता प्रक्रियालाई तीव्र बनाउने निर्णय भएको छ,” नेता मणि थापाले भने ।
निर्वाचनमार्फत् जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेको भन्दै एकता प्रक्रियासमेत सकारात्मक कोणबाट अघि बढेको बैठकको निष्कर्ष थियो । “सरकार गठन हुनुअगावै फास्ट ट्र्याकबाट पार्टी एकता गर्नुपर्ने निष्कर्षमा हामी पुगेका छौं,” थापाले भने, “त्यसका लागि अब दुवै अध्यक्षबीच गहन छलफल हुनेछ । हामी निचोडमा पुग्नेछौं ।”
उनले पावर सेयरिङमा कुरा मिल्नेबित्तिकै अन्य सबै विषय टुंगो लाग्ने बताए । बैठकमा एकीकृत पार्टीको वैचारिक-सैद्धान्तिक लाइन, संगठनात्मक संरचनालगायत विषयमा समेत छलफल भएको थियो । तत्काललाई वैचारिक लाइन चुनावी घोषणापत्रलाई आधार मानेर गर्न सकिने र सैद्धान्तिक विषय एकता महाधिवेशन गर्नुअघि मिलाउन सकिने बैठकको निष्कर्ष छ । माओवादीले सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्दा पार्टीको नेतृत्व माओवादी अध्यक्ष दाहालले गर्नुपर्ने बताउँदै आएको छ । “दुई अध्यक्षमध्ये एक जनाले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्दा सन्तुलित हुन्छ भन्ने हाम्रो निष्कर्ष छ,” नेता थापाले भने, “सोही अनुसार छलफल अघि बढाउने भन्ने भएको छ ।”
माओवादीले पार्टी एकता गर्दा सम्मानजनक ठाँउ पाउनुपर्ने र त्यसका लागि मापदण्ड तयार गरेर अघि बढ्नुपर्ने बताइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअघि नै नेकपा एमालेसँग पार्टी एकता गर्ने गरी गठबन्धन गरेर निर्वाचनमा गएका दलबीच अहिले एकताको प्रयास भइरहेको छ । माओवादीले पार्टीको नेतृत्वसहित सम्मानजनक स्थान खोजिरहँदा एमाले नेताहरू भने सरकार र पार्टीको नेतृत्व एकै व्यक्तिले गर्नुपर्ने बताइरहेका छन् ।
यस्तै, बैठकले विभिन्न माओवादी धारबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा नेताहरू टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनिल मानन्धर रहेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको थापाले जानकारी दिए । छानबिन समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।

ओली र दाहालबीच टेलिफोन वार्ता
यहीबीचमा मंगलबार ओली र दाहालबीच टेलिफोन वार्ता भएको छ । ओलीसँग भएको कुराकानीका बारेमा दाहालले पार्टी बैठकमा जानकारी गराएका थिए । दुई नेताबीच आज बुधबार भेट गर्ने र एकता संयोजन समितिको बैठक बोलाउने सहमति जुटेको बताइएको छ । यसअघि पुस १२ गते भएको दुई नेताबीचको भेटवार्ताले पनि एक–दुई दिनभित्र पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति गरे पनि अहिलेसम्म बैठक बस्न सकेको छैन । एमाले र माओवादीबीच पावर सेयरिङको विषय पेचिलो बन्दा बैठक बस्न नसकेको बताइएको छ ।

प्रधानमन्त्री र दाहालबीच भेटवार्ता
मंगलबार नै दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवा भेट्न दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । दाहालले राष्ट्रियसभाको निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको दाहालका प्रेस सल्लाहकार मनहरी तिमिल्सिनाले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी गराएका थिए । देउवाले आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी गराएको तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्