विद्युतीय बिजकसम्बन्धी कार्यविधि जारी «

विद्युतीय बिजकसम्बन्धी कार्यविधि जारी

सरकारले कर प्रणालीलाई व्यवस्थित गर्न भन्दै ‘विद्युतीय बिजकसम्बन्धी कार्यविधि २०७४’ जारी गरेको छ । कर तथा लेखा प्रणालीलाई विश्वसनीय, पारदर्शी एवं व्यवस्थित बनाउन विद्युतीय उपकरणबाट बिजक जारी गर्ने तथा लेखा राख्ने प्रयोजनका लागि प्रयोग हुने उपकरण तथा सफ्टवेयरलाई निश्चित मापदण्डअनुसार व्यवस्थित गर्न खोजिएको विभागले जनाएको छ । कार्यविधिअनुसार बिलिङ मेसिन, मोबाइल ग्याजेट, क्यास र रजिष्ट्रार, प्वाइन्टर अफ सेल, क्याल्कुलेटरबाटै बिलबिजक जारी गर्न सकिने छ ।
आन्तरिक राजस्व विभागका साहायक प्रवक्ता शरद निरौलाले विद्युतीय माध्यम प्रयोग गरी बिजक जारी गर्ने वा तत्सम्बन्धी लेखा राख्ने प्रयोजनका लागि प्रयोग गरिएको विद्युतीय उपकरणबाट बिलबिजक जारी गर्न सकिने बताए । “नयाँ व्यवस्थाबाट बिलबिजक जारी हुँदा केन्द्रमै तथ्यांक आउने व्यवस्था छ,” उनले भने । सरकारले गत मंसिर १ मै विद्युतीय माध्यमबाटै बिलबिजक जारी गर्ने भन्दै ठूला करदाता कार्यालयमा सूचिकृत सिद्धार्थ टे«डिङ कम्पनीको बिजक अनलाइनबाट जारी गरेको थियो । यद्यपि कार्यविधि नहुँदा यो व्यवस्थामा अन्य कम्पनीहरू आउन सकेका थिएनन् । “यसअघि कम्प्युटर प्रणालीबाट बिलबिजक जारी गर्ने व्यवस्था थियो,” सहायक प्रवक्ता निरौलाले भने, “नयाँ कार्यविधिले सबै विद्युतीय माध्यमलाई समेटेको छ र यसले अहिले देखिएको ट्याक्स ग्यापलाई अनुगमन गर्न सहयोग पुग्ने विभागले विश्वास लिएको छ ।” उनका अनुसार यो व्यवस्था सोमबारदेखि नै लागू गरिएको छ । आन्तरिक राजस्व विभागबाट मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १४ को उपदफा (५) र दफा १६ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी विद्युतीय बिजकसम्बन्धी कार्यविधि २०७४ तयार गरी लागू गरिएको विभागले जनाएको छ । विभागबाट तोकिएका करदताहरूले विद्युतीय माध्यमबाट जारी गरेका बिजकसम्बन्धी तथ्यांक बिजक जारी गर्दाकै बखत विभागको केन्द्रिय बिजक अनुगमन प्रणालीमा प्रयोग गरिएको केन्द्रीय सर्भरमा पठाउने व्यवस्था छ ।
नयाँ कार्यविधिअनुसार व्यावसायिक कारोबारमा संलग्न प्रकृतिक व्यक्ति वा कानुनबमोजिम दर्ता भएका संस्था फर्म वा कम्पनीहरूले यो व्यवस्थाअनुसार बिलबिजक जारी गर्न पाउने छन् । विद्युतीय माध्यमबाट बिजक जारी गर्ने व्यक्तिले विभागबाट प्रमाणीकरण गरिएको विद्युतीय उपकरण तथा सफ्ठवेयर मात्र प्रयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार नेपालमा सञ्चालित वहुराष्ट्रिय कम्पनीले अनलाइनबाटै बिजक जारी गर्न पाउने भएका छन् । देशबाहिर सर्भर राखेर सोही सर्भरबाट बिजकसम्बन्धी सफ्ठवेयर प्रयोग तथा तथ्यांक भण्डारण हुनेगरी बिजक जारी गर्न पाउने व्यवस्था उल्लेख छ ।
कार्यविधिअनुसार विद्युतीय माध्यमबाट बिजक जारी गर्ने अनुमतिप्राप्त व्यक्तिले आफ्नो हरेक कारोबारमा अनुमतिप्राप्त विद्युतीय माध्यमबाट बिजक जारी गर्न पाउने छन् । यस्तै, स्वदेशी कम्पनी वा ब्यक्तिको हकमा पनि कुनै व्यक्तिलाई बिजक जारी गर्न सक्ने अवस्था विद्यमान नरहेमा निजले कार्यालयको पूर्वस्वीकृति लिएर मात्र अन्य माध्यमबाट बिजक जारी गर्न सक्ने ब्यवस्था गरिएको छ । यसअघि कम्प्युटर बिजकसम्बन्धी कार्यविधि २०७१ कार्यान्वयनमा थियो ।

प्रतिक्रिया दिनुहोस्