एनआरएनए विज्ञ सम्मेलनको तयारी पूरा «

एनआरएनए विज्ञ सम्मेलनको तयारी पूरा

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा शुक्रबार र शनिबार आयोजना हुन लागेको विज्ञ सम्मेलनको तयारी पूरा भएको छ ।
सम्मेलनका क्रममा संघको विधानसभाको समेत आयोजना गरिँदैछ । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्ने अभिप्रायले सो सम्मेलन आयोजना गर्न लागिएको हो ।
विदेशमा नेपालीले कमाएको पुँजीमात्रै नेपाल भित्रिरहेको परिपे्रक्षमा विदेशमा रहेका नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्न सम्मेलनको आयोजन गर्न लागिएको एनआरएनएले जनाएको छ । विदेश र स्वदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिको नेपाल सुहाउँदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । सम्मेलनको पहिलो दिन उद्घाटन र दोश्रो दिन चारवटा प्लेनरी सत्र आयोजना हुनेछ ।
पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्थालगायत विषयमा छलफल हुनेछ । दोश्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल हुनेछ । तेश्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानी विषयमा छलफल हुने जनाइएको छ । साथै नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित सत्रहरु पनि समावेश गरिनेछ ।
दोश्रो दिन कृषि, स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, विज्ञान तथा प्रविधि, जोखिम न्यूनीकरण, वातावरणीय प्रदूषणदेखि लिएर फाइनान्सियल रिफर्म, सामाजिक सुरक्षालगायतका समानान्तर सत्रहरु रहनेछन् । तेश्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागिता हुनेछ । अन्त्यमा सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गरिने कार्यक्रम रहेको छ । सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श हुनेछ ।
सम्मेलनका सबै विषयहरु आम जनजीविकासँग जोडिएका छन् । यसका साथै सरकारका विकासका प्राथमिकता परेका विषय पनि छन् । कृषि उत्पादन र ऊर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यावसायिक शिक्षा, स्वास्थ्य, शिक्षा, संघीयतामा शिक्षाको मोडल आदि थुप्रै विषयमा यस सम्मेलनमा छलफल हुनेछ ।
नेपालमा कृिषजन्य पदार्थ र जडीबुटिको प्रशोधन तथा व्यावसायिक विधिका लागि इनोभेसन को–क्रिएसन सेन्टर खोली उद्यमशिलता कसरी विकास गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने छुट्टै सत्रको आयोजना गरिनेछ । सम्मेलनमा भारत, इटली, अमेरिका, क्यानाडा, अष्ट्रेलियालगायतका देशबाट करिब १० जना विदेशी विज्ञहरुले भाग लिने बताइएको छ । सम्मेलनमा १ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्