दसैँको रहर : कर र कहर «

दसैँको रहर : कर र कहर

चाडबाड भनेको सांस्कृतिक, सामाजिक, पारिवारिक मर्यादामा नैतिक अनुशासन सिकाउने सुन्दर पुर्खाका सौगात हुन् ।

सतहत्तरै जिल्लाका मान्छे थुप्रिने स्थान राजधानीभित्र एउटा चहलपहलमा एकमुठी खुसी र धेरै त पिरलो छ । दसैँतिहारको घर फर्कने रनाहा चल्दै गर्दा यात्राको सास्ती र दसैँको दशा सम्झेर कैयौँलाई महिना दिन अघिदेखि पिरोल्छ । करिब २५ देखि ३० लाखजति यात्रुले काठमाडौँबाट बाहिरिएका खबर फेसबुकका भित्तामा टाँसिन्छन्, अनि सडक निर्माण र जाम गर्ने पनि यतिखेरैको चटारोको चुकचुकाइमा देशलाई सराप्छन् । सधैँजसो जामको परिधानमा जकडिने कलंकीदेखि थानकोटसम्मको पिरलोको एक मुरी चिन्तिन र चिन्ता । वर्षामा हिलाम्मे अब फेरि धुलाम्मे सहरको बाटोको कहर एकातिर राजधानी परिसरमै लगभग पोखिन्छ । अर्को, गाडीको सिट नपाइने पिरलो । जागिरको अन्तिम दिनको चार बजेसम्मको कामसँगै पाँच नबज्दैको टिकटभित्र पन्ध्रदिन अघिदेखि नै घरका हरियाली रूख, बिरुवा, डाँडाकाँडाको सपना देख्न थालिसकेका हुन्छन् । एकातर्पmको यातायात असुविधाको चिन्ता अर्कातिर चाडबाडको व्यवस्थापन कसलाई घरमा के लगिदिने ! सुविस्ता त छैन, पिरलै हुन्छ ।
दसैँ सबैको खुसीको चाड भएर पनि सबैलाई खुसी दिन नसक्ने चाड, हामीले नै बनाउँदै छौँ । त्यसमा पनि यसपालि एक केजी तरकारीमा पनि करको कहरले च्याप्प समातेको छ । मान्छेले मौका पाएका छन् । व्यापारमा व्यापारीले कर बढ्या छ हजुर— कपडामा कर, जुत्तामा कर, मसलामा कर, आलुमा कर, गाडीको टिकटको त्यो पानामा कर नलाग्ने कुरै भएन ः १० प्रतिशत बढेको छ । पोहोरको साल २० हजारले दसैँको व्यक्तिगत खर्च धान्नेले यस पटक सबै बहानामा दोब्बर तयारी गर्नै पर्यो । साथमा पेट्रोल, डिजेल, ग्याँसको भाउसम्म यही बेला अकासिनुपर्ने ? सार्वजनिक यातायातको संख्या कम मान्छे बढी छन् । यातायातका हरेक कर्मचारीलाई दसैँ आउँदा यात्रुलाई दशा आउँछ । कसैले एउटै सिटमा तीन जनाको टिकट काट्न भ्याउँछन् । सास्तीको काष्टिमा पनि केही धेरै वादविवाद गरे ‘तपाईं नजानुहोस्, पैसा फिर्ता लिनुहोस् न’ धम्की त कति सुन्नुपर्छ । नियमअनुसारका छुट सुविधाका कुरा छोडौँ, अब यात्रामा यसो टसक्क बसेर घरतिर पुग्ने मेलोमेसो मिले खुसी मान्नै पर्यो । पैसा सकेसम्म कसेर लिने बेलै हो यो । तब त यो दसामा दसैँ नै पिरलो बन्छ ।
यता ठगी गर्नेका पछाडि प्रहरी प्रशासन दगुर्छ । कतिपय अवस्थामा त प्रहरीलाई पनि यही समय कमाउने ठूलो मौका बनिदिन्छ । तब त रक्षक नै भक्षक बन्छन् । यातायातमा दादागिरी देखाएर चिट काट्ने प्रहरीका स्वभावले यात्रु समेत बेफ्वाँकमा दुखित बन्नु नपर्ला भन्न सक्दैनन् । कृत्रिम यात्रुका नाममा टिकट काट्नेसम्म गरेर अगाडिको सिटको बेग्लै भाडा उठाउने, विदेशबाट आउनेको लगेजमा मान्छेको जत्तिकै भाडा असुल्ने ज्यादतिमा यात्रु ठगिन्छन् । आफ्नै देशमा पनि ठगिने नेपालीत्वमा कहाँ भावना पग्लिन्छ र ! मान्छे बाध्यताले काठमाडौँमा कोचिएका हुन्छन् । अवसर, रहर, बाध्यता सबै गुजुमुज्ज यही छन् । घर त जानै पर्यो । बल्लबल्ल वर्ष दिनमा घरतिर भेटाघाटा होला भन्ने अभिलाषा हुन्छ । देशलाई अपर्याप्त यात्रुवाहक गाडिको असुविधामा जनतामा पिरलो खेप्दा खुसीसँग पीडा खिचडी बनिदिन्छ । हो, प्रहरी प्रशासन यतिबेला समाजका अनेकौँ कुकृत्यको पछाडि विविध उपायमा, जनचेतना गराउँदै, यात्रु सहायता कक्ष राखेर बसेको हुन्छ । तर पनि यात्रुको विवशता थाहा नभएरै पीडा हुन्छ । बाध्यतामा जानै परेकाले जानाजान ठगिन विवस बन्नु नपर्ला भन्नै सकिन्न । सत्यवादी सोचको विकास भएको भए अर्थात् चोर नै नहुने हो भने पुलिस किन चाहिन्थ्यो र !

बजारमा कृत्रिम अभाव सिर्जना गराएर ठग्ने दाउमा मानिस हात धोएर लागेका छन् । हो, चाडबाडमा किनमेल धेरै हुन्छ । यही मौकामा चौका हान्नेले सोझालाई ठग्ने प्रपञ्च रचिरहेका हुन्छन् ।

छुटको झुटमा लुटको जाल समेत बिछ्याउँछन् । बजारमा व्यापारको जथाभावीतन्त्र मच्चिँदा अस्तव्यस्त ठगाइ चल्छ । यसमा त स्वयम् पनि कमसेकम जानकार बन्नु आवश्यक हुन्छ । सबैतिर प्रहरीले हेरिरहन कति सम्भव होला र ! चोरी गर्नेहरू यही मौकामा चम्केका हुन्छन् । बेथितिको चाङमा दसैँलाई दशा बनाउनेको लाममा चाडबाडमा यस्ता कुकृत्य देखिनु साँच्चै पीडादायी विषय हुन् । एउटा सभ्य नागरिक र एउटा सभ्य व्यवस्थामा यस्ता अनैतिक प्रताडना हुनुहुन्थ्यो । हुन त एउटा पक्ष गरिबी यसको कारक बन्छ अर्को त देशको व्यवस्थापनले यी विषय अझ पेचिला बन्छन् ।
मूल्यवृद्धिको सिकार बनिरहेका सबै नेपाली सरकारी कार्यालयको तेह्रमहिने तलब बुझ्ने हैसियतका हुँदैनन् । निजी संघसंस्थामा मरीतरी दस–बाह्र हजार कमाउनेले घर पुगेर यसो केही सामल खर्च जोहो गर्नै चिटचिट पसिना आउँछ । हजार रुपैयाँ त पैसै भएन, कागजजस्तो भयो । महिना धान्नै धौधौ । देशको पीडालाई नियाल्दा यहाँ हामी करोडौँको सामान, दसैँको सामग्री, कच्चा पदार्थ, दैनिक उपभोग्य सामान छिमेकी मुलुकबाट भित्र्याउँछौँ । आफ्नो आत्मनिर्भरता नभएको तीतो विडम्बनामा हामी विवस छौँ । नेपालले चाडबाडमा स्वविवेकमा आफ्ना सामग्रीको उपभोग र खपत गर्ने गरी बजार व्यवस्थापनको रणनीति व्यवस्थापनमा जोड दिनु अबको आवश्यकता हो । उपभोक्ता मात्रै होइन यहाँ त सरकार नै कृत्रिम अभावको वास्तविकतालाई बुझ्न सक्दैन । मिसावटको जालोमा परेका, नक्कली सामानको प्रपञ्चमा फसेकाको विवरणै कहाँ यथार्थ निस्केला र ! उता स्थानीय सरकारलाई कर असुल्ने ध्याउन्न छ । लाजसरम केही छैन, काम केही गर्नु छैन । जनताले यसो केही गरिखाऊँ भन्दा प्रोत्साहन भन्दा बढी निरुत्साहित पार्ने गरी ढाड सेक्न चाहने लिप्सामा जनतालाई हैरानी छ कि छैन ? के घरघरमा सरकारले पीडाको महसुस गर्ला । यसर्थ यातायात ठगी, मिसावट, चोरी डकैती, लुटपाट, करको अस्तव्यस्तताको सिकारमा नेपाली जनताले पिरोलिने दसैँ बन्नु हुन्न । यो दसैँ दशा होइन खुसीको पल बन्नुपर्छ ।
चाडबाडमा मानिसहरूमा देखासिकीको ढोङ चलेको हुन्छ । अनावश्यक हैसियतभन्दा माथि गएर खर्च गर्ने, दुनियाँलाई देखाउन इज्जतको विषय जोड्ने परिबन्धमा पारिएको हुन्छ । यस्ता कुरीतिमा चाडबाडको महŒव र गरिमा अब मुछिनु हुन्न । रमाइलो गर्ने नाममा जथाभावी जुवातास, जाँडरक्सी खाएर झगडा, किचलो गर्ने असभ्यतामा अबको समाज सचेत बन्न सक्नुपर्छ । चाडबाड भनेको सांस्कृतिक, सामाजिक, पारिवारिक मर्यादामा नैतिक अनुशासन सिकाउने सुन्दर पुर्खाका सौगात हुन् । हामीले पछिल्लो समयमा गरिबका लागि दशा बनाउने होडको विकास गरिरहेको छौँ । फलतः मान्छे नचाहेरै धर्म परिवर्तन गर्दै सहजतातिर मोडिन विवस बन्छ । यो बाध्यतामा दसैँलाई ‘आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ बन्ने आडम्बरी देखासिकीलाई छोडेर सचेतना जागरण आवश्यक छ । दसैँलाई ऋण र बोझको रूपमा ग्रहण गरिरहँदा पीडाको त्यहाँ भाइचारा टुट्छ, खुसीभन्दा बढी पीडाबोध हुन्छ । दसैँतिहारलाई बोझिलो होइन, सभ्य, भव्य र सुन्दर पर्व बनाऔँ । वर्षदिनका पीर व्यथा भुलेर आफन्तको भेटघाट, घुमघाममा रमाइलो गर्नुपर्ने चाडले कटुता, शत्रुता तोडोस्, टुटेका नातालाई प्रगाढ बनाएर जोडोस् ।

प्रतिक्रिया दिनुहोस्