विमानस्थल बन्दले आर्थिक क्षति «

विमानस्थल बन्दले आर्थिक क्षति

ताप्लेजुङ-तीन महिनादेखि बन्द सुकेटार विमानस्थलमा नियमित उडानको टुङ्गो अझै लागेको छैन । असारदेखि बन्द काठमाडौं–सुकेटार उडानको टुङ्गो नहुँदा सेवा उपभोग गर्नबाट बञ्चित भएका छन् । व्यावसायिक रूपमा जिल्लावासी मर्कामा परेका छन् । पाथीभराको दर्शन गर्ने, दशैमा आवतजावत गर्ने तथा कञ्चनजंघाको भ्रमणका लागि पर्यटक आवगमनको समेत सिजन भए पनि उडान टुङ्गो नहुँदा जिल्लावासीले क्षति बेहोर्नुपरेको छ ।
मेवाखोला हिल रिसोर्ट सञ्चालक सुरेश लिम्बूले भने, “समय बचत हुने भएकाले प्रायः उडेर (जहाजमा) आउने चाहाना हुन्छ । तर उडान टुङ्गो नहुँदा सबैभन्दा बढी क्षति होटल व्यवसायीलाई पर्छ ।” जहाज नियमित उडान भएको हुँदो हो त सदरमुकामका होटल असोज–कात्र्तिकमा भरिभराउ हुने सञ्चालक लिम्बूको अनुभव छ । पाथीभरामा दर्शन र कञ्चनजंघामा घुमफिर (टे«किङ) गर्न स्वदेशी तथा विदेशीको रोजाई भए पनि हवाई सेवा बन्द हुँदा समग्र क्षति जिल्लाबासीले बेहोर्नुपरेको पर्यटन व्यवसायी हर्कराज गुरुङले बताए । गुरुङले भने, “हवाई सेवा भरपर्दो भए पर्यटक आवागमन बढ्थ्यो । चियापसलदेखि होटल र भरियाले पनि काम पाउँथे ।
यातायात सेवा नहुँदा कसरी पर्यटन प्रबद्र्धन कसरी हुन्छ ?” प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईसहितको टोलीले पनि मंगलबार नेपाल वायुसेवा निगम कार्यालयमा पुगेर हवाई सेवा तत्काल सञ्चालन गर्न माग गरेका छन् । निगमका सञ्चालक समिति अध्यक्ष मदन खरेलले भएका तीनवटा जहाज बिग्रिएकाले मर्मतपछि तुरुन्त उडान तालिका सार्वजनिक गरी उडान गर्ने जानकारी दिए । अपरेटिङ इन्चार्ज रवीन्द्र शेरचनले सम्भवतः यो हप्ताभित्र जहाज मर्मत हुने र अर्को हप्ताभित्रमा उडान गर्ने जानकारी दिए । सांसद भट्टराईले भने, “धावनमार्ग कालोपत्रे छ । यात्रु उपलब्ध छन् । तर, नियमित उडान गर्न नहुँदा पर्यटन प्रवद्र्धनमा समस्या हुन्छ ।”
गत चैतदेखि उडान स्थगित गरेको समिट एयरले पनि गएको सोमबारदेखि काठमाडौं–ताप्लेजुङ उडान गर्ने भनेतापनि उडान स्थगित गरेको थियो । समिटका जिल्ला प्रतिनिधि प्रकाश लामाले भने, “मौसम प्रतिकूल बन्यो । अब हप्तामा एक दिन मंगलबार उडान गर्छौ ।” काठमाडौं–ताप्लेजुङ दुईतर्फी यात्रु उपलब्ध भए पनि प्रभावकारी सेवा प्रदान गर्न नसकेको प्रतिनिधिल लामाले स्विकार गरे । उडानका लागि बुकिङ खुला भएको उनले बताए । शेर्पाका अनुसार ७ हजार ६ सय एकतर्फी भाडादर तोकिएको छ । काठमाडौंबाट १६ जना र ताप्लेजुङबाट १८ जना यात्रु उडान गर्न सक्ने बताइएको छ । तीन वर्षअघि धावनमार्ग कालोपत्रे गरिए पनि सुकेटारमा नियमित उडान हुन सकेको छैन । सुकेटारमा समिटसहित नेपाल वायु सेवा निगम र गोमा एयरले उडान भरेका थिए ।

प्रतिक्रिया दिनुहोस्