उपभोक्ता ठग्ने अस्पताललाई कारबाही गर्न पत्राचार

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महँगो शुल्क लिएर उपभोक्ता ठग्ने अस्पताललाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । विभागले स्वास्थ्योपचारका लागि आउने बिरामीबाट अतिरिक्त रकम लिएर ठगी गरेको भन्दै अस्पतालहरुलाई कारबाही गर्न महानगरीय प्रहरी परिसरलाई पत्राचार गरेको हो ।
काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल, ललितपुरको ग्यार्कोस्थित बी एन्ड बी हस्पिटल, बाँसबारीको नेसनल इन्टिच्यूट अफ न्युरोलोजिकल एन्ड एलिड साइन्स (न्यूरो हस्पिटल), थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल र बसुन्धराको इसान बाल हस्पिटलविरुद्ध ठगी मुद्दामा थप छानबिन गरी मुद्दा दायर गर्न प्रहरी परिसर काठमाडौंमा पत्राचार गरिएको विभागले जनाएको छ ।विभागका अनुसार बजार अनुगमनका क्रममा बिरामीबाट अतिरिक्त शुल्क लिएको पाइएपछि ती अस्पतालविरुद्ध थप अनुसन्धान गरी मुद्दा दायरलगायतका कारवाही प्रक्रिया चलाउन प्रहरीलाई पत्राचार गरिएको छ ।
विभागले गत मंसिर अन्तिम साता ती अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा दोषी देखिएपछि वयानलगायतका प्रक्रिया पूरा गरेर बाँकी अनुसन्धान र मुद्दा प्रक्रियाका लागि प्रहरीलाई पत्राचार गरिएको जनाएको छ ।
अनुगमनका क्रममा ग्रान्डी हस्पिटलले ‘डाक्टर एन्ड नर्सिङ केयर’ र ‘नर्सिङ केयर’ चार्जको नाममा अतिरिक्त शीर्षक थपेर बिरामीबाट थप शुल्क असुलेको भेटिएको थियो । बी एन्ड बी हस्पिटलले बेड सर्भिस चार्जका नाममा विरामीबाट अतिरिक्त शूल्क असुलेको देखिएको थियो । त्यस्तै, न्युरो र नर्भिकले पनि बिरामीबाट अतिरिक्त सर्भिस चार्ज लिएको पाइएको थियो ।