खर्च भएन विकास बजेट «

खर्च भएन विकास बजेट

तीन महिना बित्नै लाग्दा जम्मा ९ अर्ब खर्च

चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको सरकारले आर्थिक वर्ष सुरु भएको तीन महिना बित्नलाग्दा जम्मा ९ अर्ब रुपैयाँ पुँजीगत खर्च गरेको छ । तीनै तहको निर्वाचन सम्पन्न गरेर चालू आर्थिक वर्षलाई समृद्धिको आधार वर्ष बनाउने घोषणा गरेको सरकारले विकास निर्माणका काममा भने सुधार गर्न नसक्दा विकास खर्च भने कमजोर देखिएको हो ।
चालू आर्थिक वर्ष (०७५-०७६) को पहिलो तीन महिना पूरा हुन १० दिनमात्र बाँकी रहँदा २.८९ प्रतिशत पुँजीगत खर्च भएको छ । यो अवधिमा चालू खर्च भने १५.८५ प्रतिशत पुगेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार तीन महिना सकिन १० दिनमात्रै बाँकी रहदा १ खर्ब ३४ अर्ब रुपैयाँ चालू खर्च भएको छ । यो अवधिमा दसै पेश्कीस्वरुप एक महिनाको अतिरिक्त तलब कर्मचारीलाई भुत्तानी गर्नु पर्ने भएकोले पनि चालू खर्च बढी देखिएको अर्थ मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष सुरु भएको पहिलो चार महिना टेन्डर तथा ठेक्का प्रक्रिया अगाडि बढ्ने समय भएकोले विकास खर्च सोचेअनुसार नभएको सरकारी अधिकारीहरू बताउँछन् । “विकास खर्चको प्रवृति पुरानै शैलीमा देखिएको छ, खर्च गर्ने प्रवृत्तिका साथै गुणस्तरीय खर्चमा पनि ध्यान दिनुपर्ने बेला भएकोले मन्त्रालय त्यसतर्फ लागेको छ,” अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख निर्मलहरि अधिकारीले भने । महालेखाको तथ्यांकअनुसार यस अवधिमा संघीय सरकारले १७.२७ प्रतिशत राजस्व असुल गरेको छ । चालू आर्थिक वर्षमा ९ खर्ब ४५ अर्ब राजस्व असुलीको लक्ष्य लिएको सरकारले असोज २० सम्म १ खर्ब ६३ अर्ब राजस्व असुली गरेको हो सरकारले राजस्व प्रशासनमा देखिएका समस्याको समाधान गर्ने र कर प्रशासनलाई सुदृढ तथा बलियो बनाउने नीति लिएको छ । चालू आर्थिक वर्षकालागि बजेट तथा सरकारले लिएको नीति तथा कार्ययोजनाका आधारमा बजेट खर्च प्रणालीलाई सुधार गर्नुपर्ने भन्दैे अर्थमन्त्री डा. युवराज खतिवडाले सचिव तथा अन्य विभागीय कर्मचारीलाई निर्देशन दिँदै आएका छन् ।
गत साता बसेको चालू आर्थिक वर्षको दुई महिनाको समीक्षा बैठकमा पनि अर्थमन्त्री खतिवडाले पुँजीगत खर्च बढाउन अन्तरमन्त्रालय समन्वय बढाउन सचिवहरूलाई आग्रह गरेका थिए । साथै बजेट कार्यान्वयनमा सबै निकायले थप सक्रियता बढाउनुपर्ने, कार्यसम्पादनमा अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउनुपर्ने, तहगत सरकारबीचको सहकार्य र अन्तरक्रियालाई थप सुदृढ गर्दै कार्य सम्पादन गर्नुपर्नेमा मन्त्री खतिवडाको जोड थियो ।
अन्य मन्त्रालयबाट उठान भइ आएका विषयमा सहयोग र सहजीकरणमा ध्यान दिने तथा तहगत सरकारबीचको सहकार्य र अन्तक्र्रियालाई थप सुदृढ बनाई कार्य सम्पादनमा ध्यान दिनुपर्ने मन्त्री खतिवडाको भनाइ छ ।
“अर्थमन्त्रीप्रति आम जनताको अपेक्षा र भरोसा अलि बढी नै छ भने उहाँ आफैंले ल्याएको बजेट कार्यान्यवयन पनि त्यतिकै चुनौतीपूर्ण छ, त्यसले पनि मन्त्रीज्यू सक्रिय भएर लाग्नु भएको छ,” अर्थ मन्त्रालयका एक सहसचिवले भने । मन्त्री खतिवडाले सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर बजेटले राखेका उद्देश्य पूरा हुनेगरी काम गर्न र त्यसतर्फ सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्यायोजनाअनुरुप अघि बढन निर्देशनसमेत दिइसकेका छन् । चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसहित ९ खर्ब ४५ अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्