दशैंका लागि मुस्ताङबाट २० हजार भेडाच्याङ्ग्रा «

दशैंका लागि मुस्ताङबाट २० हजार भेडाच्याङ्ग्रा

नेपालीको महान पर्व विजया दशमीलाई लक्षित गरी यस वर्ष मुस्ताङबाट करिब २० हजारा भेडाच्याङ्ग्रा बाहिरिने भएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीअन्तर्गत मुस्ताङ सम्पर्क शाखाका पशु चिकित्सक शिवलाल भुसालले यस वर्ष मुस्ताङबाट करिब २० हजार भेडाच्याङ्ग्रा बाहिरिने भएको बताएका हुन् ।
असोज १६ गतेदेखि मुस्ताङबाट दसैंलाई लक्षित गरी मुस्ताङबाट भेडाच्याङ्ग्रा बाहिरिन सुरु भएको डा. भुसालले बताए । उनका अनुसार हालसम्म ११ हजार ५ सय भेडाच्याङ्ग्रा मुस्ताङबाट बाहिरिएका छन् । मुस्ताङका विभिन्न ठाँउ हँुदै मुगु, डोल्पालगायतका भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिने भएको हुँदा मुस्ताङमा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणसमेत गरिने उनले बताए ।
नेपाल खाद्य संस्थानले यस वर्ष करिब एक हजार भेडाच्याङ्ग्रा काठमाडौं लैजाने तयारी गरेको छ । हालसम्म संस्थाले ५५० भेडाच्याङ्ग्रा खरिद गरेको डा. भुसालले बताए । काठमाडौंदेखि भेडाच्याङ्ग्राको व्यापार गर्न मुस्ताङ पुगेका राजेन्द्र खड्काले यसपालि भेडाच्याङ्ग्रा केही महँगो भएकोमा गत वर्षभन्दा धेरै थोरै खरिद गरेको जनाए । उनले भने, “गत वर्ष प्रतिभेडाच्याङ्ग्रा १९/२० हजार भन्ने गरेकोमा यस वर्ष २०/२१ हजार भन्ने गरेका छन् ।” गत वर्ष ७ सय भेडाच्याङ्ग्रा खरिद गरी काठमाडौंमा लगेर बिक्री गरेकोमा यस वर्ष भने केही महँगो भएकाले २५० वटामात्र भेडाच्याङ्ग्रा खरिद गरेको खड्काले बताए । एक साताभित्र उक्त भेडाच्याङ्ग्रा काठमाडौं पु¥याउने उनले जनाए ।
हिमालपारिका जिल्लामा जडिबुटी खाएर हुर्किएका भेडाच्याङ्ग्रा खाँदा स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक हुने जनविश्वासका आधारमा दसैंमा भेडाच्याङ्ग्रा खाने प्रचलन छ । यस वर्ष मुस्ताङका धेरै ठाउँमा भेडाच्याङ्ग्रालाई रोग नलागेको कारणले गर्दा पनि गत वर्षको तुलनामा उत्पादन बढी भएको बताइन्छ । कास्की, पर्वत, बागलुङ, स्याङ्जा, तनहुँलगायतका जिल्लाका विभिन्न ठाउँमा दसैंमा बढी भेडा च्याङ्ग्रा खपत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्