‘जलवायु परिवर्तनकै कारण प्राकृतिक प्रकोपका घटना बढे’ «

‘जलवायु परिवर्तनकै कारण प्राकृतिक प्रकोपका घटना बढे’

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरका कारण प्राकृतिक प्रकोपजस्ता घटना बढ्दै गइरहेको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित वातवरण सम्मेलन–२०७५ को उद्घाटन गदै जलवायू परिवर्तनका कारण हिमाल पग्लँदा नेपालको पर्यटनमा ठूलो असर परेको बताउँदै निराकरणका उपायहरू खोज्न विज्ञहरूलाई उनले सुझाव दिएकी छन् ।
एकीकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले बढ्दो जनसंख्या र सहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ आएको र वातावरण संरक्षणमा गम्भीर चुनौती थपिएकाले सम्बद्ध पक्षले सो विषयमा यथोचित ध्यान पु¥याउनुपर्ने बताएकी छन् ।
उनले मरुभूमिकरणविरुद्ध बेइजिङ सम्मेलनले तय गरेका विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा सन्धिको अनुमोदन र पेरिस सम्मेलनमा भएको सम्झौताअनुसारका राष्ट्रिय नीति, कानुन तथा संस्थागत संरचनाको विकास गर्दै जान नेपाल सरकार प्रतिबद्ध रहेको बताएकी छन् । “सरकारले वातावरण र जलवायु परिवर्तनजस्ता विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन, रणनीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्छ भन्ने विश्वास छ,” उनले भनिन्, “जलवायु परिवर्तनका कारण आज हाम्रा हिमताल पग्लिएर बाढीलगायतका समस्या देखा पर्न थालेको छ, यस्ता समस्या सबैको साझा विषय भएकाले बेलैमा सबैले सजग हुनु आवश्यक छ ।” इन्धनको अत्यधिक प्रयोग र जनसंख्या वृद्धिसँगै बढेको प्रदूषणले समस्या निम्तिएको उनको भनाइ छ । भण्डारीले प्रदूषण शुल्कको रकमको सदुपयोग गर्न समेत ध्यानाकर्षण गराइन् ।
कार्यक्रममा बोल्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका कारण मानव जातिमा नकरात्मक असर परिरहेको बताएका छन् । “जलवायु परिवर्तनले मानव जातिमा कस्ता खालका असर परिरहेको छ भन्ने विषयमा छलफल गर्नुपर्छ र समस्या समाधानको विषयमा गम्भीर भई उपाय खोज्नुपर्ने हुन्छ ।” जलवायु परिवर्तन, वातावरण र बढ्दो सरहीकरणसँग जोडिएका समस्यालाई एकीकृत ढंगले सम्बोधन गर्न सरकार प्रयत्नशील रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्