व्यवसायीहरू नै कर छल्दै «

व्यवसायीहरू नै कर छल्दै

लमजुङ- पसलहरूमा सामान खरिद गर्दा कार्यालय प्रयोजन बाहेक विल प्रयोग गर्ने उपभोक्ताहरू प्रायः थोरै नै भेटिन्छन् । तर लमजुङमा बिक्री वितरणका लागि सामान खरिद गर्ने साना तथा ठूला व्यपारीहरू पनि आधिकारिक बिल बिनानै सामान खरिद गर्ने गरेको भेटिएका छन् ।
व्यवसायीहरूले २० हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री खरिद बिक्री गर्दा अनिवार्य मुल्य अभिवृद्धि करसहितको बिल लिनु वा दिनुपर्ने हुन्छ । त्यो बाहेक २० हजारभन्दा कम मूल्यका सामान खरिद बिक्री गर्दा अनिवार्य पान विल प्रयोग गर्नुपर्ने कानुनी प्रावधान छ ।
जिल्लामा ठूलोमात्रामा खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्री, हार्डवयरलगायतका पसलहरूमा लाखौं रुपैयाँ पर्ने सामग्रीहरू पनि इष्टिमेड विलका भरमा खरिद बिक्री हुँदै आएको पाइएको छ । कतिपय पसलहरूले कागजमा उतारेको लिष्टको भरमानै सामान खरिद गर्ने गरेको भेटिएका छन् ।
बजार अनुगमनको क्रममा जिल्लाका अधिकांश पसलहरूमा आधिकारिक बिल बिनाका सामान खरिद बिक्री गरिएको भेटिएका हुन् । बिल बिनाका सामान खरिद बिक्री गरेर व्यपारीहरले कर छली गरेको घरेलु विकास समिति लमजुङका सूचना अधिकारी कृष्ण जिसीले दाबी गरे ।
कम्पनीले घरमै सामान ल्याइदिने तर सामानको बिल नदिने हुनाले पसलमा भएका कतिपय सामानको आधिकारिक बिल नभएको व्यवसायी दिपक बुढाथोकीको भनाइ छ । वर्षौं अघिदेखिनै सोही प्रकारले सामान खरिद बिक्री गर्दै आएको र कोही कसैले कारोबारबारे अनुगमन नगरेको व्यवसायीहरू बताउँछन् ।
अनुगमनको क्रममा बजारका धेरै पसलहरूमा विल पारदर्शी नभेटिएपछि पहिलो पटक व्यवसायीहरूलाई सचेत गराई छोडिएको छ । दोस्रोपटक पनि सुधार नभएमा व्यवसायीहरूलाई कानुनी कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए ।
कतिपय व्यवसायीहरूले अनाधिकृत कागजको भरमा कारोबार मात्र नभई थोरै पुँजी देखाई पसल दर्ता गर्ने र ठूलो परिमाणमा कारोबार गर्ने पनि भेटिएका छन् । राज्यलाई कर तिर्नुपर्छ भन्ने ज्ञान भएर पनि आधिकारिक बिल प्रयोजनमा नल्याउने तथा दर्ता पुँजीबमोजिम कारोबार नगर्ने व्यवसायीहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने सरोकारवालाहरूको माग छ ।
सन्देश पौडेल 

प्रतिक्रिया दिनुहोस्