समृद्धिका लागि रोजगारी «

समृद्धिका लागि रोजगारी

विकास र समृद्धिका जतिसुकै ठूला–ठूला भाषण र कुरा गरे पनि आखिरमा रोजगारीको उपलब्धताबिना उक्त भाषण र कुरा सार्थकतामा परिणत हुन असम्भव हुन्छ । जीविकोपार्जनका लागि गरिने कुनै पनि काम, इलम, पेसा, व्यवसायलाई रोजगारी भनिन्छ । जीवन निर्वाहका लागि चाहिने पेसा वा अन्य कुनै व्यवसाय नभएको अवस्थालाई भने बेरोजगारी भनिन्छ । चाहेर पनि जब कुनै व्यक्तिले पेसा, व्यवसाय वा अन्य कुनै आय आर्जन हुने काम पाउँदैन तब व्यक्ति बेरोजगार बन्न पुग्छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार अहिले नेपालमा पूर्ण बेरोजगार करिब २० प्रतिशत र अर्धबेरोजगार करिब २९ प्रतिशतको हाराहारीमा रहेको तथ्याङ्क देखाएको भए पनि समस्या योभन्दा बढी गम्भीर रूपमा रहेको अनुमान गर्न सकिन्छ । वर्षैपिच्छे ४ लाखभन्दा बढीको संख्यामा श्रमशक्ति कामको खोजीमा बजारमा ओर्लन्छन्, तर मुस्किलले १० प्रतिशतले पनि राम्रो काम पाउन सकिरहेका हँुदैनन् । बेरोजगारी समस्या समृद्ध मुलुकको निर्माणमा गम्भीर तगारोका रूपमा रहेको छ । खास गरी सीपमा आधारित व्यावसायिक शिक्षा उद्यमशील सोचको अभाव एवं राजनीतिक अकर्मण्यताले यो समस्या थप चुनौतीपूर्ण बन्दै गएको छ । अहिले मुलुकमा २३.८ प्रतिशत गरिबी रहेको र रोजगारी वृद्धिदर भने ३ प्रतिशत मात्र रहेको तथ्यांकले समस्याको गाम्भीर्यतालाई प्रस्ट पारेको छ । सरकारले प्रकाशित गरेको तथ्यांकमा बर्सेनि ५ लाखको हाराहारीमा सक्रिय युवाशक्ति श्रम बजारमा प्रवेश गर्छन् भनेको छ । तर तीमध्ये अत्यन्तै न्युन संख्याका युवाले रोजगारी पाउने गरेका छन् । बाँकी धेरैले वैदेशिक रोजगारीलाई आत्मसात् गर्न पुग्छन् भने कतिपय स्वदेशमै सरकारले केही विकल्पको व्यवस्था गरिदिन्छ कि भन्ने आशामा ऊर्जाशील समय खेर फाली बसिरहेको अवस्था छ । आफैं पनि केही गर्नुपर्छ भन्ने उद्यमशील सोचको विकास युवाहरूमा पाइँदैन भने खेतीपाती, पशुपालन एवं अन्य वैकल्पिक उपायको खोजी पनि भएको पाइँदैन ।
कृषिका लागि चाहिने अत्यावश्यक पूर्वाधार जमिन, जल, जंगलले भरिपूर्ण हाम्रो मुलुक यस्तो सम्भाव्यतायुक्त क्षेत्रको व्यवसायीकरण अबको सरकारको प्रमुख लक्ष्य हुनुपर्छ । कृषिका लागि अनुकूल हावा, पानी, माटो भएको मुलुकमा पनि कृषिक्षेत्रको व्यवसायीकरणतर्फ दीर्घकालीन रणनीति र सोच बनाउन नसकी युवा पलायन हुनु भनेको समृद्ध मुलुक निर्माणको अभियानमा ठेस लाग्नु हो । देशलाई कृषिउपजमा आत्मनिर्भर बनाउन नसकेर बर्सेनि करोडांै रुपैयाँबराबरका दैनिक उपभोग्य कृषि उपज आयात गर्दा देशको व्यापार सन्तुलन बिग्रिएको तर्फ सोच्नु जरुरी छ । मुलुक त्यतिखेर समृद्ध बन्छ, जसले मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ अग्रसर हुन्छ, जसले मुलुकभित्रै रोजगारीका सम्भावना पहिल्याई देशको दक्ष जनशक्तिलाई पलायन हुनबाट रोक्ने नीति ल्याउँछ र देशलाई वास्तवमै देखिने र अनुभव गर्न सकिने खालको समृद्धिको बाटोतर्फ डो¥याउँछ । ऊ नै वास्तवमा सच्चा राष्ट्रवादी, विकासप्रेमी, युवामैत्री, एवं सच्चा देशभक्त राजनेता ठहर्छ । हैन भने भाषण र कुराले मात्र समृद्धि हासिल गर्न सकिँदैन । जापानजस्तो समृद्ध र औद्योगिक मुलुक जहाँ देशको जम्मा ३ प्रतिशत जनसंख्याले मात्र कृषि र पशुपालनबाट देशलाई आत्मनिर्भर बनाएको छ । अमेरिकामा ८ प्रतिशत जनसंख्याले मात्र कृषिमा काम गरेर देशलाई आत्मनिर्भर बनाएका छन् । त्यस्तै चीनमा १० प्रतिशत जनताले कृषिमा काम गरेर देश समृद्ध र आत्मनिर्भर बनाएका छन् । तर, नेपालमा अहिले करिब ६६ प्रतिशत मानिस कृषि पेसामा संलग्न भएर पनि देशले वर्षैपिच्छे अर्बांैको कृषिजन्य वस्तुको आयात गर्नुपरिरहेको यथार्थताले मुलुक कसरी समृद्धिको बाटोमा लाग्ला ? यो एउटा गम्भीर चिन्ताको विषय बन्नुपर्छ । बहुसंख्यक मानिसको पेसा कृषि भए पनि निर्वाहमुखी प्रवृत्तिले कृषिक्षेत्रले अपेक्षाकृत रोजगारीको सम्भावना सिर्जना गर्न सकेको छैन ।
आगामी पाँच वर्षभित्र कामको खोजीमा बिदेसिनु नपर्ने र बिदेसिएकालाई पनि स्वदेश फर्काउने अत्यन्तै महŒवाकांक्षी योजना सरकारले अघि सारेको छ, तर त्यो महŒवाकांक्षी योजना कार्यान्वयनको अहिलेसम्म न वातावरण तयार भएको छ, न त नीति र कार्यक्रम नै बनेको छ । बेरोजगारी समस्यासँगै मुलुकको राजनीतिक अवस्था अस्थिर हुँदा रोजगारीको खोजीमा लाग्ने युवायुवतीलाई झन् चिन्तित बनाएको छ । नेपालमा बेरोजगारी समस्या र त्यसको तर्कपूर्ण दिगो समाधानमा दुई दशकभन्दा बढी शासनसत्ता सम्हालेका व्यक्ति र तिनका दलहरू उदासीन छन् भन्दा अन्याय हुने छैन । ठूला सहरका चोकचोक, गल्लीगल्लीमा क्यारमबोर्ड, तास, लुँडो एवं अन्य बेपत्ते गफमा समय बिताइरहेका ऊर्जाशील युवाको जमात देख्दा यस्तो लाग्छ, हाम्रा सरकारहरू मुलुक निर्माणकोे सम्भावना बोकेका युवाप्रति कति उदासीन छन् । यो मानवीय स्रोतसाधनको चरम बेवास्ता हो । अझ योभन्दा पनि विकराल त त्यसबेला हुन्थ्यो यदि लाखौं युवायुवती विदेश नगएर स्वदेशमै रहेका भए । यो अवस्थाको कल्पनासम्म पनि गर्न सकिँदैन । त्यसो त वैदेशिक रोजगारीमा जाने हजारौं नराम्रोसँग दलाल र म्यानपावर सञ्चालकहरूबाट ठगिएका उदाहरण प्रशस्तै छन् । यस्तो ठगी खाने प्रवृत्ति नियन्त्रण गरेर वैदेशिक रोजगारीको बाटोलाई सहज र सरल बनाउनुपर्ने चुनौती पनि छ । सबै वर्गका मानिसले बिनाभेदभाव समान रोजगारीका अवसर प्राप्त गर्ने हक राख्छन् । यसका साथै मुलुकप्रति जनमानसमा आशा र विश्वासको भावना जागृत गराउनुपर्छ । अन्यथा वेरोजगारीको यो ठूलो समूह गम्भीर समस्याका रूपमा खडा हुनेछ । होइन भने यस्तो समूह मुलुकको विकासमा प्रत्युत्पादक हुन सक्छ । त्यसैले समयमै सोचविचार गरी आफ्नो देशमा भएको जनशक्तिको सही सदुपयोग गरी मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्छ । यसका साथै रोजगारीको पूर्वसर्तका रूपमा रहेको व्यवसायअनुसारको तालिम तथा सीप विकास कार्यक्रमलाई अझ व्यापक र विस्तारित रूपमा मुलुकभर सञ्चालन गरी कामका लागि दक्ष जनशक्ति निर्माणलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छ । रोजगारीमा नातागोता, भनसुन, पार्टीपंक्तिभन्दा पनि आमनागरिकको गरिबी र पछौटेपनलाई प्राथमिकता दिनुपर्छ । विदेश गएर श्रम गर्नुको मुख्य कारण त स्वदेशमा भविष्य नदेखेर र बेरोजगारी हुँदाको पीडा सहन नसकेरै हो, तर त्योभन्दा पनि विकराल समस्या भनेको आफ्नो मुलुकको कानुनमा भएका व्यवस्था र सोही व्यवस्थाअनुरूपको काम गर्ने वातावरण नभएर मुलुकप्रति विश्वास र आस्था नरहनु पनि हो । आफ्नो देशमा भएको सबल र सम्भावना नै सम्भावनाले भरिपूर्ण मानवीय शक्ति विदेशमा गएर तल्लो स्तरको काम गर्न बाध्य हुनु कहाँसम्मको विवशता हो ? कानुनी गैरकानुनी जुनसुकै बाटो प्रयोग गरेर भए पनि बिदेसिन लालयित हुनु त बेरोजगार हुँदाको पीडा नै हो, तर यसको ठीक विपरीत आफ्नै मुलुक बनाउनुपर्छ र यसैमा हाम्रो सुन्दर भविष्य जोडिएको छ भन्ने भावना क्रमशः ह्रास हुँदै जानु हो ।
रोजगारीको अवसर सिर्जना गर्ने सम्भावना बोकेको कृषि तथा उद्योग मौलाउनुका सट्टा खुम्चँदै जाँदा थप रोजगारीका अवसर सिर्जना हुन नसकेर समस्या झन् पोचिलो बन्दै गएको छ । फेरि अनेक दुःखकष्टका साथ उत्पादन गरेको वस्तुले उचित मूल्य नपाई विचौलियाको चङ्गुलमा पर्दा निराशाबाहेक केही पनि हात लागेको छैन । त्यसका लागि मुलुकको अर्थतन्त्रसँग गासिएका क्षेत्रहरू जस्तै— कृषि, उद्योग, पूर्वाधार विकास, पर्यटन, जलविद्युत् क्षेत्रलाई एकीकृत रूपमा प्रवद्र्धन गर्न सक्नुपर्छ । कृषिक्षेत्रले बाह्रै महिना मानिसलाई रोजगारी प्रदान गरिरहेको हुन्छ, यदि देशमा व्यापक मात्रामा सिँचाइ सुविधा उपलब्ध हुने हो भने । किसानलाई बाह्रै महिना व्यस्त रहिरहने वातावरण बनाउन सक्ने हो भने उत्पादन बढ्नुका साथै रोजगारीका प्रशस्तै अवसर सिर्जना भई देश आत्मनिर्भरको बाटोमा अघि बढ्थ्यो । तर, हाम्रो मुलुकमा सन्तोषजनक रूपमा कुनै पनि क्षेत्रले आशातित रोजगारीका अवसर सिर्जना गर्न सकेको छैन । दशकौंसम्म अर्थतन्त्रका सबैजसो क्षेत्र गतिहीन अवस्थाबाट गुज्रिरहेकाले सोचेजस्तो प्रगति हुन सकेको छैन । किनभने देशको अर्थतन्त्र अस्थिर हुँदा जनशक्तिको माग घट्दै गएको छ, जसको असर रोजगारीमा परेको छ । त्यसैले बेरोजगारी समस्या समाधान गर्न सबैभन्दा पहिलो सर्त अर्थतन्त्रका सबैजसो क्षेत्रलाई चलायमान बनाउन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्