शंखमूल पार्क हस्तान्तरण हुँदै «

शंखमूल पार्क हस्तान्तरण हुँदै

काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको शंखमूल पार्क बिहीबार (भोलि) ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । सन् २०१४ मा निर्माण प्रक्रिया सुरु गरिएको करिब ४ वर्षपछि पार्क स्थानीय तहलाई हस्तान्तरण गर्न लागिएको हो ।
एनआरएनए उपाध्यक्ष कुल आचार्यको संयोजकत्वमा निर्माण हुँदै आएको सो पार्क निर्माणका लागि अक्टोबर ३ सम्म २ करोड ४२ लाख ९९ हजार १०४ रुपैयाँ खर्च भइसकेको एनआरएनएले जनाएको छ । सो पार्क निर्माणका लागि हालसम्म १ करोड ५३ लाख ६८ हजार २६८ रुपैयाँ सहयोगको प्रतिबद्धता आएकोमा यो अवधिसम्ममा १ करोड १७ लाख ८५ हजार ३८३ रुपैयाँ सहयोग प्राप्त भइसकेको छ ।
पार्क निर्माणका लागि ५५ संस्था तथा व्यक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा ३९ जनाले सहयोग रकम प्रदान गरिसकेका छन् । संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले २५ लाख, पूर्वअध्यक्ष शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले जनही १५ लाख, डा. निरजगोविन्द श्रेष्ठले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।
यसबाहेक अन्य सहयोगी संस्था र व्यक्तिले पनि पार्क निर्माणमा सहयोग गरेका छन् । पार्क निर्माणमा १ करोड ६२ लाख लाग्ने अनुमान गरिए पनि भूकम्पका कारण नियमित काम हुन नसक्दा निर्माण लागत बढेको छ । शंखमूल पार्कमा स–साना पोखरीहरु, चौबिसै घण्टा पानी बग्ने शंखमूल धारा पनि रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्