इटहरीमा बैंकिङ एक्स्पो सम्पन्न

पूर्वाञ्चलको इटहरीमा वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गतको तीन दिने बैंकिङ एक्स्पो सम्पन्न भएको छ । काठमाडौँ बाहिर पहिलोपटक सम्पन्न भएको बैंक बिमा एक्स्पोमा हजारौंले अवलोकन गरेका छन् । उक्त सूचना मेलामा बिमा समिति, युवा स्वरोजगार कोष तथा बैंक वित्त र बिमा कम्पनीको गरी ३५ वटा सूचनामूलक स्टल राखिएको थियो ।
कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बिमाको पहुँच वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । सम्पत्ति र मानिसको जीवनको सुरक्षाका लागि बिमा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पाठ्यक्रममै बिमा शिक्षा कार्यक्रम समावेश गराउनुपर्नेमा जोड दिए । उनले नयाँ विभिन्न जीवन बिमा कम्पनीहरू सञ्चालनमा आउँदा करिब एक हजार बढीलाई रोजगारी सिर्जना भएको जानकारी दिए । बैंकिङ क्षेत्रमा जागीर रोज्ने युवा वर्गलाई लक्षित गर्दै उनले बैंकले भन्दा बीमाले राम्रो सुविधा प्रदान गरेकाले बिमा क्षेत्र पनि रोजगारीको उत्कृष्ट विन्दुमा पर्ने बताए । कार्यक्रममा बीमा विज्ञ एवं बिमा समितिका सल्लाहकार भोजराज शर्माले बीमाको महत्व नबुझेकै कारण बीमा गर्नेको संख्या न्यून रहेको बताए ।
त्यसैगरी, नेपाल माइक्रो फाइनान्स एसोसिएसनका केन्द्रीय सदस्य एवं समिट माइक्रो फाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रबहादुर बस्नेतले ससानो उद्यममा पनि बिमा अनिवार्य गर्नुपर्नेमा जोड दिए ।
प्रभु इन्स्योरेन्सका सीईओ सञ्चित बज्राचार्यले थोरै खर्चको लोभले घर–गाडीको बिमा नगर्नेहरू कुनै पनि बेला पछुताउनुपर्ने बताए । उनले वर्षौंदेखि कमाएको सम्पत्ति सुरक्षाका लागि बिमा अनिवार्य गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा स्थानीय समाजसेवी एवं कस्तुरी कलेजका प्रिन्सिपल कमलेश पौडेलले म्यानेजमेन्टका विद्यार्थीले बैंक र बिमाबारे अनिवार्य शिक्षा हासिल गर्नुपर्ने बताए ।
त्यस्तै, वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले बैंक र बिमाको उपस्थितिबिना विकास सम्बभ नभएको बताउँदै वित्तीय जागरण राष्ट्रिय अभियानलाई पूर्व–मेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालन गर्ने बताए ।
कार्यक्रममा स्वदेशी लघुवित्तद्वारा तयार गरिएको बिमा शिक्षा र वित्तीय साक्षरताबारे नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यार्थी, उद्यमी, व्यवसायी, महिला लगायतको सक्रिय सहभागिता थियो ।
नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवं बिमा समितिसँगको सहकार्यमा सुरु गरिएको यो कार्यक्रमलाई बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, युवा स्वरोजगार कोषलगायतले पनि साथ दिएका छन् ।