दैनिक ५ हजार नेपाली कागज उत्पादन «

दैनिक ५ हजार नेपाली कागज उत्पादन

दमौली-तनहुँको शुक्लागण्डकी नगरपालिका–४ साँखरमा २ करोड रुपैयाँको लगानीमा स्थापना भएको नेपाली कागज उद्योगबाट दैनिक ५ हजार कागज उत्पादन भइरहेको छ ।
उद्योगबाट हाल दैनिक रुपमा २५ कोरी नेपाली कागज उत्पादन भइरहेको उद्योगका सञ्चालक सन्तोषराज सिग्देलले जानकारी दिए । बजारमा नेपाली कागजको माग बढि भएपछि सिग्देलले तीन वर्ष अघि शुक्लागण्डकी कागज उद्योग स्थापना गरेका थिए ।
सुरुमा एक करोड लगानीमा उद्योग स्थापना भएपनि अहिले लगानी २ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए । स्थानीय तहको निर्वाचनपछि नेपाली कागजको माग अत्याधिक बढेको उनले बताए । “प्रत्येक स्थानीय तहमा नेपाली कागजको प्रयोग हुन्छ,” उनले भने, “एक वर्षयता नेपाली कागजको माग राम्रो छ ।”
तनहुँका साथै कास्की, गोरखा, चितवन, लमजुङलगायतका जिल्लामा नेपाली कागजको माग बढि रहेकोले बजारको सवालमा कुनै समस्या नरहेको सिग्देलले बताए । उनका अनुसार कास्की जिल्लामा मात्रै वार्षिक एक करोडको नेपाली कागज बाह्य जिल्लाबाट आयात हुने गरेको छ । अन्य जिल्लाबाट भन्दा यहीँ उत्पादित कागजको बिक्री वितरण गर्न सके कागज उद्योग समेत फस्टाउने उनको विश्वास छ ।
१० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा ३२ जनाले रोजगारी पाएका छन् । तीमध्ये मिस्त्रीलाई मासिक रुपमा पारिश्रमिक रूपमा दिइने गरिएको छ भने अन्यलाई कागज उत्पादनका आधारमा पारिश्रमिक दिइने गरेको छ ।
उद्योगमा हाल १ हजार ८ सयवटा कागज सुकाउने पाता छन् । गाउँघरमै पाइने बाबियो, अर्गेलीको बोक्रा, लोक्तालगायतका कच्चा पदार्थबाट नेपाली कागज बनाउने गरिन्छ । जंगली झार (लोक्ता)को प्रयोग गरी नेपालको पहाडी क्षेत्रमा परम्परागत तरिकाले तयार गरिने कागज नेपाली कागज हो । यसको टिकाउपनाको कारणले नेपालमा अझै पनि सरकारी काम काजमा यसको अत्यधिक प्रयोग हुन्छ । यसका बाहेक हस्तकला तथा सजावटको सामग्रीको रूपमा पनि यसको प्रयोग हुन्छ ।
कच्चा पदार्थलाई भुस, दाउराले पकाउने (कास्टिङ सोडा राखेर), त्यसलाई पखाल्ने अनि व्रिज गर्ने (सफा) गर्नुपर्छ । त्यसपछि मिक्स्चरमा हालेर पेलेपछि लेदो पदार्थ निस्कन्छ । लेदो पदार्थलाई भ्याक्ट बाकसमा हालेर कच्चा कागजको तह बनाउने र त्यसलाई झिकेर कपडाको जालीमा राखेर सुकाएपछि कागज तयार हुन्छ । कागज सुकाउन घाम भने अनिवार्य लाग्नै पर्ने हुन्छ । घाम नलागेको दिनमा उद्योगमा कागज उत्पादन भइरहने र घाम लागेपछि त्यसलाई सुकाउने काम हुने सिग्देलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्