विराटनगरमा पहिलोपटक प्रादेशिक पुँजीबजार प्रदर्शनी «

विराटनगरमा पहिलोपटक प्रादेशिक पुँजीबजार प्रदर्शनी

विराटनगर– प्रदेश–१ को अस्थायी राजधानी विराटनगरमा विश्व लगानीकर्ता सप्ताह–२०१८ को उपलक्ष्यमा पहिलो प्रादेशिक पुँजीबजार प्रदर्शनी भएको छ ।
नेपाल धितोपत्र बोर्डद्वारा धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवाहरू एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ विराटनगरका पहिलोपटक दुई दिने प्रदर्शनी भएको हो । प्रदर्शनीमा १०७ वटा धितोपत्र कारोबार गर्ने संस्था एवम् बैंकका स्टलहरू छन् । प्रदर्शनीमा लगानीकर्ताहरूसहित लगानकर्ताहरूका लागि जानकारी दिने, धितोपत्र बजार नियमन निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी, क्रेडिट रेटिङ संस्था, सामूहिक लगानी कोष, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी, डिम्याट खाता खोल्ने निक्षेप सदस्यसम्बन्धी सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । मुख्यमन्त्री राईले ऋणपत्रमार्फत जनताको प्रत्यक्ष सहयोगबाट विकास निर्माणका कार्य गर्न सकिने बताए । ‘समृद्ध नेपालको आर्थिक आधार–गतिशील, विश्वसनीय तथा पुँजी बजार’ भन्ने नाराका साथ आयोजित प्रदर्शनीमा मुख्यमन्त्री राईले महानगरपालिका, नगरपालिका र गाउँपालिकाले ऋणपत्र जारी गरी जनतालाई प्रत्यक्ष लाभमा सहभागी गराई पूँजीको विकास गरी ठूला तथा मझौला विकास निर्माण कार्य गर्नुपर्नेमा जोड दिए । “अबको सबैको ध्यान भनेको मुलुकको आर्थिक क्रान्ति नै हो,” उनले भने, “छरिएर रहेको पुँजीलाई एकीकृत गरी देशको विकासमा लगानी गर्नु आवश्यक छ ।” मुख्यमन्त्री राईले तीन तहका सरकारको साझा लक्ष्य जनताको आर्थिक समृद्ध भएको बताउँदै संवैधानिक व्यवस्थाअनुसार तीन तहका सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्नेमा जोड दिए । राईले पुँजी निर्माणबाट मुलुक आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्दै पुँजी बजारबाट मुलुकको विकासले गति लिने विचार व्यक्त गरे ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले गरिबी, पछौटेपनबाट जनतालाई मुक्त गर्न प्रदेश सरकारले कार्य गरिरहेको बताउँदै जलविद्युत र उद्योग स्थानामा सरकारले निजी क्षेत्रसँग साझेदारी गर्ने बताए । उनले संविधान निर्माण, लोकतन्त्र स्थापनामा विराटनगरको ठूलो भूमिका रहेकाले स्थायी राजधानी घोषणामा नगरवासीलाई निराशा नबनाउने विश्वास दिलाए । मन्त्री आङवोले मुलुकको कूल निर्यातमा प्रदेश नम्बर १ को ४० प्रतिशत योगदान रहेको चर्चा गर्दै प्रदेशलाई धनी र समृद्ध बनाउन जनताबीच एकता आवश्यक रहेको चर्चा गरे । “प्रदेश–१ का लागि समृद्धिको दूरी धेरै टाढा छैन,” उनले थपे, “तर, हामी सबैले दत्तचित्त भएर काम भने गर्नुपर्छ ।”
प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सल्लाहकार प्रमोद झाको अध्यक्षतामा भएको प्रदर्शनी उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेन्जका कार्यकारी अध्यक्ष चन्द्रसिंह साउत, नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा र मोरङका प्रजिअ रमेशकुमार केसीले पुँजी बजार प्रदर्शनीबाट पूर्वको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्