Logo

नक्सांकन विवादले हुलाकी राजमार्ग निर्माण ठप्प

नेपालगन्ज-नेपालगन्जदेखि राप्तीपारि नरैनापुर गाउँपालिका कट्कुइँयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको नक्सांकन विवादका कारण सडक निर्माणकार्य ४ महिनादेखि रोकिएको छ ।
नेपालगन्ज–बघौडा हुलाकी राजमार्गअन्तर्गत नरैनापुर गाउँपालिका–५ मटेहियास्थित सडक खण्डमा सर्भे र नापी भए पनि सो विपरीत सडक (हाल चालु) निर्माण गर्ने प्रयास भएपछि विवाद बढन गई निर्माणमा अवरोध आएको हो ।
नेपाल सरकारकै लगानीमा हुलाकी सडक आयोजनाले ४४ किलोमिटर सडक २ खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको थियोे । निर्माणकार्य ०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा रहेको छ । आयोजना, निर्माण कम्पनी र स्थानीय जग्गाधनीबीच नक्सांकनकै विवादले वैशाखदेखि निर्माणकार्य ठप्प छ । सो क्षेत्रका स्थानीय बासिन्दाले सडक निर्माणमा देखिएको विवादलाई तत्काल समाधान गरेर सडक निर्माण सुचारु गर्न माग गरेका छन् ।
गंगापुरका स्थानीय राम दुलारे यादवका अनुसार विभिन्न बहानामा पटकपटक सडक निर्माण रोकिन जाँदा स्थानीयलाई नेपालगन्ज आवागमनमा निकै समस्या भएको बताए । उनले सबैभन्दा बढी सिकिस्त बिरामीलाई समस्या भएको बताए ।
एकातिर ठाउँठाउँमा निर्माण कम्पनीले नै सडक खनेर अलपत्र पारेकोले आवगमन प्रभावित भएको तथा अर्कोतिर कतै नक्सांकन विवाद कतै जग्गामा सडक खनिएको भनी विवाद उठेकाले झन कामलाई ढिलो पार्दै गएको नरैनापुरका स्थानीय मकबुल मुकेरीले बताए । उनले यसरी नै काम हुने हो भने सडक पूरा हुन निर्धारित समयभन्दा पनि दोब्बर बढी समय लाग्ने बताए ।
सो सडकमा देखिएको नक्सांकन विवादलाई समाधान गराउन स्थानीयले बाँके क्षेत्र न १ (क) का प्रदेश सभा सदस्य कृष्णा केसीसँग आग्रह गरेका छन् । उनीहरूले छिटै विवाद समाधान नगरिए आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । यस्तै सोही विवादलाई समाधान गर्न लगाएर सडक निर्माण सुचारु गराउन स्थानीयको एक टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई भेटेर छिटो विवाद समाधान गर्न दबाब दिएका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले हुलाकी राजमार्गको निर्माण निर्धारित समयमै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकिएको जनाउँदै पूरा नगरिए कारबाही गरिने बताएका छन् ।
सो विवादलाई मिलाउन जनसरोकार लगायतका विषयमा देखिएका विवाद समाधानमा क्रियाशील संवाद समूह बाँकेले पनि प्रयास थालेको जनाएको छ । स्थानीय जग्गाधनी, सम्बद्ध सरोकारवालासँग संवादमार्फत विवाद सहजीकरणको प्रयास सो समुहले सुरु गरेको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईंले बताए । उनले सडक नक्सांकनको विवाद वहुपक्षीय र सरकारसँग जोडिएको कानुनी र प्राविधिक विषय भएकाले छलफलका साथै सोही अनुसारको पहल पनि गरिनु पर्ने बताए ।
सो सडकको निर्माण रोकिएपछि सहज आवतजावतमा समस्या परेको छ भने बघौडा क्षेत्रका हजारौं जनता पीडित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्