बुटवलमा ट्रान्सपोर्ट भिलेजको माग «

बुटवलमा ट्रान्सपोर्ट भिलेजको माग

ट्रक एवं साना–मझौला ढुवानी व्यवसायीहरुले बुटवलमा अटो भिलेज जस्तै छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन माग गरेका छन् । ‘ट्रान्सपोर्ट भिलेज’ नहुँदा ट्रक तथा अन्य ढुवानीका साधनहरुले बजार क्षेत्रमै सडक अतिक्रमण गरेर सामान ओसार पसार गर्नुपर्दा बजार क्षेत्रमा ट्राफिक जामको समस्या बढेको र बजार अस्तव्यस्त बन्न पुगेको उनीहरुले औंल्याएका छन् । ढुवानीका सवारी साधनको संख्या बढ्दै गए पनि सम्बन्धित निकायले पार्किङ स्थल तथा छुट्टै स्थान नतोकि दिँदा सामान ढुवानीका लागि बजार क्षेत्रमा ट्रकहरु प्रवेश गर्दा ट्राफिक प्रहरीले विभिन्न बहानामा दुःख दिने जरिवाना असुल्ने गरेको समेत व्यवसायीको गुनासो छ ।
बुटवलमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिअन्तर्गत दुई हजार बढी ट्रक छन् भने लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघमा करिब तीन सय साना ट्रक छन् । यहाँ करिब ५० वटा ट्रान्सपोर्ट व्यवसाय बजार क्षेत्रमा छरिएर रहेका छन् । यात्रुवाहक बस पार्किङका लागि बुटवलमा बस पार्क बने पनि उत्तिकै संख्यामा रहेका ट्रक र पिकअप भ्यानहरु पार्किङका लागि निश्चित पार्किङ स्थल छैन ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले यातायात क्षेत्रमा स्वदेशी व्यवसायीको अर्बौं लगानी भए पनि राज्यले उनीहरुका समस्या समाधानमा उपेक्षा गरेको गुनासो गरे । ढुवानी व्यवसायीहरुले ट्रक पार्कसहितको ट्रान्सपोर्ट भिलेज बनाउन बुटवल उपमहानगरपालिकासँग वर्षौंदेखि माग गरे पनि आश्वासन मात्रै पाएको तर कार्यान्वयनमा आउन नसकेको उनले गुनासो गरे । “जसरी अटो भिलेज बनेको छ त्यसै गरी हामीले एक दशकअघिदेखि नै ट्रक पार्कसहितको छुट्टै ट्रान्सपोर्ट भिलेज बनाउन माग गर्दै आएका छौं,तर सुनुवाइ भएको छैन,” लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघको सोमबार बुटवलमा सम्पन्न दोस्रो अधिवेशनमा बोल्दै रानाभाटले भने, “उपमहानगरपालिकाले तत्काल उपयुक्त स्थानमा ‘ट्रान्सपोर्ट भिलेज’ तोक्नुपर्छ, जति ढिला ग¥यो समस्या झन् विकराल बन्दै जान्छ ।”
निश्चित पार्किङ स्थल नहुँदा सडकमै सवारी साधन राख्नुपर्ने बाध्यता रहेको लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघका अध्यक्ष लक्ष्मण क्षेत्रीले गुनासो गरे । “पार्किङ स्थल नहुँदा सडकमै पार्किङ गर्नुको विकल्प छैन, यसैलाई बहाना बनाएर ट्राफिक प्रहरी र प्रशासनले बारम्बार जरिवाना गराउने र दुःख दिने काम गरेका छन्,” उनले भने ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका निवर्तमान अध्यक्ष लोकराज पोखरेलले बुटवल १४ ढवाहामा बजार र बस्ती क्षेत्रबाट टाढा उपयोगविहीन करिब १९ बिघा जग्गामा ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन उपयुक्त रहेको भन्दै उपमहानगरपालिकाले उक्त जगा उपलब्ध गराउनुपर्ने माग गरे । ट्रक पार्किङको आंशिक र अस्थायी समाधानका लागि व्यवसायीहरुले निजी व्यक्तिको ४ बिघा जग्गा भाडामा लिएर रुपन्देहीको पड्सरीमा पार्किङ गर्दै आएका छन् ।
सिद्धार्थ नगर नगरपालिकाका प्रमुख हरि अधिकारीले ट्रक र साना ढुवानीका साधन पार्किङ स्थल नहुँदा नगरको सुन्दरीकरण र ट्राफिक व्यवस्थापनमा चुनौती बनेकाले तत्काल ‘ट्रान्सपोर्ट भिलेज’ बनाउने व्यवसायीको माग कार्यान्वयन गर्नुपर्ने बताए ।
सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पनि नेपालमै नमुना बनेको बुटवलको अटो भिलेज जस्तै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन सके उपमहानगरपालिका भित्रको ढुवानी र यातायात व्यवसाय व्यवस्थित हुने धारणा राखे । सो अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका बुटवल शाखा प्रबन्धक पशुपति पौडेल, गण्डकी अटो ट्रेडिङ प्रालि बुटवलका व्यवस्थापक शिव पराजुली,लोक सुशीला मोटर प्रालिका श्रवण आचार्यले ‘ट्रान्सपोर्ट भिलेज’ अपरहार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्