यसरी हुन्छ बिरामीको अधिकार हनन «

यसरी हुन्छ बिरामीको अधिकार हनन

बिरामी र आफन्तले कुरै बुझ्दैनन् भनेर सूचना नदिने सोचाइबाट डाक्टर मुक्त हुनुपर्छ । पूरै सूचना पाउने बिरामीको अधिकार नै हो ।

नेपालमा अस्पतालहरूले बिरामीको अवस्थाबारे बिरामी तथा आफन्तलाई प्रायः समयमा सही सूचना दिँदैनन् । त्यस्तै, चिकित्सकले बिरामीलाई गरेको व्यवहार तथा उपचार आफन्तलाई हेर्न दिँदैनन् । यी दुई कुरा अस्पतालको आधारभूत नियमका रूपमा बिरामी र कुरुवाले पालना गर्नुपर्छ । वास्तवमा अस्पताल र स्वास्थ्यकर्मीले गर्ने यो व्यवहार कानुनविपरीत हो ।
नेपालमा अस्पतालमा हुने गरेका आमघटनालाई उदाहरणका रूपमा हेरौं । बिरामीको ज्यान तत्काल जोखिममा रहेको महसुस गरेर अस्पतालको आकस्मिक कक्षमा लगिन्छ । डाक्टरको टोली जम्मा भएपछि बिरामीका आफन्तलाई ‘आवश्यक परे बोलाउँछौं, अहिले बाहिरै बस्नुुस्’ भनेर बाहिर पठाइन्छ । डाक्टरको तत्कालको काम सकिएपछि जिम्मेवार डाक्टरको टोली हिंडिहाल्छ । नर्स र उपलब्ध जुनियर डाक्टरबाट बिरामीका आफन्तले सन्तुष्ट सूचना र जानकारी पाउन सक्दैनन् ।
ओपीडीमा जँचाउन गएको बिरामीले व्यथा भन्न सुरु गर्दा नगर्दै डाक्टरले ल्याब टेस्टका लागि कागजमा टिक लगाउन थाल्छन् । अनि ‘मैले लेखिदिएको जाँच गरेर रिपोर्ट देखाउन आउनू’ भन्छन् । तपाईंको लक्षणअनुसार तपाईंलाई यी–यीमध्ये कुनै रोग लागेको हुन सक्छ वा अरू लागेको पनि हुन सक्छ । तपाईंको रगत, दिसा, पिसाब, खकारको जाँच, एक्स रे वा भिडियो एक्स रे आदि के हो, त्यो गरेर आउनुस् भन्दैनन् । रिपोर्ट देखाएपछि बिरामीसँग कुरा नगरी टिकटमा औषधिको नाम लेख्छन् र ‘पाँच दिन सेवन गरेपछि फलो अपमा आउनू’ भन्छन् । अहिले फलानो रोगको आशंकामा औषधि चलाइएको छ, तथापि यकिन नै गर्न अझै कुर्नुपर्छ भन्दैनन् ।
भर्ना गरिएको बिरामीलाई कुनै खतरा रोग लागेको आशंका भएमा डाक्टरले बिरामीलाई झूटो जानकारी दिने गर्छन् । कुनै जोखिमपूर्ण औषधि चलाउनुपर्ने वा अपरेसन गर्नुपर्नेछ भने बिरामीलाई सोध्दै सोध्दैनन् । आफन्तलाई मात्र सोध्ने गर्छन्, कहिलेकाहीं त्यो पनि गर्दैनन् । त्यस्तै, बिरामी कुराकानी गर्न सक्ने भए पनि डाक्टरले ऊसँग खासै संवाद गर्दैनन् । टोलीका सिनियर डाक्टर, जुनियर डाक्टर र नर्सबीच आफ्नै भाषामा वातचित हुन्छ । डाक्टरको राउन्डिङको बेला ‘सबै जना वार्डबाहिर जानुस्’ भनिन्छ । रोगको पहिचान के–कति भएको छ, के–कस्तो औषधि दिइएको छ, स्वास्थ्य अवस्था कस्तो छ भन्ने जानकारी बिरामी र आफन्तलाई हुँदैन । नर्सलाई केही सोध्यो भने डाक्टरलाई नै सोध्नू भन्छन् ।
शिशु र बालबालिकालाई क्यानुला लगाउनुपर्दा वार्डबाट उठाएर अभिभावकले नदेख्ने र नसुन्ने ठाउँमा लैजान्छन् । बच्चाको नशा भेट्न कठिन हुने हुँदा अनुभवी र सिपालु नर्सले प्रयास गर्नुपर्ने हो । त्यस्तै, शिशु र बालबालिकालाई अझ बढी पीडा हुने हुँदा नर्सहरू बढी सावधान र संवदेनशील हुनुपर्ने हो । त्यसो भएको देखिँदैन । अभिभावकलाई अलग राखेर घण्टौंसम्म बच्चालाई पीडा दिएर दसौं ठाउँमा सुई घोचेर पनि क्यानुला लगाउन नसकेको उदाहरण अस्पतालमा देखिन्छ ।
दुई–तीन ठाउँमा प्रयास गर्दा पनि सफल हुन नसकेपछि वा पाँच–सात मिनेटमा पनि सफल हुन नसकेपछि तत्कालका लागि बच्चालाई अभिभावककै काखमा छोडिदिएर पछि प्रयास गर्नु उपयुक्त हुन्छ । पटक–पटक सुई खोचेर छालाभित्र सुई दायाँबायाँ हल्लाउँदा कति पीडा होला ? कमसेकम अभिभावक साथमै भएको भए पीडा महसुस कम हुन्थ्यो । हातमा सूई खोज्दा खुट्टा हलचल गर्न नमिल्ने गरी अठ्याउने गरिन्छ । सुईमा असर नपर्ने गरी अन्य अंग चल्न दिंदा पीडा स्वतः कम हुन्छ । बच्चालाई भुलाएर नघोचेका बेला नरुवाई राख्न सकियो भने धेरै पीडा कम हुन्छ ।
अपरेसन थिएटरमा बिरामी कुरुवालाई हेर्न दिइँदैन । यस पङ्क्तिकारले भोगेको एउटा घटना छ । पेटको अपरेसन गरेको बिरामीको रक्तश्राव भइरहेको थियो । बिरामीको आधा शरीर मात्र लठ्याइएको थियो । बिरामीले संयोगवश आफ्नो हत्केला हेर्दा रगताम्मे देखे । केही समयपछि नीलो पोसाक लगाएकी कर्मचारी छिरिन् । बिरामीले हात हल्लाएर इसारा गरे । कर्मचारीले हतपत्त बेडको तन्ना फेरिन्, भुइँ पुछिन् । एकछिनमा डाक्टर र नर्सहरू ओइरिए र बिरामीलाई रगत चढाइयो ।
बिरामी वा बिरामी कुरुवाकै रूपमा गएर अस्पताल, डाक्टर र नर्स इन्चार्जबाट जानकारी पाउन असम्भव प्रायः हुन्छ । पत्रकार वा अन्य स्वरूपमा गएर सोध्दा यी समस्याको जवाफ पाइन्छ । डाक्टरका प्रतिनिधिमूलक जवाफ यस्ता हुन्छन् । हामीले बिरामीको अवस्था यस्तो छ भनेर ठ्याक्कै भन्न सक्ने स्थिति हुँदैन, त्यसैले फस्ट मेन प्रायः तर्किने गर्छाैं, कहिलेकाहीं सन्चो भएर डिस्चार्ज सूचीमा राखेको बिरामी भोलि सबेरै मृत भएको नर्सबाट खबर आउँछ । बिरामीका आफन्तलाई एउटा जानकारी दिने तर भोलि अर्को घटना भयो भने अस्पतालमा तनाव उत्पन्न हुन सक्छ ।
त्यस्तै, डाक्टरका अन्य आम जवाफ यस्ता छन् । ओपीडीमा बिरामीको चाप धेरै हुन्छ, कुरा सुन्न र हामीले लेखेको उनीहरूलाई बुझाउन भ्याइँदैन । प्रायः रोगको तुरुन्तै सही पहिचान हुँदैन, फलानो रोगको आशंकामा औषधि चलाएको छु भन्दा भोलि अर्कै रोग रहेछ भने बिरामी रिसाउँछ, रोग ठ्याक्कै यकिन भएको छैन भन्दा पनि यो डाक्टरले जानेन भनेर अर्को डाक्टरकहाँ जान्छ । औषधि व्यवस्था विभागले के अनुगमन गर्छ खोइ ? रोग र औषधि सही नै हुँदा पनि औषधिले काम गर्दैन ।
त्यसैगरी, नर्सहरूको प्रतिनिधिमूलक जवाफ यस्ता हुन्छन् । वार्डमा यति धेरै (४०÷५० जना) बिरामी हुन्छन् । दुई जना नर्सले औषधि दिने, क्यानुला लगाउने, अनुगमन गर्ने काम भ्याउनै गाह्रो छ । बच्चाबच्चीको नशा नै भेटिँदैन, अभिभावकको अगाडि क्यानुला लगायो भने पीडा दियो भनेर रिसाउँछन् । १० मिनेट प्रयास गर्दा सकिएन भनेर छोड्ने हो भने फेरि लगाउनै भ्याइँदैन । डाक्टरलाई समस्या सुनायो भने त्यति पनि समाधान गर्न नसक्ने भनेर गाली गर्नुहुन्छ ।
अस्पतालकर्मीको जवाफ सुन्दा उनीहरूले पर्याप्त समय बिरामीका लागि नदिएको, जनशक्ति अपुग भएको र सूचना सञ्चार गर्दा असमझदारी हुन सक्ने डर रहेको देखिन्छ । वास्तवमा दरबन्दी नै कम वा दरबन्दी पर्याप्त भएर पदपूर्ति कम भएको हो वा पदपूर्ति पर्याप्त भएर पनि कामचोर प्रवृत्ति हो ? ओपीडीमा प्रायः सबै डाक्टर एक÷दुई घण्टा अगाडि नै बिरामी जाँचेर हिंडिसकेको देखिन्छ । एकातिर बिरामीको चाप भएकाले कुरा सुन्न भ्याइन्न भन्ने अर्कातर्फ ड्युटी आवर पहिले नै बिरामी जाँचेर सक्ने ?
नर्स तथा अन्य कर्मचारी कम पारिश्रमिकमा राख्ने र उनीहरूमाथि सही सुपरिवेक्षण नहुने गरेको देखिन्छ । सिनियर डाक्टर र प्रोफेसरहरूले विद्यार्थी डाक्टरको भरमा वार्ड र ओपीडीहरू छोड्ने, विद्यार्थी डाक्टर कानुनतः जवाफदेही नहुने हुँदा अपेक्षित जिम्मेवार नहुने, स्थायी नर्स र अन्य कर्मचारीले विद्यार्थी डाक्टरलाई नटेर्ने गर्दा समग्रमा बिरामीको सेवामा नकारात्मक प्रभाव पर्ने गरेको देखिन्छ ।
डाक्टरले जाँच–पड्ताल र उपचार गरेको आफन्तले सिसाबाहिरबाट भए पनि हेर्न पाउने व्यवस्था गर्नुपर्छ । यदि भीडभाड हुने र उपचारमा बाधा पुग्ने हो भने बिरामी कुरुवाका लागि आचारसंहिता बनाएर त्यो पालना गर्ने कुरुवालाई हेर्न पाउने व्यवस्था गर्नुपर्छ । बिरामी र आफन्तले कुरै बुझ्दैनन् भनेर सूचना नदिने सोचाइबाट डाक्टर मुक्त हुनुपर्छ । पूरै सूचना पाउने बिरामीको अधिकार नै हो । नेपालमा जस्तो बच्चाबच्चीलाई दिइने पीडा कुनै सभ्य मुलुकका अस्पतालमा देखिँदैन । बोलेर विरोध गर्न नसक्ने अबोध बच्चाबच्चीको अधिकार संरक्षण गर्नैपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्