पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली «

पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली

सन् २०१९ लाई एनआरएनहरूले पर्यटन प्रवद्र्धन वर्षका रूपमा मनाउने निर्णय गर्नु पर्यटन प्रवद्र्धनको अवसर खोजिरहेको सरकारका लागि सकारात्मक पहल बन्न सक्छ ।

नेपालमा गैरआवासीय नेपाली अभियान सुरु भएको डेढ दशक बितिसकेको छ । यस अवधिमा गैरआवासीय नेपालीहरूले न केवल स्वदेशमा लगानी प्रवद्र्धन मात्र गरेका छन्, यसका साथसाथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको बजारीकरण र प्रवद्र्धनका लागि पर्याप्त पहल गर्दै आएका छन् । सरकारले नै गैरआवासीय नेपालीहरूलाई देशका अवैतनिक राजदूत घोषणा गरिसकेको अवस्था छ । गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय समिति र एनआरएनका विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय समितिहरूले प्रत्येक वर्ष आयोजना गर्ने सभा–सम्मेलन र अन्य गतिविधिहरूमार्फत देशको प्रवद्र्धनका लागि ठोस पहल भइरहेको देखिन्छ । विश्वका जुनसुकै मुलुकमा रहे पनि आफ्नो जन्मभूमिप्रतिको दायित्व एवं कर्तव्यबोध गरेर एनआरएनहरूले नेपालमा ज्ञान, सीप र लगानी प्रवद्र्धनका लागि पहल गर्नु सराहनीय मान्नैपर्छ । केही समयअघि नेपाल आर्थिक पत्रकार समाजको सहभागितामा गरिएको एक अध्ययनअनुसार नेपालमा हालसम्म गैरआवासीय नेपालीहरूले २० अर्बभन्दा बढी लगानी गरिसकेका छन् । यस्तो लगानी क्रमशः बढ्दो क्रममा छ । व्यक्तिगत रूपमा हुने लगानबाहेक संयुक्त लगानीका परियोजनाहरूमा भेन्चर पुँजी परिचालन गर्न केही नीतिगत र कानुनी अल्झनहरू अझै बाँकी रहेकाले एनआरएनहरूबाट सोचेजस्तो ढंगले बृहत् लगानी भने अझै परिचालन हुन सकेको छैन, एनआरएन सामूहिक लगानी कोष प्रभावकारी हुन नसक्नुमा पनि यही कारण जिम्मेवार छ । नेपालको पुँजीबजारमा एनआरएनहरूको लगानी खुल्ला गर्ने विषयमा बजेटबाटै घोषणा भइसकेको भए पनि कानुनी र संरचनागत आधार तयार नभएकाले ठूलो पुँजी परिचालनमा समस्या सिर्जना भएको हो ।
सरकारले नीतिगत व्यवस्था कानुनी संरचना र कार्यान्वयन तहमा सहजीकरण मात्र गरिदिने हो भने पनि एनआरएनहरूले नेपालको विकासका लागि ठूलो योगदान गर्न सक्ने आधार बन्दै गएको छ । तर, विडम्बना नै मान्नुपर्छ, एनआरएनहरूको वार्षिक सम्मेलनमा मात्र उनीहरूसँग जोडिएका विषयमा चर्चा वा छलफल गर्न रुचाउने सरकारी निकायहरू अन्य समयमा भने चासोविहीनजस्तै देखिने गरेका छन् । सरकारले एनआरएनहरूसँग तिमीहरूले के गर्न सक्छौ भन्ने कार्ययोजना माग्ने होइन; उनीहरूसँग सहकार्यका लागि कुन–कुन क्षेत्र उपयुक्त हुन्छ भन्ने विषयमा शोचपत्र नै अघि सार्न सक्यो भने आशा गरिएअनुसार सहकार्य हुन सक्छ । नेपालका लागि एनआरएन अभियान नौलो विषय पनि होइन, १५ वर्षको समयमा लगभग एउटा पुस्ता नै तयार भइसकेको हुन्छ । यसबाहेक विगत १५ वर्षदेखि नै एनआरएन सम्मेलनका समयमा उनीहरूले मुलुकको क्षेत्रमा साझेदारी र सहभागिता जनाउने विषयमा पटक–पटक आफैंले छलफलसमेत अगाडि बढाइरहेका छन् । पूर्वाधार विकासदेखि सेवा क्षेत्रको विस्तारसम्म एनआरएनहरूले अगाडि सारेका प्रस्तावलाई सरकारले पनि सकारात्मक रूपमा लिएर ठोस नीतिगत व्यवस्था गर्नुपर्छ नै ।
अहिले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरिसकेको छ । देशभित्र वार्षिक २० लाख पर्यटक नेपाल भिœयाउने ममहत्वाकांक्षी योजनासहित अगाडि बढाइएको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि विश्वभर छरिएर रहेका एनआरएनहरूले महत्वपूर्ण योगदान दिन सक्छन् । यसभन्दा अघि नै एनआरएनहरूले सुरु गरेको एक जना साथीलाई घर पठाऊँ (सेन्ड अ फ्रेन्ड होम) र नमस्ते अभियानले सकारात्मक परिणाम दिन सक्ने सम्भावना देखाइसकेको छ । यसै सिलसिलामा सन् २०१९ लाई एनआरएनहरूले पर्यटन प्रवद्र्धन वर्षका रूपमा मनाउने निर्णय गर्नु पर्यटन प्रवद्र्धनको अवसर खोजिरहेको सरकारका लागि सकारात्मक पहल बन्न सक्छ । यसलाई सरकारले औपचारिकता दिएर विश्वभरि रहेको एनआरएन सञ्जाललाई देशको प्रवद्र्धनका लागि कसरी बढीभन्दा बढी परिचालित गर्न सकिन्छ भन्ने विषयमा एकीकृत कार्ययोजना बनाउन सकियो भने त्यसबाट लक्षित उपलब्धि हासिल हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्