अढाई वर्षपछि निगमको जहाज लुक्लामा «

अढाई वर्षपछि निगमको जहाज लुक्लामा

लुक्ला उडानमा चार एयरलाइन्सबीच तीब्र प्रतिस्प्रर्धा

नेपाल वायुसेवा निगमले अढाई वर्षपछि सोलुखुम्बुको लुक्ला उडान पुनः सुरु गरेको छ । जहाज अभावका कारण रोकिएको लुक्ला उडान निगमले चिनियाँ जहाज वाई–१२ ई मार्फत सुरु गरेको हो । निगमले यो जहाजमार्फत शनिवार ३ वटा उडान गरेको छ । निगमले सुरु गरेसँगै लुक्ला सेक्टरमा उडान गर्ने एयरलाइन्स कम्पनीको संख्या चार पुगेको छ ।
हाल निजी एयरलाइन्स कम्पनीहरू तारा, समिट र सीताले उडान गर्दै आएका छन् । शनिबारमात्रै तारा एयरले १५, सीता एयरले ११ वटा र समिट एयरले ९ वटा उडान भरेका थिए । निगमको लुक्ला प्रवेशसँगै यस क्षेत्रको उडानमा प्रतिस्पर्धा सुरु भएको छ । “अव निगमले नियमित उडान गर्नेगरी सुरु गरेका छौं,” निगम प्रवक्ता अशोक सिग्देलले भने । शनिवार मौसम खराब हुँदा ३ वटा मात्रै उडान गरेका प्रवक्ता सिग्देलले जानकारी दिए ।
निगमले वाई १२ ई जहाज १८ सिट क्षमताको भएता पनि काठमाडौं–लुक्ला ‘लोड पेनाल्टी’ का कारण १२ यात्रुमात्रै बोक्न सक्दछ भने फर्कदाँ ७ जनामात्रै ल्याउने प्रवक्ता सिग्दलेले जानकारी दिए ।
निगमले विगतमा ट्वीनटर जहाजमार्फत उडान नियमित गर्ने गरेको थियो । सोही सेड्युअलमा उडान गरेको निगमले शनिवार भने २ उडान चार्टर गरेको थियो । हाल काठमाडौं–लुक्लाको हवाई भाडा ५ हजार १ सय रुपैयाँ रहेको छ । जुन नेपाली यात्रुका लागि लागू हुने गर्दछ । विदेशीका लागि भने एयरलाइन्स कम्पनीहरूले १ सय ८० अमेरिकी डलर भाडा लिने गर्दछन् ।
यति एयरलाइन्सका प्रवक्ता भीम राई लुक्ला उडान मौसमका कारण धेरै गर्न समस्या हुने बताउँछन् । शनिवार १५ वटामात्रै उडान लुक्ला सेक्टरमा गरेको मौसमले अवारोध नगर्दा २० भन्दा बढी उडान ताराले गर्ने गरेको राई बताउँछन् ।
लुक्लामा अधिकांश उडान बिहान हुने गरेको छ । बिहान १२ बजेसम्म मात्रै मौसमले साथ दिने गरेको भए पनि लुक्लाबाट काठमाडौं विमानस्थलमा बेलुका पौने ६ बजेसम्म पनि उडान गर्न एयरलाइन्सहरूले पाउने व्यवस्था छ । “बिहान ६ बजे देखिनै लुक्ला उडान सुरु हुने गरेको छ,” राईले भने । पर्यटकीय सिजनमा दैनिक १ सय १५ वटा सम्म काठमाडौं–लुक्ला उडान÷अवतरण हुने गरेको छ ।
वाई–१२ ई मार्फत डोल्पाको सिमकोटमा उडान सुरु गर्ने तयारी समेत निगमले गरेको छ । मंगलबारदेखि निगमले वाई १२ ई जहाजमार्फत डोल्पा उडान गर्न लागेको पनि प्रवक्ता सिंग्देलले जानकारी दिए । यस्तै, निगमले भैरहवा र दाङमा उडान सुरु गर्ने समेत तयारी गरेको छ ।
चीनबाट अनुदान र सहुलियत ऋणमा खरिद गरिएको ४ थान जहाजमार्फत देशका दुई दर्जनभन्दा बढी दुर्गमका गन्तव्यमा उडान सुरु गर्ने तयारी निगमले गरेको छ । निगमको थन्किएको ट्वीनटर जहाजले मर्मत पछि उडान सुरु गरेकोले दुर्गममा थप गन्तव्यहरू विस्तार गर्ने तयारी निगमले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्