सौर्य विद्युत् प्रविधि प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक

सौर्य विद्युत् प्रविधि प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको सरोकरावालाले बताएका छन् । नेपाल सौर्य विद्युत उत्पादक संघको १७औं वार्षिक साधारणसभाको अवसरमा सौर्यविद्युत् प्रविधि प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका हुन् ।
जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका साथै वातावरण संरक्षणका लागि नेपालले विश्व समुदायसमक्ष आवाज उठाइरहेको बताउँदै उनले नेपालमा सञ्चालित कार्यक्रम उत्साहजनक रहेको बताइन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जीवराज पोखरेल, पूर्वमन्त्री गणेश शाह, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल वैकल्पिक ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा विश्वमा अपरिहार्य भएको बताए ।
सौर्य ऊर्जालाई अधिकतम उपयोगका लागि गरिएका प्रयास सफल रहेको भन्दै नेपालमा ती प्रविधि उपयुक्त सिद्ध भएकाले प्रवद्र्धनका लागि सबै उपाय अवलम्बन गर्नुपर्ने वक्ताहरूको धारणा थियो । कार्यक्रममा लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रको सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा वक्ताहरूले जोड दिए ।
जलविद्युत् नै ऊर्जा उत्पादनको मुख्य प्रविधिको रूपमा लिइएको भए पनि नेपालमा सौर्य प्रविधिबाट विद्युत् उत्पादन गर्न ठूला आयोजना प्रवद्र्धन गर्न पनि नीति लिइएको छ । त्यसैगरी वायु ऊर्जा प्रविधि पनि उपयोगका लागि नमुना आयोजना निर्माण गरिएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत अन्य निकाय र निजी क्षेत्रको समन्वयमा हालसम्म संघका सदस्य कम्पनीबाट ५५ मेगावाट बराबरको ऊर्जा उत्पादनका लागि योगदान भएको छ । उक्त ऊर्जा योगदानले देशका अधिकांश उपभोक्तालाई उज्यालोको पहुँच विस्तार गर्न सफल भएको संघले उल्लेख गरेको छ । विशेषगरी दुर्गम स्थानका गाउँ बस्तीका जनतालाई स्वच्छ ऊर्जामा पहुँच पुर्याउन, स्वास्थ्य, शिक्षा, सञ्चार, खानेपानीे र सिँचाइ सुविधाका लागि पनि सौर्य विद्युत् प्रणालीबाट उल्लेखनीय सुविधा पुगेको छ ।
ठूला सोलार आयोजनाहरू निर्माण गरेर विद्युत् उत्पादन बढाउन सकिने र विभिन्न कार्यालय भवन र सर्वसाधारणका घरहरूमा जडान गरिएका सौर्य विद्युत् प्रणालीबाट उत्पादित बिजुली पनि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारणमा जोड्न सकिने नेटमिटरिंगको कार्यविधि कार्यान्वयनबाट विद्युत् आपूर्ति अझ सहज हुने सम्बन्धमा पनि वक्ताले चर्चा गरेका थिए । मुलुकले नयाँ संविधान पाएपछि संघीय, प्रादेशिक र स्थानीय सरकारको रुपमा तीन तहको सरकार हुने व्यवस्था भएअनुसार नवीकरणीय ऊर्जाका स्रोतहरू परिचालन गर्न, नियमन गर्न, प्राविधिक र वित्तीय व्यवस्थापन गर्नका लागि नीति तथा विधि निर्माणका लागि सरोकारवालाबाट आवश्यक पहल हुनुपर्ने वक्ताहरूले उल्लेख गरे ।
विश्वभरिका मुलुकहरूले इनर्जी सेक्युरिटीका लागि इनर्जी मिक्सको अवधारणालाई कार्यान्वयन गर्न विभिन्न किसिमका नवीकरणीय उर्जाका प्रविधिहरू उपयोगमा ल्याउने प्रचलन छ । छिमेकी मुलुकहरू चीन, भारतले पनि सौर्य विद्युत् प्रविधि र वायु ऊर्जा प्रविधिबाट उल्लेखनीय प्रगति हासिल गरेका छन् । नेपालमा समेत उपयुक्त हुने त्यस प्रकारका प्रविधिहरु कार्यान्वयनका लागि नेपाल सरकारबाट तदारुकताका साथ अग्रसर हुनुपर्छ भन्ने संघको धारणा छ ।
नेपाल सौर्य विद्युत् उत्पादक संघ १७ वर्षअघि सौर्य विद्युत् उत्पादन गरिने प्रविधि आपूर्ति जडानका साथै त्यससँग सम्बन्धित अन्य सेवा उपलव्ध गराउँदै आएको निजी क्षेत्रका व्यवसायीहरूको छाता संगठन हो । संघको वार्षिक साधारणसभाकै अवसरमा आगामी दुई वर्षका लागि किरण गौतमको नेतृत्वमा नयाँ कार्यकारी समिति चयन गरिएको छ । नयाँ कार्यकारी समितिमा उत्तम सिटौला निवर्तमान अध्यक्ष रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा इन्द्र खनाल, प्रथम उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, महासचिवमा सुनिल ढकाल, सचिवमा किरण प्रधान र कोषाध्यक्षमा विनोद सापकोटा सर्वसम्मत रूपमा चयन भएका छन् ।