उद्यमशीलताका लागि गैरआवासीय नेपालीको सहयोग आवश्यक
गैरआवासीय नेपालीले सिकेको सिप, ज्ञान तथा प्रविधिलाई नेपालको मौलिक क्षेत्रमा लगानी गरेर उद्यमशीलता विकास गरी देशलाई समृद्ध बनाउन सकिने विकल्प रहेको विज्ञले बताएका छन् ।
नेपालमा उद्यमशीलता विकास गर्न विदेशमा सिकेको सिप, ज्ञान र प्रविधिलाई ठूला उद्योगमा भन्दा पनि मौलिक उत्पादनमा लगानी गर्न नेपाली युवा विज्ञले सुझाव दिएका हुन् । गैरआवासीय नेपाली संघ, सामाजिक उद्यमशीलता विकास समितिले बुधबार राजधानीमा गरेको ‘नेपालमा उद्यमशीलता र एनआरएनएको भूमिका’ विषय कार्यक्रमका युवा विज्ञहरूले उद्यमशीलतालाई प्राथमिकता दिनसमेत आग्रह गरे । नेपाललाई समृद्ध बनाउन स्थानीय बजारको मागअनुसारको उद्यमशीलता विकास गरी उत्पादनलाई प्राथमिकता दिन सके उद्योगबाट छिटो प्रतिफलसमेत आउने उनीहरूले बताए । यसका लागि गैरआवासीय नेपालीको लगानी र सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ ।
उद्यमशीलता अभियन्ता एवम् फ्याक्ट का प्रमुख कार्यकारी अधिकृत मनिष झाले उद्यमशीलता विकास गर्न अन्य देशको तुलनामा नेपालमा सहज रहेको भन्दै श्रमको सम्मान, उद्यमशीलताको संस्कृति र उद्योग रणनीतिलगायतका विषयमा अध्ययन गरेर लगानी गर्न सके १० वर्षमा नै प्रतिफल हासिल गर्न सकिने बताए । उनले सरकारले करदाताको सम्मान नगरेको र समाजले बजारको सम्मान नगरेका कारण उद्यमशीलता विकास हुन नसकेको बताए । काठमाडौं उपत्यकामा मात्र ५० हजार ग्लोसरी पसल भए पनि यसको विस्तार र बजारीकरणका लागि संस्थागत प्रयास हुन नसकेको उदाहरण दिँदै उनले फरक तरकाले मात्र उद्यमशीलताको विकास गरी जाने हो भने बजार खोज्न युरोपसम्म पुग्नु नपर्ने जानकारी दिए । “विश्वको २३ प्रतिशत जनसंख्या दक्षिण एशिया र ४१ प्रतिशत छिमेकी मुलुक चीनमा मात्र रहेको छ । यही क्षेत्रलाई लक्षित गरेर उद्योग सञ्चालन गर्दा पनि नेपाल समृद्ध हुन सक्छ,” उनले भने ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपालमा नै खपत हुने स–साना मौलिक स्थानीय उत्पादन थोरै लगानीमा तयार गर्नेतर्फ सोच्न सुझाव दिए । अध्यक्ष भट्टले देश समृद्ध हुन ठूला–ठूला परियोजना लगानी गर्नुपर्छ भन्ने मान्यता छोडेर विदेशबाट आयात हुने स–साना बस्तुलाई विस्थापित गरी स्वदेशमा नै उत्पादन गर्न सके सम्भावना खोज्न अरु क्षेत्र जानु नपर्ने स्पष्ट पारे ।
एनआरएनए सामाजिक उद्यमशीलता विकास समितिका संयोजक आरके शर्माले नेपालमा साना लगानीकर्तालाई लगानी गरेको कति वर्षमा प्रतिफल प्राप्त हुन्छ भन्ने जानकारी पनि नभएको र लगानीकर्ताको पनि अभाव रहेका कारण उद्यमशीलता विकास हुन नसकेको टिप्पणी गरे । उनले नेपालमा आउने रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्न सके रोजगारी र समृद्धिका लागि अरु देश जानु नपर्ने बताए ।