‘ग्लोबल टेक लिडर’को होडमा हुवावे «

‘ग्लोबल टेक लिडर’को होडमा हुवावे

सेन्जेन (चीन) – हुवावे विश्वमै वर्षौंदेखि सुनिएको नाम हो । खासगरी टेलिकम्युनिकेसनका सामग्री उत्पादन र बिक्रीमा विश्वमै यसको हिस्सा ओजिलो छ । नेपालमा पनि थ्रीजी र फोरजी तथा ल्यान्डल्याइनसमेतका टेलिकम उपकरणहरू हुवावेकै चलिरहेका छन् । टेलिकम उपकरणको व्यापार व्यवसायबाट विश्व नम्बर एक कम्पनीको रुपमा स्थापित भइसकेको कम्पनी हुवावे अब भने उपभोक्ताको मन मस्तिष्कमा राज गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको छ ।
नेपालमा पहिले पहिले हुवावेलाई हुवाई, हुवाए, कसैले हुवाइ र कसैले ह्वावे भनेर उच्चारण गरिन्थ्यो । पछिल्लो चार वर्षयता मोबाइल बजारमा आएको हुवावेलाई अब भने हुवावे वा ह्वावे भनेर उपभोक्ताले चीनन थालेका छन् । जुन यसको खास नामको उच्चारण पनि हो र विभिन्न सिरिजका स्मार्टफोन हुवावेका हुन् भन्ने पनि नागरिकले बुझिसकेका छन् । चिनियाँ नाम हुवावेको अर्थ चिनियाँ भाषामा ‘चीन सफलता’ हो । चीनमा त नम्बर एक छँदैछ । चीनको सफलतामात्र हैन, आफूलाई विश्वकै प्रविधिको अग्रनी कम्पनीको रुपमा स्थापित गर्न कम्पनीले विश्वभर अनुसन्धान, विकास र उपभोक्ताको रुचीका क्षेत्रमा लगानी गरिरहेको छ । यतिमात्र हैन, उपभोक्ताको बीचमा एक नम्बर बन्ने लक्ष्यसहित निकै प्रतिस्पर्धी मानिएको स्मार्टफोन बजारमा हुवावे आक्रामक रुपमा प्रस्तुत भएको छ ।
चीनको नम्बर एक प्रविधि कम्पनी मात्र नभई बहुराष्ट्रिय कम्पनीको रुपमा काम गरिरहेको हुवावे विश्वकै नम्बर वान प्रविधि कम्पनी बन्ने दौडमा रहेको सन्देश हुवावेले विश्वका सरोकारवालालाई सेन्जेनमा रहेको कम्पनीको गतिविधि देखाएर पनि गरिरहेको छ । चीनको सेन्जेन भ्रमणमा रहेका आधा दर्जन नेपाली पत्रकारसँग हुवावेका एक जिम्मेवार अधिकारीले भने, “हामी चिनियाँ कम्पनी होइनौं ।” उनको अर्थ थियो, अब हामीलाई चिनियाँ कम्पनी होइन, उपभोक्ता लक्षित उत्पादन उत्पादन गर्ने ग्लोबल टेक ब्रान्ड भन्नुहोला । हुवावे के हो ? यसका उत्पादन के के छन् र यसको भावी योजना के के छन् ? भन्ने विषयमा स्पष्ट पार्दै यसो भन्ने व्यक्ति हुन् हुवावे कन्जुमर बिजनेस ग्रुपका ग्लोबल प्रडक्ट मार्केटिङ प्रमुख क्लीमेन्ट वाङ । चीनको सेन्जेनस्थित हुवावेको हेडक्वार्टर, अनुसन्धान तथा विकास र उत्पादन गर्ने कारखाना भ्रमणका लागि नेपालबाट गएको ६ सदस्यीय पत्रकार टोलीका अगाडि हुवावेबारे व्याख्याले पनि अब हुवावे विश्वमा प्रविधिको लिडर बन्ने बाटोमा अगाडि बढिरहेकोे छ ।

तीन दशकमा लोभलाग्दो फड्को
आजभन्दा ३९ वर्षअघि चीनको सेन्जेन क्षेत्र एउटा सानो माझीहरूको गाउँमात्र थिए । चीन सरकारको आधुनिक सहर विकास बनाउने योजनाअनुरुप विकास गरिएको सेन्जेन अहिले युरोप, अमेरिकन स्ट्यान्डर्डको आधुनिक सहरको रुपमा विकास भइसकेको छ । यतिमात्र हैन, हुवावेले विश्वका एक दर्जन सहरको झल्को दिने छुट्टै सहरको निर्माण सकिसकेको छ । सेन्जेन सहरको इतिहाससँग विकास भएका प्रविधि कम्पनीहरूको समेत जन्मथलोको रुपमा रहेको सेन्जेनलाई प्रविधि क्षेत्रको सिलिकन भ्यालीसमेत भनिन्छ । किनकी चीनका अधिकांश प्रविधि कम्पनी यही सहरमा छन् ।
दर्जनौं प्रविधि कम्पनीमध्ये विगत तीन दशकमा निकै फड्को मार्न सफल कम्पनी हो हुवावे । हुवावेले तीन दशक ३५ सय डलरको एउटा सानो कम्पनीको रुपमा जन्म लिएको थियो । आज यो कम्पनी विश्वकै नम्बर वान टेक कम्पनी बन्ने लक्ष्य लिएर विश्वभर आफ्ना उत्पादन र आइडियाहरू पु-याइरहेको छ । विश्वका १७० मुलुकमा आफ्नो उत्पादन पु¥याइरहेको हुवावेका कर्मचारी मात्र एक लाख ८० हजार छन् । आजको दिनमा कन्जुमर विजनेसतर्फ ३६.४ बिनियलन डलर, क्यारियर बिजनेसतर्फ ४५.७ बिलियन र इन्टरप्राइज बिजनेतसर्फ ८.४ बिलियनको आर्थिक आकार छ हुवावेको । विश्वका एकतिहाइ जनता हुवावेकै प्लेटफर्मको सहायताले जोडिएका छन् । जुन बढ्ने क्रममा रहेको ग्लोवल प्रडक्ट मार्केटिङ प्रमुख वाङको भनाइ छ । विश्वका ८० प्रतिशत टेलिकम्युनिकेसन कम्पनीसँगको सहकार्य रहेको हुवावेले विश्वभर सहकार्यको हात अझै अगाडि बढाइरहेको छ ।

मोबाइलमा केन्द्रित द्रुत गतिको सफलता
हुवावेले मोबाइल बिजनेस सुरु गरेको सन् २०१२ मा हो । तर, यसको २०१४ देखि मात्र विश्व बजारमा स्मार्टफोनको बजारलाई तिब्रता दिएको थियो । यद्यपि यो छोटो समयमा पनि हुवावेले ग्याजेट बिजनेसमा हात पारेको सफलता पनि लोभलाग्दो छ । आज पनि मोबाइलमा बजार हिस्सामा एक नम्बरमा कोरियन कम्पनी सामसुङ छ भने दोस्रोमा अमेरिकन कम्पनी एप्पल । तर, दर्जनौं अन्य ब्राण्डका बाबजुद हुवावे तेस्रो कम्पनीको रुपमा निरन्तर बजार बढाउँदै लैजाँदै गरेको देखिन्छ । सन् २०१३ मा सामसङको वृद्धिदर सबैभन्दा बढी ३१.३० हुँदा बजारमा उपस्थिति जनाएको हुवावे त्यसयता निरन्तर वृद्धिकै दरमा छ । जबकी सामसङ र एप्पलको बजार भने वर्षेनी घट्दो क्रममा छ । सन् २०१५ मा ७.४० प्रतिशतले बढेको हुवावेको मोबाइल बजार सन् २०१६ मा ९.५० र २०१७ मा १०.४० प्रतिशतले बढेको थियो । यो वर्षको पहिलो चौमासमा त हुवावे १५.८० को वृद्धिदरसँगै विश्वकै दोस्रो मोबाइल बिक्रेता बनेको इन्टरनेशनल डाटा कर्पोरेसन (आइडिसी) को तथ्यांकले देखाउँछ । यद्यपी वर्षभरीको नतिजा भने हेर्न बाँकी नै छ ।
हुवावेले पछिल्लो दुई वर्षमा विश्व ग्याजेट बजारमा प्राप्त गरेको सफलताको कारक हुन् यसका पछिल्ला स्मार्टफोन र ट्याव सिरिजहरू । विशेषगरी हाल बजारमा उपभोक्तासमक्ष पुगेको मेट रिरिज, पी सिरिज, नोभा र वाइ सिरिजले हुवावेको बजार हिस्सा ह्वातै माथि उठाएको हो । नोभा टु, नोभा थ्री र नोभा थ्री आइ यसका पछिल्ला उत्पादन हुन् । वाइ सिरिजलाई युवा लक्षित सिरिजका रुपमा हुवावेले विश्व बजारमा ल्याएको छ । आफ्नै एआइ चिपसेट, क्यामरा लेन्सको लागि विश्वको पुरानो लेइकासँगको सहकार्य, उपभोक्ताको चाहना अनुसारको कलर कम्बिनेसन, टिकाउ ब्याट्रि र बिक्रीपछिको सेवा केन्द्रीत भएका कारण हुवावेको ग्याजेट बजारले विश्वमै महत्वपूर्ण हिस्सा हासिल गरेको हुवावेका नेपाल निर्देशक जोयस जुले बताए ।
जुका अनुसार हुवोको पी र मेट सिरिजको बिक्रीबाट समग्र कम्पनीको आम्दानी नै एक वर्षमा ४५ प्रतिशतले बढेको छ । उत्कृष्ट क्यामरा, विश्वकै पहिलो एआइ प्रोसेसर, विश्वकै पहिलो फोटोग्राफि पावर्ड एआइ, विश्वमै सबैभन्दा टिकाउ ब्याट्रि, विश्वकै पहिलो सर्टिफाइड सेफ सुपरचार्ज, विश्वकै पहिलो ब्यांक गार्ड सुरक्षा प्रणाली र नेतृत्वदायी फाइभ जी प्रविधिको बलमा हुवावे विश्व प्रविधिमा अग्रनि बाटोमा रहेको जुको भनाइ छ । नेपालमा दशैं तिहारको अवधिमा हुवावेका वाइ ९ २०१९, वाई ५ लाइट, नोभा २ लाइन, नयाँ विभिन्न रंगमा नोभा ३ र ३ आई सिरिजका रेड र पर्ल ह्वाइटमा उत्पादनहरू ल्याउन लागेकोको उनले बताए । “ट्याव सिरिजमा पनि हामी विश्वकै दोस्रो स्थानमा छौं, ल्यापटप सिरिज र स्मार्टवाच सिरिजको विस्तार तिब्र गतिमा भइरहेको छ,” कारोबारसँगको कुराकानीमा उनले भने, “नयाँ उत्पादन पनि उपभोक्ताको रुचीलाई मध्यनजर गरेर ल्याएका छौं, उपभोक्ताको मन जित्नेमा विश्वस्त छौं ।”

एआईमा आधारित विश्वको कल्पना
हुवावेको हेडक्वार्टर पस्नेबित्तिकै हुवावेको नयाँ स्लोगन देख्न पाइन्छ । चिनियाँ भाषामा लेखिएको हुवावेको मूल नाराको अंग्रेजी उल्थामा भनिएको छ, ‘ब्रिइङ डिजिटल टु एभ्री पर्सन, होम एण्ड अर्गनाइजेसन फर द फुल्ली कनेक्टेड, इन्टिलिजेन्ट वल्र्ड ।’ कम्पनीको नाराअनुसार विश्वका नागरिक, घर र संस्थालाई जोड्न इन्टिलिजेन्ट टेक्नोलोजीमा आधारित सामग्रीको अनुसन्धान र उत्पादनसमेत सँगसँगै गरिरहेको छ । जस अनुसार हुवावेले स्मार्ट सिटिलाई आवश्यक पर्ने उपकरणहरू, तिब्र गतिको रेलमा पनि चल्ने टेलिकम प्रविधि, मोबाइलमा फाइभजी प्रविधि र सबै प्रविधिलाई एआइमा आधारित बनाउने योजना हुवावेको छ । सरकारी अधिकारीहरूले सजिलै सहजको निगरानी गर्न सक्ने स्मार्ट सहरमा जोडिने स्मार्ट डिभाइसदेखि उपभोक्ताले भुक्तानी गर्ने डिजिटल माध्यमसमेत हुवावेका आगामी उत्पादन हुन् । तिब्र गतिको इन्टरनेट चल्ने सामग्री, आवश्यक पर्ने क्लाउड स्टोरेज र त्यसमा आधारित भएर उपभोक्ता, संस्था र सरकारी निकायले एआइमा आधारित विभिन्न उपकरणको प्रयोगबाट जनजीवन सहज र सरल बनाउने उद्देश्य हुवावेको छ ।

प्रतिक्रिया दिनुहोस्