चिनी अभाव छैन «

चिनी अभाव छैन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनीको अभाव नभएको र बजार भाउ पनि नबढेको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा मन्त्री यादवले उपभोक्ताले सस्तो मूल्यमा आवश्यक सामग्री खोज्नु स्वभाविक भएको भन्दै अहिले चिनीको कुनै अभाव नरहेको बताएका हुन् ।
मन्त्री यादवले पत्रकारहरूले चिनीको अभाव भयो भनेर समाचार लेखेकोप्रति कडा आपत्ति जनाए । “चिनी अभाव छ भनेर समाचार लेख्नेलाई कति चाहियो ? चिनीको बोरा नै जीउमा हालेर पठाइदिन्छौं,” उनले आक्रोसित हुँदै भने, “अनर्गल प्रचारले देश कहिल्यै बन्न सक्दैन ।” उनले बजारमा कुनै मूल्यवृद्धि नभएको भन्दै ढुक्क हुन उपभोक्तालाई आग्रह गरे ।
मन्त्री यादवले नियमित बजार अनुगमन भइरहेको समेत जानकारी दिए । उनले एउटा बलियो संयन्त्र बनाएर काठमाडौंमा मात्र नभई देशैभरको बजार अनुगमन गरिने बताए । अहिले आपूर्ति सहज गर्ने, बजार भाउ नियन्त्रण गर्ने र कालोबजारी हटाउन कोसिस भइरहेको उनले जानकारी दिए ।
मन्त्री यादवले चिनी आयात बढाउन १ अर्ब ६९ करोडको चलखेल भएको भन्ने आरोपको खण्डन पनि गरे । अहिलेको जमानामा त्यति ठूलो रकमको चलखेल भए सबैले थाहा पाउने भन्दै त्यस्ता आरोपको पछाडि नलाग्न आग्रह गरे । सार्वजनिक लेखा समितिले चिनीको मूल्य निर्धारण गरेकोप्रति पनि असन्तुष्टि व्यक्त गर्दै उनले लेखा समितिको अधिकार के हो आफूलाई थाहा नभएको बताए ।
मन्त्री यादवले नेपालमा चिनी उत्पादन १ लाख ८० हजार मेट्रिक टन रहेको र अहिलेको आवश्यकता २ लाख ३० हजार मेट्रिक रहेको पनि बताए । “चिनीका मालिकले उखु किसानका पैसा दिएका थिएनन्, तर म आएपछि दिन थालेका छन्,” उनले भने, “सरकार कडा रुपमा प्रस्तुत गरेपछि व्यवसायी झुकेका छन्, अझै सवा अर्ब जति रकम किसानलाई दिन बाँकी छ ।” उनले त्यो रकम पनि चाँडै किसानले पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्