शुक्लाफाँटामा खानेपानी र बिजुली अभाव «

शुक्लाफाँटामा खानेपानी र बिजुली अभाव

कञ्चनपुर-आजभोलि पहाडी जिल्लाका विकट ठाउँमा पनि खानेपानी, बिजुली बत्ती र मोटरबाटो पुगिसकेको छ । तर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एउटा यस्तो गाउँ छ जहाँ न खानेपानी छ, न बिजुली बत्ती छ न त मोटर गुड्ने बाटो नै । शुक्लाफाँटा नगरपालिकादेखि करिब ७ किमि उत्तरी क्षेत्रमा पर्छ शुक्लाफाटा नगरपालिका–८ पिल्लरीफाँटा गाउँगाउँमा सिंहदरबार आए पनि त्यो सिंहदरबार पिल्लरी फाँटासम्म पुगेको छैन । त्यहाँका बासिन्दा यहीं सिहदरबार कहिले आइपुग्छ भन्ने आशामा छन । स्थानीय सरकारका प्रमुख मेयर हुन् अथवा प्रधामन्त्री नै देश समृद्धि बनाउने कुरा बोलेकै हुन्छन् । सदरमुकामको एउटा गल्लीलाई हेरेर समृद्ध बनाउने सपना बाँडिरहेका छन् । हाम्रा जनप्रतिनिधि ।
महेन्द्र राजमार्गदेखि उत्तरी चुरे क्षेत्रमा अवस्थित शुक्लाफाँटा–८ पिल्लरीफाँटा बासिन्दा खोलाको पानी खान र अँध्यारोमा बस्न बाध्य भएका छन् । करिब ४ सय बढी परिवार बस्दै आएको पिल्लरीफाँटामा विकासको नाउँमा एउटा प्राथमिक विद्यालयबाहेक अरु केही छैन । छ त केवल समस्यामात्रै । २०५८ सालदेखि सो बस्तीमा बस्दै आएका पदम सिंह धामीले टाढाटाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको सुनाए । उनले भने, “१ किमि टाढा खोलाबाट पानी ल्याउँछौ खोलाको पानी पनि वर्षात्मा मात्रै हो अहिले खोलाको पानी पनि सुक्न थाल्यो गाईवस्तुका लागि पानीको बोक्नै प¥यो र आफ्नो लागि पनि हामीलाई समस्या भनेकै पानीको हो ।” धामी भन्छन्, “एकजनाको डिउटी त पानी बोक्न मै हुन्छ ।”
गाउँमा पानीको समस्या भएपछि संयुक्त दर्शन नेपाल नामक संस्थाले बोरिङ र सानो ट्यांकी बनाउन सहयोग गरे । गाउँमा बिजुली बत्ती नहुनु पनि अर्को ठूलो समस्या भएको छ । संयुक्त दर्शन नेपालको करिब १७ लाख सहयोग र स्थानीयको ५ लाख श्रमदानमा पानीका लागि बोरिङ बनाइयो । चुरे क्षेत्रको अली उचाइमा रहेको पिल्लरीफाटामा हेन्डपम्पबाट पानी नआउँदा झनै समस्या भएको स्थानीयले बताए ।
गाउँमा बिजुली बत्ती नभएकोले बोरिङबाट पानि तान्नको लागि जेनेरेटर चलाउनु परेको स्थानीय बताउँछन् । स्थानीय पदम सिंह धामीले भने, “हामीले काठमाडौंको भन्दा महँगो पानी पिउनु परेको छ सरकाले डिजेलको मूल्यवृद्धि गरेको छ पानी तान्न जेनेरेटरलाई डिजेल चाहिन्छ ।” पानी तान्ने जेनेरेटर पनि समय समयमा बिग्रने गरेको उनले बताए ।
स्थानीय पदम धामीले भने स्थानीय निवार्चन भएको १ वर्षभन्दा बढी भइसक्दा समेत स्थानीय सरकारले केही नगरेको दुःखेसो व्यक्त गरे । उनले भने, “जेनेरेटर चलाएको प्रतियुनिट ३० रुपैयाँ तिर्नुपर्छ पानी किन्नमै पैसा ठिक्क हुन्छ घर खर्च त परै जाओस ।” वडा कार्यालयलाई पानी तान्नका लागि सोलारका व्यवस्था गरिदिन आग्रह गरे पनि अहिलेसम्म केही नगरेको स्थानीयको गुनासो छ ।
सुरुदेखि नै खोलाको पानी पिउनु परेको अर्का स्थानीय मोहनप्रसाद भट्टले बताए । वैजनाथ खानेपानी उपभोक्ता समितिका सचिवसमेत रहेका भट्टले भने खोलाको पानीले रुघाखोकी लाग्ने गरेको बताए । बोरिङबाट पानी तान्ने व्यवस्था भए पनि प्राविधिक कारणले समस्या भएको उनको भनाइ छ । त्यो पानीले पुरै गाउँका लागि नपुगेको भट्टले बताए । करिब ४ सय घरधुरी रहेको उक्त बस्तीमा १५० परिवारलाई मात्र पानी पुगेको उनले बताए । बाँकी परिवारले खोलाकै पानी पिउनु पर्ने बाध्यता रहेको उनले सुनाए । उनले भने, “नगरपालिकाले ट्यांकी मर्मतका लागि ५८ हजारबाहेक कुनै काम गरेको छैन गर्छु भन्ने आश्वासन दिएका छन् ।” उक्त बोरिङबाट १८० फिट गहिराइबाट पानी आउने स्थानीयले बताए ।
चुनावको बेला गाउँमा पुगेर नेताहरूले पानीको योजना ल्याउने, सिँचाइको सुविधा, बिजुली बत्ती पुराउले प्रतिबद्धता गरेको स्थानीयले बताए । स्थानीय मोहनप्रसाद भट्टले भने, “सबै पार्टीका नेता आएर प्रतिबद्धता गरेकै हुन् अहिले न हारेका नेता फर्केका छन नत जितेका नेता नै ।” तर स्थानीय तहको निर्वाचनपश्चात केही सुधार भएको स्थानीय बताउँछन् ।
शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जिल्ला खानेपानीबाट खानेपानी योजना सर्भै भएको सुनाए । पिल्लरीफाँटामा खानेपानी पुराउने योजना बने पनि कार्यान्वयन नभएको नगर प्रमुख ऐरले बताए । उनले भने, “त्यहाँको समस्याको बारेमा मलाई सबै थाहा छ म त्यहाँ पुगेको छु, समस्या देखेको छु त्यहाँ भएको खानेपानी मर्मतका लागि केही रकम दिएको छु खानेपानीको लागि नगरपालीकाले दीर्घकालीन योजना बनाएको छ बिजुलीको विषयमा नगरपालिका सकारात्मक छ,” नगरप्रमुख ऐरले भने, “त्यसको विकल्प नगरपालिकाले खोजिरहेको छ ।”
यो वर्षभित्रै पिल्लरीफाँटामा बत्ती पुराउने लक्ष्यका साथ हामी लागेका छौं । तर जिल्ला वन कार्यालयले रोकेको छ उनले भने, “यसको वैकल्पिक उपाय खोजिरहेका छौं त्यो ठाउँमा यो वर्षभित्रै बत्ती बाल्छौं ।” नगर प्रमुखले जसरी भए पनि बत्ती बाल्ने बताए । उनले खानेपानीका लागि दीर्घकालीन योजना भएकाले नगरपालिकाको पहुँचभन्दा बाहिर भएको बताए । उनले भने, “हामी प्रदेश सरकारसँग आग्रह गरिरहेका छौ त्यसका लागि ठूलै बजेटको आवश्वयकता छ, यो विषयमा नगरपालिका गम्भीर छ । हामी एकदमै चिन्तित छौ बिजुली बत्ती यसै वर्ष बाल्छौं समय लागे पनि खानेपानी अवश्य पुग्छ ।” नगर प्रमुख ऐरले शुक्लाफाँटा नगरपालिकामा हात्ती आतंक रहेको बताउँदै नगरपालिकाका ४÷५ वटा वडा प्रभावित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्