स्वास्थ्य संस्थामा औषधि अभाव «

स्वास्थ्य संस्थामा औषधि अभाव

बैतडी-जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव हुदा बिरामीहरू समस्यामा परेका छन् । समयमै औषधि खरिद प्रक्रिया सुरु हुन नसक्दा अभाव भएको डिलासैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताए । उनले भने, “स्थानीयस्तरमा पनि औषधि खरिद प्रक्रिया लामो छ । केन्द्र र जिल्लाबाट औषधि आउनै छाड्यो ।” स्वास्थ्य संस्थाबाट प्रदान गर्ने भनिएका औषधि प्रायः अभाव भइरहने उनले बताए ।
जिल्लाको पुरचौैडी नगरपालिकाको कार्यपालिकामा स्वास्थ्यका कार्यक्रम पेस गरिए पनि स्वीकृत हुन नसकेको नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए । उनले भने, “कार्यक्रम नै स्वीकृत नहुँदा औषधि खरिद प्रक्रिया ढिलो होलाजस्तो छ । जिल्ला र क्षेत्रबाट औषधि आएको छैन । सबै स्वास्थ्य संस्थामा औषधि अभाव हुन थालेको छ । एक महिनाभित्र खरिद गर्न नसकिए स्टक आउट हुन्छ ।”
शिवनाथ गाउँपालिकाअन्तर्गत स्वास्थ्य संस्थामा पनि औषधि अभाव भएको स्वास्थ्य संयोजक जगदीश भट्टले बताए । उनले भने, “जिल्ला र क्षेत्रबाट औषधि आउने हल्ला थियो । तर, अझै औषधि आइपुगेन । बल्ल गाउँपालिकाले औषधि खरिद प्रक्रिया सुरु गरेको छ । एक महिनाभित्र औषधि पु¥याउने तयारी गरिरहेका छौं ।”
दुर्गम ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामात्र नभई सदरमुकामस्थित जिल्ला अस्पतालमा पनि आवश्यकता अनुसार औषधि पूर्ति हुन सकेको छैन । नगरपालिकामार्फत औषधि खरिद प्रक्रिया सुरु भएदेखि कुनै न कुनै रूपमा औषधि अभाव हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीश विष्टले बताए । उनले भने, “जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क प्रदान हुन्छ । तर, स्थानीय तह मातहत अस्पताल गएपछि औषधि पूर्ति सहज हुन सकेको छैन । समयमा औषधि खरिद प्रक्रिया सुरु हुँदैन । यसले समस्या निम्त्याइरहेको छ ।”
जिल्लाका धेरै जसो स्थानीय तहमा औषधि अभाव देखिएको छ भने केही स्थानीय तहले थोरै मात्रामा भए पनि औषधि खरिद गरेका छन् । “पहिला औषधि खरिद भइसकेको छ भनेर पत्र आयो । हामीले औषधि खरिद गरेनौं । समयमा औषधि नआउने भएपछि फास्ट ट्रयाकबाट करिब एक महिनाका लागि औषधि खरिद गरेका छौं,” मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले भने, “क्षेत्रीय मेडिकल स्टोरबाट समेत औषधि आएको छैन । यसले गर्दा विरामीहरू समस्यामा परेका छन् ।”
धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा औषधि खरिद भए पनि ढुवानीका लागि आवश्यक रकम नहुँदा उतै थन्किएको बताइएको छ । “क्षेत्रीय मेडिकल स्टोरमा औषधि खरिद भएको हामीलाई थाहा भएको छ । ढुवानीको रकम नहुँदा रोकिएको जानकारी आएको छ,” जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. विष्टले भने ।
स्वास्थ्य संस्थामा आफूहरूलाई आवश्यक औषधि नपाउने गरेको सेवाग्राहीको गुनासो छ । स्वास्थ्य संस्थामा पुग्दा औषधि नै छैन भन्ने जवाफ आउने गरेको सूर्नया–६ का प्रकाश अवस्थीले बताए । उनले भने, “सामान्य खालका सिटामोल, आइरन चक्कीसमेत उपलब्ध छैन । यसले गर्दा बिरामीलाई समस्या भएको छ ।”

आयुर्वेदिक औषधि पनि अभाव
जिल्लामा रहेका आयुर्वेदिक स्वास्थ्य संस्थामा पनि औषधि अभाव भएको छ । पछिल्लो समय आयुर्वेदेकि औषधि सेवन गर्ने बिरामीको संख्या बढे पनि औषधि अभाव भएपछि रित्तो हात फर्काउनु परेको आयुर्वेद स्वास्थ्य केन्द्र मुस्याचोरका रामदत्त भट्टले बताए । उनले भने, “मेलौली, सदरमुकाम र मुस्याचोरमा गरेर तीन ठाउँका आयुर्वेद स्वास्थ्य केन्द्रमै औषधि अभाव भएको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्