तापक्रमको विश्वव्यापी प्रतिवेदन तयार «

तापक्रमको विश्वव्यापी प्रतिवेदन तयार

काठमाडौं- विश्वव्यापी तापक्रम १.५ देखि २ डिग्री सेल्सियस वृद्धि हुँदा देखिने सम्भावित प्रभाव, जोखिम र त्यसलाई सम्बोधन गर्न सकिने उपायबारे विशेष प्रतिवेदन तयार भएको छ । वन तथा वातावरण मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार विश्वमा बढ्दै गइरहेको तापक्रम वृद्धि र समाधानको उपायको विषयमा प्रतिवेदन तयार भएको हो । दक्षिण कोरियाको सोङ्डो सहरमा यही अक्टोबर १ देखि ५ सम्म सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपीसीसी) को ४८औँ बैठकले सो प्रतिवेदन तयार गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. रामप्रसाद लम्सालको सहभागिता रहेको थियो ।
विश्वव्यापी तापक्रम वृद्धिबाट समुद्र सतहमा वृद्धि, ‘आर्कटिक’ क्षेत्रको हिमभण्डारमा क्षयीकरण, पृथ्वीको उच्च भागमा पर्ने प्रभाव, जैविक विविधतामा पर्ने प्रभावलगायत सम्भावित प्रभाव र जोखिमलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विज्ञको सहयोगमा उक्त प्रतिवेदन तयार गरिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियस वृद्धिसम्बन्धी साझा बुझाइ, जलवायु परिवर्तनको अनुमान, सम्भावित प्रभाव र सम्बद्ध जोखिमका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताएका छन् । “विश्वव्यापी तापक्रम वृद्धिलाई सम्बोधन हुने गरी उत्सर्जनका बाटा तथा दिगो विकासको लक्ष्य र गरिबी न्यूनीकरणको सन्दर्भमा विश्वव्यापी प्रयासको सुदृढीकरणको विषय पनि प्रतिवेदनमा उल्लेख छ,” उनले भने, “जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको सन् २०१५ मा सम्पन्न २१औँ पक्ष राष्ट्रको पेरिसमा भएको सम्मेलनले आइपीसीसीलाई विश्वव्यापी तापक्रम वृद्धि हुँदा कस्तो प्रभाव पर्दछ भन्ने विषयमा प्रतिवेदन तयार गर्न अनुरोध गरेको थियो, सोहीअनुरुप उक्त प्रतिवेदन तयार गरिएको हो । ढुंगानाका अनुसार उक्त प्रतिवेदनलाई अन्तिम रुप दिई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको सन् २०१८ डिसेम्बरमा पोल्याण्डको क्याटोविसमा आयोजना हुने २४औँ पक्ष राष्ट्रको सम्मेलनमा छलफलका लागि प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्