‘कृषिलाई उद्योगसँग नजोडेसम्म आयात प्रतिस्थापन गर्न सकिँदैन’ «

‘कृषिलाई उद्योगसँग नजोडेसम्म आयात प्रतिस्थापन गर्न सकिँदैन’

विराटनगर-जग्गाको चक्लाबन्दी गरेर कृषिको आधुनिकीकरण र औद्योगिकीकरण गर्नुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् ।
कृषि क्षेत्रको उत्पादन वृद्धि नगरेसम्म आयात प्रतिस्थापन गर्न नसकिने उनीहरूको भनाइ छ । उनीहरूले उद्योगसँग कृषिलाई नजोडेसम्म आयात प्रतिस्थापन गर्न नसकिने दाबी गरे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले जग्गाको चक्लाबन्दी गरेर एकीकृत रूपमा खेती गर्नुपर्नेमा जोड दिए । जग्गाको चक्लाबन्दी गरेर कृषिमा यान्त्रिकरण र औद्योगिकरण गर्नु आवश्यक रहेको प्रधानको भनाइ थियो । “उद्योगमा गरेको लगानीको प्रतिफल पाउन निकै समय कुर्नुपर्छ,” नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष प्रधानले थपे, “तर कृषि क्षेत्रको प्रतिफल दुई–चार महिनामै प्राप्त हुन्छ ।”
कृषिमा आधारित उद्योग व्यवसाय गर्न प्रधानले उद्योगी व्यवसायीलाई आग्रहसमेत गरे । महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्काले कृषि क्षेत्रको समस्या पहिचान गर्नुपर्नेमा जोड दिए । उनले कृषिजन्य उत्पादन र निर्यातमा लाग्ने कर कम्तीमा १० वर्ष छुट दिन मागसमेत गरे । स्थानीय, प्रदेश र केन्द्र सरकारले जथाभावी कर लगाउँदा कृषकसमेत निराश बनेको अध्यक्ष खड्काको भनाइ थियो । उनले हरेक स्थानीय तहमा कर लगाउन नहुने बताए । “विदेश निर्यात गरिएको छ भने भन्सारमा एकमुष्ट कर लगाउनुपर्छ,” उनले भने, “यदि स्वदेशमै निर्यात गरिएको छ भने एकठाउँ मात्रै कर लिने व्यवस्था मिलाउनुपर्छ ।” मुलुकलाई आत्मनिर्भर बनाउन निजी क्षेत्र कृषिमा लगानी गर्न तयार रहेको खड्काले प्रस्ट पारे ।
महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले कृषिजन्य वस्तुको आयात बढ्दै जाँदा मुलुकको व्यापार घाटा पनि चुलिँदै गएको विचार व्यक्त गरे । उनले कृषिको उत्पादन वृद्धि नगरेसम्म व्यापार घाटा कम गर्न नसकिने बताए । “अब परम्परागत रूपमा भन्दा आधुनिक र एकीकृत रूपमा खेती गर्नुपर्छ,” उनले भने, “यसले गर्दा उत्पादन वृद्धि गरी मुलुक कृषिमा आत्मनिर्भर हुन्छ ।” रोजगारीका लागि युवाहरू विदेश पलायन हुँदा खेतीयोग्य जमिन बाँझै रहेको उनको भनाइ थियो ।
स्वीस सरकारको सहयोगमा सञ्चालित सहज कार्यक्रमसँगको सहकार्यमा आयोजित कार्यक्रममा महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले माटोको परीक्षण गरेर खेती गर्नुपर्नेमा जोड दिए । उनले भने, “मकै उत्पादन हुने माटोमा आलु लगाएर हुँदैन, जुन माटोमा जे राम्रो उत्पादन हुन्छ त्यही लगाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्