नाम र राजधानी नतोकी सकियो संसद्को बर्खे अधिवेशन

विराटनगर-प्रदेशको नामांकन र स्थायी राजधानीको टुंगो नलगाई प्रदेश नम्बर १ को बर्खे अधिवेशन सकिएको छ । सरकार गठन भएको ७ महिना बितिसक्दा पनि प्रदेशको न्वारान हुन सकेन ।
मुख्यमन्त्री शेरधन राईले सार्वजनिक समारोहमा पटक–पटक साउनभित्रै प्रदेशको नाम र राजधानी टुंगो लाग्ने बताउँदै आएका थिए । तर, असोज अन्तिम सातासम्म पनि नाम र राजधानी टुंगो नलगाई संसद्को बर्खे अधिवेशन नै अन्त्य गरिएको छ ।
मंगलबारको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले संसद्को वर्षे अधिवेशन अन्त्य भएको जानकारी गराए । गत जेठ १७ गते प्रारम्भ भएको प्रदेशसभा १ सय ३० दिन चालू रह्यो । जसमध्ये ५२ बैठकमा ५८ पटक बैठक बसी जम्मा ६० घण्टा १५ मिनेट संसदीय काममा व्यतीत भएको उनको भनाइ छ । दोस्रो अधिवेशनबाट प्रदेशसभामा गत जेठ २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । यस्तै, प्रदेशसभाले वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा १२ वटा विधेयकहरू पारित गरेको छ । पारित विधेयकहरूमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, विनियोजन विधेयक, जिल्लाको काम कर्तव्य र अधिकार सम्बन्धमा बनेको विधेयक, अन्तरप्रदेश बासिन्दाको समान व्यवहार सुरक्षा र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक, प्रदेश सामाजिक विकास संस्था विधेयक, प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक रहेका छन् ।
यस्तै प्रशासकीय कार्यविधि नियमन गर्ने विधेयक, प्रदेश वित्त व्यवस्थापनसम्बन्धी विधेयक, प्रदेश कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको विधेयक, प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेशसभाले पारित गरेको छ । प्रदेशसभाको समितिमा प्रदेश सुशासनको प्रत्याभूति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न विधेयक छलफलमा रहेको छ । यस्तै, प्रदेशको खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनका लागि सूचना दिएर स्थगित भएको छ । यस्तै प्रदेशसभामा विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भवन निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता रहेको सभामुख भण्डारीले बताए ।
प्रदेशसभाको पहिलो अधिवेशनले ११ वटा विभिन्न विधेयक पारित गरेको थियो । योसँगै प्रदेशसभाले अहिलेसम्म २३ वटा विधेयक पारित गरेको छ । सभामुख भण्डारीले प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य गर्न सभामुखलाई पठाएको पत्र पढेर सुनाएलगत्तै प्रदेशसभा अन्त्य भएको घोषणा गरे ।
राजधानी विकेन्द्रित गर्ने मुख्यमन्त्रीको प्रस्तावमा नेकपाभित्रै सहमति नजुटेपछि प्रदेशको नाम र राजधानीबारे निर्णय नगरी अधिवेशन अन्त्य भयो । विराटनगरमा मन्त्रालयहरू, इटहरीमा प्रदेशसभा र अन्य जिल्लामा सरकारका नियकाहरू विकेन्द्रित गर्ने मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा सत्तारुढ दल नेकपा नै सहमत हुन नसकेपछि त्यो प्रस्ताव नलगी प्रदेशसभाको अधिवेशन अन्त्य भएको हो । राजधानी र प्रदेशको नामबारे एक सातादेखि चौतर्फी बहस भए पनि त्यसको औपचारिक प्रस्ताव प्रदेशसभामा प्रवेश भएको थिएन । सरकारले संसदको चालू अधिवेशनबाटै नाम राजधानीको टुंगो लगाउने बताउँदै आएको भए पनि त्यो प्रस्ताव नगरी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य भएको छ ।