गाईपालनबाट मासिक ४५ हजार आम्दानी «

गाईपालनबाट मासिक ४५ हजार आम्दानी

दाङ-पढेलेखेका युवा पनि स्वदेशमा जागिर नपाएको भन्दै विदेशीने गरेका छन् । तर, घोराही उपमहानगरपालिका–२ मोतिपुरका गोपाल खनालले व्यावसायिक गाइपालनबाट मासिक ४५ हजार रुपैयाँ कमाउने गरेका छन् । बीएड पास गरेका गोपालले अहिले गाईपालन व्यवसाय गर्दै आएका छन् । उनले कम्प्युटरमा डिप्लोमा समेत गरेका छन् ।
घोराही–२ मोतीपुरमा उनले आफ्नै जग्गामा गोठ निर्माण गरी तीन वर्षदेखि व्यावसायिक रूपमा गाईपालन गर्न थालेका हुन् । २०७२ सालमा गृणलक्ष्मी गाई फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका उनले पढेलेखेका युवाले जागिर खानुपर्छ भन्ने सोचलाई परिवर्तन गर्न यो व्यवसाय सुरु गरेको बताए ।
उनले यसअघि विभिन्न सामाजिक संघ–संस्थामा कामसमेत गरिसकेका थिए । त्यसैगरी केही समय अध्यापन पेशामा समेत संलग्न भएका थिए । तर जागिरभन्दा सानो भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ भनेर आफू गाईपालनमा लागेको गोपालले बताए । “अरूको जागीर गर्नुभन्दा आफ्नो व्यवसाय गर्नुपर्छ भनेर व्यवसाय थालेको हुँ,” उनले भने ।
जागीर गरेपछि आफूलाई मात्र हुने तर व्यवसाय गर्दा भावी सन्ततीलाई समेत हुने भएकाले आफू यसतर्फ अगाडि बढेको उनले बताए । जागिर गर्दा अरूको अधिनमा बस्नुपर्ने भएकाले यसबाट मुक्त हुन पनि आफ्नै व्यवसाय आवश्यक रहेको उनको भनाइ छ ।
उनले अहिले ८ वटा गाई पालेका छन् । दुइटा गाईले अहिले दूध दिइरहेका छन् भने ४ वटा ब्याउने छन् । १ बाच्छी र १ साढेसमेत पालेका उनले केही समय अघि १९ वटा गाई पुराएका थिए । तर, केही गाई मरेको र केही बिक्री गरेको उनले जानकारी दिए ।
गाईपालन व्यवसायमा उनीसहित परिवारका अन्य तीन सदस्यसमेत संलग्न छन् । यति पनि नभ्याउने भएपछ थप एक जनालाई रोजगारी दिने सोचमा रहेको उनले बताए । गाईपालनबाट भएको आम्दानीले बालबच्चाको शिक्षा, घरपरिवारको दैनिक खर्च र स्वास्थ्य उपचारलगायतको खर्च पनि पुग्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्