नयाँ मात्र होइन सफा नोट प्रयोग गरौं «

नयाँ मात्र होइन सफा नोट प्रयोग गरौं

रूपन्देही-नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले दसैंमा नयाँ मात्र नभई सफा नोट प्रयोग गर्न र नोटको जतन गर्न आग्रह गरेको छ । राष्ट्र बैंक सिद्धार्थनगर शाखासहित देसैभरका राष्ट्रबैंकका शाखाले दसैंका लागि आइतबारबाट नयाँ नोट सटही गर्दै छन् ।
राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक अशोककुमार पौडेलले दसैंमा नयाँ नोट मात्र नभई सफा र सुकिला नोटको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । दसैंमा सफा नोट पनि प्रचलनमा ल्याउन उपयुक्त हुने उनले बताए ।
दसैंमा आफूभन्दा ठूला मान्यजनको हातबाट टीका लगाएपछि दक्षिणास्वरूप नयाँ नोट दिइने प्रचलन छ । त्यसैले अरू समयमा भन्दा दसैंको समयमा नयाँ नोटको माग अत्यधिक हुने गरेको छ ।
विशेषगरी चाडपर्वको समयमा नयाँ नोटमा टीका, अबिर छर्कने जस्ता काम बढी हुने गरेको पाइन्छ । टीका, अबिर छर्केर दक्षिण दिँदा नोट बिग्रने तथा नयाँ नोटमा अबिर अक्षता छर्कने, जल छ्याप्ने जस्ता कामले नोट छिटो बिग्रने, च्यातिने सम्भावना बढी हुने भएकाले भरसक दक्षिण दिँदा नोटलाई खाममा राखेर दिने, सामूहिक रूपमा दक्षिणा प्रदान गर्दा राम्रो हुने पौडेलको भनाइ छ । खामभित्र नोटको जतन राम्ररी हुने र पानीले भिज्ने, अबिर अक्षता लाग्ने डर हुँदैन । चिल्लो लागेको हातले नोट समात्दा पनि छिट्टै बिग्रने डर हुन्छ । नयाँ नोटमा आफ्नो नाम र अक्षर लेख्ने काम कहिल्यै गर्न नहुने निर्देशक पौडेलको भनाइ छ ।
निर्देशक पौडेलले आवश्यकताभन्दा बढी नँया नोट सटही नगर्नसमेत आग्रह गरेका छन् ।

२ अर्ब नयाँ नोट सटही सुविधा
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले दसैं पर्वलाई लक्षित गर्दै आइतबारबाट नयाँ नोट सटही सुरू गर्दैछ । सर्वसाधारणका लागि टोकन लिएर लाइनमा बसेपछि सहजै नयाँ नोट पाइने व्यवस्था कार्यालयले मिलाएको छ ।
सजिलोसँग नयाँ नोट सटही गर्न सकियो भनेर बिहान १० बजेदेखि पौने ४ बजेसम्म कार्यालय समयभित्र नयाँ नोट सटहीको व्यवस्था मिलाइएको निर्देशक पौडेलले बताए । सर्वसाधारणको सजिलोका लागि २ वटा काउन्टरमा नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । वृद्धवृद्धा र अपांगता भएकाहरूका लागि अलग्गै र बैंक तथा वित्तीय संस्थाका लागि पनि अलग्गै काउन्टरको व्यवस्था मिलाइएको छ । प्रतिब्यक्ति १ सय दरका १ बन्डल तथा ५०, २०, १० र ५ का दुई–दुई बण्डल गरी २७ हजार रूपैयाँ सटही गर्न सकिने व्यवस्था मिलाइएको छ ।
सिद्धार्थनगर शाखाले रूपन्देहीका अन्य बैंक तथा वित्तीय संस्थालाई आइतबारबाट सटहीका लागि नयाँ नोट प्रदान गर्ने र त्यहाँबाट पनि सटही गर्न सकिने जनाएको छ । फूलपातीको अघिल्लो दिनसम्म नयाँ नोट सटही गर्न सकिने बताइएको छ ।
रूपन्देही जिल्लामा नेपाल राष्ट्र बैंक तथा अन्य जिल्ला नोट कोष सुविधा भएका राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक तथा कृषि बिकास बैंकबाट नयाँ नोट साट्न सकिन्छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले यो वर्ष वर्ष दसैंमा १ अर्ब र राष्ट्र बैंकअन्तर्गतका अन्य शाखामा १ अर्ब गरी २ अर्ब रूपैयाँका नयाँ नोट (रूपन्देहीमा मात्रै) सटही हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्