निर्वाचन परिणाम तत्काल सार्वजनिक गर्न बाम गठबन्धनको दबाब «

निर्वाचन परिणाम तत्काल सार्वजनिक गर्न बाम गठबन्धनको दबाब

बाम गठबन्धनले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम तत्काल सार्वजनिक गर्न माग गरेको छ । सोमबार गठबन्धनका नेताहरुले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर गएको मंसिर १० र २१ गते भएको निर्वाचनको मतपरिणाम तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । आयोगले राष्ट्रिय सभा गठन नभई प्रतिनिधिसभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल्ने बताएपछि गठबन्धनका नेता आयोग पुगेका थिए । वाम गठबन्धनका एमाले नेता भीम रावल र सुवास नेम्वाङ, माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन आयोग पुगेका थिए ।
गठबन्धनका नेता र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका पदाधिकारीबीच डेढ घन्टाभन्दा बढी छलफल भएको थियो । नेताहरुले राष्ट्रिय सभा चुनावका लागि लामो समय राखेर सत्ता हस्तान्तरण फागुनपछि मात्र गर्ने खेल भइरहेको भन्दै आयोगको ध्यानाकर्षण गराएका थिए । छलफलपछि एमाले नेता रावलले आफूहरुले प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक गर्न आग्रह गरेको बताए । “हामीले मत परिणाम सार्वजनिक गर्न आग्रह गर्यौं । सरकार गठन प्रक्रियामा अवरोध हुने कुरा संविधानले पनि परिकल्पना नगरेको जानकारी आयोग पदाधीकारीलाई गरायौं,” उनले भने ।
रावलका अनुसार आयोग पदाधिकारीहरुले प्रक्रिया पुर्याएर मतपरिणाम सार्वजनिक गर्ने र राष्ट्रिय सभाको चुनाव पनि चाँडै हुने बताएका थिए । आयोगले संघीय संसद्मा सबै दलले ३३ प्रतिशत महिला पठाउनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण राष्ट्रिय सभा गठन भएपछि मात्रै प्रतिनिधिसभा समानुपातिकतर्फको सिट निर्धारण हुने बताइरहेका बेला वाम गठबन्धनले भने सरकार गठनमा राष्ट्रिय सभाको कुनै भूमिका नहुने भएकाले प्रतिनिधिको अन्तिम परिणाम सार्वजनिक गर्नुपर्ने बताइरहेका छन् ।
यसैबीच सोमबार नै एमाले र माओवादीका भातृ संगठनले पनि प्रतिनिधिसभाको मतपरिणाम चाँडो भन्दा चाँडो सार्वजनिक गर्न माग राख्दै प्रमुख निर्वाचन आयुक्त डा. आयोधिप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्