देख्नै मुस्किल कोदो र मादुरो «

देख्नै मुस्किल कोदो र मादुरो

बैतडी-कुनै समय सुदूरपश्चिमका बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरालगायतका उच्चपहाडी तथा हिमाली भेगमा प्रसस्त मात्रामा पाइने कोदो र मादुराको अन्न पछिल्लो समय पाउनै मुस्किल भएको छ । बढ्दो आधुनिकता र खान–पान परिवर्तनले यी अन्नबाली लोप हुदै गएका हुन् ।
गाउँमा सडकको पहुँच भएपछि परम्परागत बालीहरूलोप भएका छन् । बजारको चामल, गहुँ सहजै गाउँमा पुग्न थालेपछि परम्परागत बालीहरू कोदो, मादुरो, जहुँ र गहुँ लोप हुन लागेका हुन् । ४–५ वर्ष अगाडिसम्म बैतडीका किसानको खेतबारीमा पनि प्रसस्त उत्पादन हुने यी बाली अहिले लोप हुँदैछन् । स्वास्थ्यका दृष्टिले पनि निकै फइदाजनक मानिने कोदो र मादुरो फलेको अहिले सायदै देख्न पाइन्छ ।
समयसँगै कृषि गर्ने तरिकामा आएको परिवर्तन, गाई, भैंसीलगायतका दूध उत्पादन हुने पशुको लोप र जिब्रोको स्वादका लागि खानाखाने बानीका कारण पनि यी बाली लोप हुँदै गएको स्थानीय किसानको भनाइ छ । “पछिल्लो समय गाँउघरमा भैँसीपालन घट्यो, ध्यू, मोही उत्पादन हुदैन त्यसैले यस्ता बाली पनि लोप हुँदै गए,” स्थानीय जगी साउदले भने । “कोदो, मादुरो र जहुँलगायतका अन्यबाट बन्ने परिकार गोरस (दुग्धजन्य पदार्थ) मा मात्रै बनाए मिठो हुन्छ अहिले गाँउमा गोरस धेरै कम छ,” उनले दोहो¥याए ।
जिल्लाको तत्लो स्वराड क्षेत्रमा पर्ने शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा अहिले काँहीकतै यी अन्नहरूको खेती भएको पाइन्छ । तर यो तुलनात्मक रूपमा निकै कम भइसकेको छ । यी अन्न बालीलाई व्यावसायिकतामा ढाल्न नसकेकाले पनि यीनिहरू लोप हुने अवस्थामा पुगेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । अब यी अन्न बालीलाई व्यावसायिक रूपमा उत्पादन गर्नतर्फ आफूहरू लागि पर्ने शिवनाथ गाउँपालिका–२ का अध्यक्ष हजारी साउदले भने ।
यी परम्परागत अन्नबाट पाइने पौष्टिक तत्वको बारेमा किसानलाई जानकारी नभएकाले पनि यो खेती लोप भएको कतिपयको बुझाइ छ । यी अन्नको खान–पानले शरीरमा विभिन्न प्रकारका पौष्टिक तत्वको कमी नहुने पोषणविज्ञहरूको भनाइ छ । “कोदो, जहुँ, मादुरोलगायतका अन्नबाट धेरै प्रकारका शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरू पाइन्छन्,” पोषणविज्ञ लालबहादुर महराले भने । यी अन्नबालीमा लगानी पनि कम लाग्ने भएकाले व्यावसायिक रूपमा यस्ता बालीको उत्पादन गर्नुपर्ने आवाज पछिल्लो समय उठ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्