नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन ईयूले पहल गर्ने «

नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन ईयूले पहल गर्ने

काठमाडौं-नेपालका लागि युरोपियन युनियनका राजदूत वेरोनिका कोडीले नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन आफूले पहल गर्ने कुरा बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा मंगलबार राजधानीमा आयोजित ‘व्यापार, पर्यटन तथा लगानीको सम्बद्र्धनमा नेपाल–युरोपियन युनियन आर्थिक सम्बन्धका सम्भावना’ विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । तर, नेपालको हवाई यातायातलाई सुरक्षित पार्न हवाई क्षेत्रको नीति निर्माण गर्ने र सेवा प्रदान गर्ने निकाय छुट्टाछुट्टै हुनुपर्ने सल्लाह उनले दिए ।
राजदूत कोडीले नेपालको व्यापार, पर्यटन र लगानीमा विकास गर्न भौतिक पूर्वाधार महत्वपूर्ण हुने कुरामा जोड दिँदै रेल मार्ग, सडक मार्ग र जलमार्गको विकासले नेपालको विकासलाई तीब्र बनाउने विश्वास व्यक्त गरे । साथै आफू नेपालसँगको युरोपियन युनियनको सम्बन्ध थप प्रगाढ पार्न कटिबद्ध भएर लागि परेको कुरा समेत उनले व्यक्त गरे । नेपालको उत्पादनलाई युरोपको बजारमा पु¥याउनलाई नेपाललाई ‘प्रिफरेन्सियल ब्यापार पद्धति’ अन्तर्गत राख्न आफूहरू सकारात्मक रहेको भन्दै नेपालको कफी र पश्मिनाको बजार युरोपमा उच्च रहेको बताए । उनले यसलाई थप बढाउनुपर्ने कुरामा जोड पनि दिए । यसो हुन गएमा नेपालको ईयूसँगको व्यापारघाटा कम हुने र त्यसले नेपालको अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरे ।
साथै नेपालमा रहेका साना तथा मध्यम व्यवसायीहरूको क्षमता बढाउने खालका कार्यक्रमहरूमा सहयोग गर्न ईयू तयार रहेको कुरा पनि उनले व्यक्त गरे । महिला र युवा व्यवसायीहरूको क्षमता बढाउने कुरा महत्वपूर्ण रहेको र यसको लागि सक्दो सहयोग गर्ने उनको धारणा थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल पर्यटन वर्ष–२०२० लाई मध्यनजर गर्दै नेपालको हवाई यातायात असुरक्षित रहेको भन्ने कुरामा ईयूका देशहरूले चिन्ता नगर्न आग्रह गरे ।
कार्यक्रममा श्रेष्ठले नेपालको व्यापार, पर्यटन र लगानीमा ईयूले थप सहयोग गर्ने सही समय आएको कुरा पनि उल्लेख गर्दै नेपालको समृद्दिका लागि ईयूसँगको आर्थिक सम्बन्ध महत्वपूर्ण रहेको बताए । उनले नेपालको उत्पादनलाई युरोपमा निर्यात गर्नलाई थप सहयोग गर्न राजदूत कोडीलाई अनुरोध पनि गरे ।
कार्यक्रममा व्यापार, पर्यटन र लगानीमा क्रमशः व्यापार तथा निर्यात प्रबर्धन केन्द्रका निर्देशक सुरेन्द्र नाथ गोंगल, नेपाल होटल संघका महासचिब विनायक शाह र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्