‘दसैं सस्तो बजार तथा सडक मेला–२०७५’ «

‘दसैं सस्तो बजार तथा सडक मेला–२०७५’

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि चीनसँग जोडिएका गोरखा जिल्लाका उत्तरी नाकाहरू खोल्न पहल भइरहेको बताएका छन् । गोरखा चेम्बर अफ कमर्सद्वारा आयोजित ‘दसैं सस्तो बजार तथा सडक मेला–२०७५’ लाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
चितवनको ठोरी र गोरखाका उत्तरी नाकाहरू सञ्चालनमा आउन सकेमा गोरखाको भौगोलिक बिघटतालाई सुगमतामा बदल्न सकिने र त्यसले गोरखा जिल्लाको विकासमा ठूलो मात्रामा टेवा पुग्ने कुरा उनले बताए । गोरखा जिल्लाको समृद्धिको लागि स्थानीय सरकार र निजी व्यवसायीहरू एकै रथका दुईपांग्रा जस्तै भएको कुरामा उनको जोड थियो ।
सोही क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले गोरखा दरबारको पुनर्निर्माण, पालुंगटारमा विमानस्थलको निर्माण र बन्द रहेको गोर्खाली रबर उद्योगको पुनः सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए । समृद्धिका लागि पुनर्निर्माण अपरिहार्य कुरा भएको र जिल्लाका महत्वपूर्ण ऐतिहासिक पूर्वाधारको निर्माणका लागि निजी व्यवसायी र स्थानीय सरकारबीचको सहकार्य महत्वपूर्ण हुने कुरा श्रेष्ठले बताए ।
गोरखाको व्यापारलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त मेलामा नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख लगायत हजारौं सर्वसाधारणको उपस्थिति थियो भने कार्यक्रमको अध्यक्षता गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्