तातो पानी कुण्डमा पर्यटक आकर्षित «

तातो पानी कुण्डमा पर्यटक आकर्षित

मनाङ-पर्यटन सिजन सुरु भएसँगै हिमाली जिल्ला मनाङमा बाह्य तथा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ । मनाङ जिल्लाको सदरमुकाम चामे बजारमा चहलपहल बढेको देखिन्छ । पैदल तथा सवारी साधनमा आउने पर्यटकहरु चामेमा एक दिन बसेर मात्र यात्रा गर्ने गरेको पाइन्छ । कारण– थकान मेट्नका साथै चामे बजार तथा आसपासको दृष्यावलोकन गर्नका लागि ।
त्यस्तै, अर्को महत्वपूर्ण स्थान हो चामे बजारमा रहेको तातो पानी कुण्ड । चामे–३ मा रहेको यस तातो पानी कुण्ड आन्तरिक तथा बाह्य पर्यटकहरुको पहिलो रोजाइ भएको छ । लमजुङको बेशीसहरबाट चामेसम्म आउँदा थकानका साथै यो तातो पानीमा स्नान गर्न पाउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु निकै रमाउने गरेको स्थानीय होटल व्यवसायी छिरिङ धोर्जे गुरुङले बताए ।
बिहान बेशीसहरबाट हिँडेपछि साँझमात्र चामे आइपुगिन्छ । साँझ थकान मेट्न तथा फ्रेस हुनका लागि पर्यटकहरु नजिकै रहेको यस तातो पानी कुण्डमा नुहाउन जाने गर्दछन् । चामे गाउँपालिकाको २४ लाख रुपैयाँको लागतमा महिला तथा पुरुषका लागि कपडा फेर्नको निम्ति दुई वटा कोठा, दुई वटा शौचालय तथा महिला पुरुषको अलग–अलग दुई पोखरीसहितको व्यवस्थित तातो पानी कुण्डको निर्माण गरिएको चामे गाउँपालिकाका उपमेएर मुनिन्द्रजंग गुरुङले बताए ।
दिउँसो चार–पाँच बजेबाट नै कुण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडभाड लाग्ने गर्दछ । कुण्डमा दैनिक चार सयभन्दा बढी पर्यटकका साथै स्थानीय र कर्मचारीले नुहाउने गरेको गुरुङले बताए ।

 

नेगम परियार

प्रतिक्रिया दिनुहोस्